रजोनिवृत्तिपछि मोटोपन घटाउन ‘हर्मोन थेरापी’ र ‘टर्जपैटाइड’ को मिश्रण प्रभावकारी: ३५ % बढी तौल घट्ने नयाँ अध्ययनको खुलासा
काठमाडौँ – रजोनिवृत्ति (मेनोपज) पछि बढ्ने मोटोपन र त्यसले निम्त्याउने स्वास्थ्य समस्यासँग जुधिरहेका महिलाहरूका लागि एउटा नयाँ आशाको किरण देखिएको छ। अमेरिकाको प्रतिष्ठित ‘मायो क्लिनिक’ नेतृत्वमा गरिएको एक अध्ययनले मोटोपन विरुद्धको औषधि ‘टर्जपैटाइड’ सँगै ‘मेनोपज हर्मोन थेरापी’ लिँदा तौल घटाउने प्रक्रिया ३५ प्रतिशतले थप प्रभावकारी हुने देखाएको छ।
‘द ल्यान्सेट अब्स्टेट्रिक्स, गाइनोकोलोजी एन्ड विमिन्स हेल्थ’ मा यो अध्ययन प्रकाशित भएको हो, जसलाई 👉 यहाँ क्लिक गरेर पढ्न सकिन्छ। यस अध्ययनले मेनोपज पछि महिलाहरूको मेटाबोलिक स्वास्थ्य सुधार्न नयाँ दिशा प्रदान गरेको छ।
मेनोपज र मोटोपनको सम्बन्ध
रजोनिवृत्तिको समयमा महिलाको शरीरमा एस्ट्रोजेन हर्मोनको स्तर घट्छ, जसले गर्दा उमेर सँगै बढ्ने तौलको गतिलाई अझ तीव्र बनाउँछ। यसरी बढ्ने मोटोपनले हृदय रोग, टाइप २ मधुमेह र अन्य गम्भीर स्वास्थ्य समस्याहरूको जोखिम बढाउँछ। हर्मोनको कमीका कारण हुने यी शारीरिक परिवर्तनहरू तौल बाहेक पनि मुटुको स्वास्थ्यका लागि हानिकारक मानिन्छन।
अध्ययनकी मुख्य लेखिका डा. रेजिना कास्टानेडा भन्छिन, ‘यस अध्ययनले मेनोपज पछिका महिलाहरूमा मुटु र मेटाबोलिक जोखिम व्यवस्थापन गर्न थप प्रभावकारी र व्यक्तिगत उपचार विधि विकास गर्न महत्त्वपूर्ण अन्तर्दृष्टि प्रदान गरेको छ।’
अध्ययनको प्रक्रिया र नतिजा
अनुसन्धान टोलीले कम्तीमा १२ महिना सम्म ‘टर्जपैटाइड’ प्रयोग गरिरहेका १२० जना महिलाहरूको तथ्याङ्क विश्लेषण गरेको थियो। अध्ययनमा टर्जपैटाइड मात्र लिने र टर्जपैटाइड सँगै हर्मोन थेरापी पनि लिने महिलाहरूको तुलना गरिएको थियो।
मुख्य नतिजाहरू
- तौलमा उल्लेखनीय कमी: हर्मोन थेरापी र टर्जपैटाइड दुवै प्रयोग गर्ने महिलाहरूले टर्जपैटाइड मात्र प्रयोग गर्नेहरूको तुलनामा औसत ३५ प्रतिशत बढी तौल घटाउन सफल भए।
- अंकमा हेर्दा: हर्मोन थेरापी लिने समूहले आफ्नो शरीरको कुल तौलको औसत १९.२ प्रतिशत घटाएका थिए भने अर्को समूहले १४ प्रतिशत मात्र घटाएका थिए ।
- वैज्ञानिक कारण: प्रयोगशालाका प्रारम्भिक तथ्याङ्कहरूले एस्ट्रोजेन हर्मोनले दिमागमा भोक कम गर्ने ‘जीएलपी-१’ हर्मोनको प्रभावलाई थप बलियो बनाउने संकेत गरेका छन ।
जीवनस्तरमा सकारात्मक प्रभाव
मेनोपजका बेला करिब ७५ प्रतिशत महिलाहरूले ‘हट फ्ल्यासेस’ (अचानक गर्मी हुने) र राति पसिना आउने जस्ता समस्या भोग्छन। हर्मोन थेरापी यस्ता लक्षण कम गर्ने सबै भन्दा प्रभावकारी उपचार मानिन्छ।
मायो क्लिनिककी इन्डोक्राइनोलोजिस्ट डा. मारिया डेनियल हर्टाडो एन्ड्रान्डेका अनुसार, हर्मोन थेरापीले मेनोपजका लक्षणहरूमा राहत दिँदा महिलाहरूको निद्रा र जीवन स्तरमा सुधार आउँछ। यसले उनीहरूलाई स्वस्थ खानपान र नियमित व्यायाममा टिकिरहन मानसिक र शारीरिक रूपमा सजिलो बनाउन सक्छ।
भविष्यको बाटो
यो एक ‘अब्जर्भेसनल’ अध्ययन भएकाले वैज्ञानिकहरूले अहिले नै हर्मोन थेरापीले नै थप तौल घटाएको हो भनेर ठोकुवा भने गरेका छैनन। यद्यपि, यो नतिजा चिकित्सकीय दृष्टिकोणले निकै महत्वपूर्ण छ।
अध्ययन टोलीले अब यसलाई प्रमाणित गर्न ‘र्यान्डमाइज्ड क्लिनिकल ट्रायल’ गर्ने तयारी गरिरहेको छ। यदि आगामी परीक्षणहरूमा पनि यो पुष्टि भएमा, मेनोपजका कारण स्वास्थ्य जोखिममा रहेका लाखौँ महिलाहरूका लागि यो एउटा प्रमाणित र प्रभावकारी उपचार पद्धति बन्नेछ।

प्रतिक्रिया दिनुहोस