क्षयरोग विरुद्धका दुई नयाँ खोपको सफल परीक्षण: फोक्सो बाहिरको टीबी रोक्न ‘भीपीएम-१००२’ प्रभावकारी


काठमाडौं – क्षयरोग (टीबी) विरुद्ध हाल प्रयोगमा रहेको बीसीजी (बीसीजी) खोपले साना बालबालिकालाई जोगाए पनि वयस्क र किशोर किशोरीमा फोक्सोको टीबी रोक्न खासै भूमिका खेल्न सकेको छैन। यसै बीच, भारतमा गरिएको एउटा ठूलो स्तरको ‘फेज-३’ क्लिनिकल ट्रायलले क्षयरोग विरुद्धका दुई नयाँ खोप, ‘भीपीएम १००२’ र ‘इमुभ्याक’, सुरक्षित रहेको र यसले फोक्सो बाहिर हुने क्षयरोग (एक्स्ट्रापल्मोनरी टीबी) रोक्न महत्वपूर्ण भूमिका खेल्ने देखाएको छ।

ब्रिटिस मेडिकल जर्नल (बीएमजे) मा प्रकाशित यो अध्ययनलाई 👉 यहाँ क्लिक गरेर पढ्न सकिन्छ। बीएमजे जर्नलमा प्रकाशित प्रिभेन्टिबी (PreVenTB) ट्रायलको नतिजा अनुसार, यी खोपले फोक्सोको टीबी (पल्मोनरी टीबी) रोक्न उल्लेख्य सफलता नपाए पनि निश्चित उमेर समूह र फोक्सो बाहिर हुने टीबीका विरुद्ध भने आशाजनक नतिजा देखाएका छन।

अध्ययनको मुख्य नतिजा

१२,७१७ स्वस्थ व्यक्तिहरूमा गरिएको यो परीक्षणमा निम्न तथ्यहरू फेला परेका छन ।

  • भीपीएम१००२ को प्रभावकारिता: यो खोपले फोक्सो बाहिर हुने टीबी (जस्तै: ग्रन्थी, हड्डी वा मस्तिष्कको टीबी) रोक्न ‘५०.४ प्रतिशत’ प्रभावकारिता देखाएको छ।
  • बालबालिकामा विशेष प्रभाव: ६ देखि १४ वर्ष मुनिका बालबालिका मा भीपीएम१००२ खोप ‘६४.६ प्रतिशत’ प्रभावकारी देखियो। यो समूहमा यसले फोक्सोको टीबी रोक्न पनि मद्दत गरेको पाइएको छ।
  • सुरक्षा पक्ष: दुवै खोप पूर्ण रूपमा सुरक्षित पाइएका छन। परीक्षणका क्रममा देखिएका सामान्य समस्याहरू सुई लगाएको ठाउँमा सामान्य रियाक्सन मात्र थिए, जसलाई सहभागीहरूले सजिलै सहन सकेका थिए।
  • पोषणको भूमिका: अध्ययनले शरीरको तौल (बीएमआई) सन्तुलित भएका व्यक्तिहरूमा खोपले राम्रो काम गर्ने देखाएको छ, जसले टीबी नियन्त्रणमा पोषणको महत्वलाई पुनः पुष्टि गर्दछ।

कसरी गरियो परीक्षण?

यो अध्ययन भारतका ६ वटा राज्यका १८ स्थानमा सञ्चालन गरिएको थियो। सहभागीहरूलाई तीन समूहमा बाँडिएको थियो ।  यस अन्तर्गत भीपीएम १००२ खोप पाउने समूह,  इमुभ्याक खोप पाउने समूह र  प्लेसिबो (खोप नभई सामान्य झोल मात्र) पाउने समूह थिए ।  सहभागीहरूलाई ३८ महिना सम्म निरन्तर निगरानीमा राखिएको थियो।

विज्ञहरूको राय र आगामी बाटो

अध्ययनले देखाए अनुसार, हालको बीसीजी खोपको पूरकको रूपमा यी नयाँ खोपहरू प्रयोग गर्न सकिन्छ। विशेष गरी ५ वर्षभन्दा माथिका बालबालिका र किशोर किशोरीमा ‘बुस्टर डोज’को रूपमा यी खोप दिँदा टीबी निवारण लक्ष्यमा ठूलो सहयोग पुग्ने देखिन्छ।

अध्ययनकर्ताहरूका अनुसार, यदि यी खोपलाई उचित पोषण सँगै प्रयोग गर्ने हो भने यसले फोक्सो र फोक्सो बाहिर दुवै प्रकारका टीबी विरुद्ध अझ राम्रो नतिजा दिन सक्छ। विश्वभर सन २०२३ मा मात्रै करिब १ करोड ८ लाख मानिसमा टीबी संक्रमण देखिएको सन्दर्भमा यो अध्ययनलाई निकै महत्वका साथ हेरिएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!