कृषि विषादीको ‘मिश्रण’ र क्यान्सरबीच सिधै सम्बन्ध, कलेजोको डिएनए प्रणालीमै असर


काठमाडौँ – वैज्ञानिकहरूले एउटा ऐतिहासिक अध्ययन मार्फत कृषि विषादीको मिश्रण र क्यान्सर रोग बीचको सिधै सम्बन्ध फेला पारेका छन। ‘नेचर हेल्थ’ जर्नलमा प्रकाशित पछिल्लो अनुसन्धानले वातावरणीय विषादीको सम्पर्कले मानिसको कलेजोका कोषिकाहरू को आन्तरिक प्रणालीमै परिवर्तन ल्याई क्यान्सर गराउने तथ्य पुष्टि गरेको हो।

आधुनिक प्रविधिको प्रयोग गरी गरिएको यो ‘नेचर हेल्थ’मा प्रकाशित ।अध्ययन लाई👉 यहाँ क्लिक गरेर पढ्न सकिन्छ। अध्ययनले व्यावसायिक खेती हुने क्षेत्र र क्यान्सरका रोगीहरूको संख्या बीच भौगोलिक र वैज्ञानिक सम्बन्ध स्थापित गर्दै विश्वभरको जनस्वास्थ्य नीतिमा गम्भीर प्रश्न उठाएको छ।

यो अनुसन्धान प्रतिवेदन अनुसार, वातावरणीय रूपमा फैलने विषादीले मानव कोषिकाको आन्तरिक प्रणाली (कोर रेगुलेटरी सर्किट्री) लाई नै तहस नहस पार्ने देखिएको हो।

दशकौँ देखि वैज्ञानिकहरूले विषादी र क्यान्सर बीचको सम्बन्ध खोज्ने प्रयास गरे पनि ठोस आधार भेटिएको थिएन। तर, आधुनिक प्रविधि (स्पेशियल एक्स्पोजोमिक्स) को प्रयोग गरिएको यो पछिल्लो अध्ययनले विषादीको प्रयोग हुने क्षेत्र र क्यान्सरका रोगीहरूको संख्या बीच भौगोलिक रूपमा समेत स्पष्ट तालमेल देखाएको छ।

अध्ययनको मुख्य निष्कर्ष: मिश्रण बढी घातक

अध्ययनका अनुसार कुनै एउटा मात्र विषादीले तुरुन्तै क्यान्सर नदेखाउन सक्छ, तर धेरै प्रकारका विषादीहरू (पेस्टिसाइड मिक्स्चरस) जब वातावरणमा मिसिन्छन, तिनीहरू निकै शक्तिशाली र घातक बन्छन। पेरुको भूगोललाई आधार बनाएर गरिएको यस अध्ययनमा ३१ प्रकारका प्रमुख विषादीहरूको प्रभाव विश्लेषण गरिएको थियो।

  • कोशिकाको पहिचान बदलिने: अनुसन्धानकर्ताहरूले कलेजोको तन्तु को परीक्षण गर्दा विषादीको सम्पर्कमा आएका कोषिकाहरूमा एक प्रकारको विशिष्ट ‘हस्ताक्षर’ (ट्रान्सक्रिप्टोमिक सिग्नेचर) फेला पारेका छन्। यसले कोषिकाको डिएनएको संरचना मात्र होइन, त्यसको पहिचान नै बदलिदिने र क्यान्सरको रूप लिने देखिएको छ ।
  • जोखिमयुक्त : पहाडी र ढल्केका भू-भागहरूमा विषादीको प्रयोग गर्दा पानी र हावाको बहावका कारण तल्लो तटीय क्षेत्रसम्म यसको प्रभाव ३० देखि ५० किलोमिटरसम्म फैलने अध्ययनले देखाएको छ।
  • जलवायु परिवर्तनको असर: ‘निन्यो’ जस्ता मौसमी परिवर्तनका कारण हुने भारी वर्षा वा सुक्खायामले विषादीको प्रसारलाई झन तीव्र पार्ने र मानिसमा जोखिम बढाउने वैज्ञानिकहरूको चेतावनी छ।

परम्परागत ल्याब परीक्षणलाई चुनौती

यस अघि मुसा वा अन्य जीवमा गरिने प्रयोगशाला परीक्षणहरूले विषादीलाई व्यक्तिगत रूपमा मात्र हेर्थे। तर यो अध्ययनले वास्तविक संसारमा मानिसहरू कसरी विभिन्न विषादीको मिश्रणको बीचमा बाँचिरहेका छन भन्ने कुरालाई उजागर गरेको छ।

अध्ययन टोलीका प्रमुख वैज्ञानिक ‘स्टेफन बर्तानी का अनुसार, ‘यो अध्ययनले क्यान्सर केवल वंशाणुगत वा जीवनशैलीका कारण मात्र होइन, हामीले प्रयोग गर्ने विषादीको वातावरणीय प्रभावका कारण पनि भइरहेको छ भन्ने बलियो प्रमाण पेस गरेको छ।’

नेपालका लागि सङ्केत र सतर्कता

यद्यपि यो अध्ययन दक्षिण अमेरिकी देश पेरुमा गरिएको हो, तर नेपाल जस्तो कृषिप्रधान देशका लागि यो उत्तिकै महत्त्वपूर्ण छ। नेपालका व्यावसायिक तरकारी खेती हुने क्षेत्र (काभ्रे, धादिङ, चितवन र तराईका जिल्लाहरू) मा विषादीको अनियन्त्रित प्रयोग भइरहेको सन्दर्भमा यो रिपोर्टले जनस्वास्थ्यको ठूलो जोखिम औँल्याएको छ।

विशेषगरी कलेजो, फोक्सो, छाला र ग्यास्ट्रोइंटेस्टाइनल (पाचन प्रणाली) का क्यान्सरहरू विषादीको जोखिमसँग प्रत्यक्ष जोडिएको पाइएको छ।

अबको बाटो: नीतिगत परिवर्तनको आवश्यकता

वैज्ञानिकहरूले अबको स्वास्थ्य नीतिमा ‘सोसियो-इकोलोजिकल इक्विटी’ (सामाजिक-पारिस्थितिक न्याय) लाई जोडनु पर्ने सुझाव दिएका छन। यसको अर्थ, कृषि उत्पादन बढाउन प्रयोग गरिने विषादीले सीमान्तकृत र ग्रामीण भेगका समुदायको स्वास्थ्यमा कस्तो असर गरिरहेको छ भन्ने कुरालाई सरकारले गम्भीरता पूर्वक लिनुपर्ने हुन्छ।

यो अध्ययनले कृषि विषादीको नियमनलाई केवल कृषि मन्त्रालयको मात्र नभई स्वास्थ्य मन्त्रालयको पनि प्राथमिक एजेन्डा बनाउनु पर्ने तथ्य स्पष्ट पारेको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!