रगत परीक्षणबाट ५ वर्ष अघि नै फोक्सोको क्यान्सरको जोखिम थाहा हुने, एआई आधारित अध्ययनको नयाँ खुलासा
काठमाडौँ – फोक्सोमा क्यान्सरको ट्युमर पलाउनु भन्दा पाँच वर्ष अगाडि नै रगत परीक्षणबाट त्यसको जोखिम पत्ता लगाउन सकिने एउटा नयाँ प्रविधिको विकास भएको छ। प्रतिष्ठित वैज्ञानिक जर्नल ‘सेल’ मा प्रकाशित एक अन्तर्राष्ट्रिय अध्ययन अनुसार कृत्रिम बुद्धिमत्ता (एआई) र मेसिन लर्निङको सहयोगमा रगतमा रहेका १४ वटा विशेष प्रोटिनको पहिचान गरी भविष्यमा हुने क्यान्सरको पूर्वानुमान गर्न सकिने सम्भावना देखिएको हो।
सेलमा प्रकाशित यो अध्ययनलाई यहाँ क्लिक गरेर पढ्न सकिन्छ। जैविक तहमा हुने यो प्रारम्भिक पहिचानले क्यान्सर लाग्नु अगावै त्यसलाई रोक्ने ‘मोलिक्युलर क्यान्सर प्रिभेन्सन’ को नयाँ बाटो खोलेको छ। यो निष्कर्ष मुटु तथा रक्तसञ्चार सम्बन्धी चर्चित क्लिनिकल ट्रायल ‘क्यान्टोस, बेलायतको ‘यूके बायोबैंक’ तथा विश्वका विभिन्न देशका आठ वटा ठूला अध्ययनबाट प्राप्त तथ्याङ्क विश्लेषण पछि निकालिएको हो।
अनुसन्धानकर्ताहरूले २,९२३ प्रकारका प्लाज्मा प्रोटिन र पछि देखिएका क्यान्सरका घटनाहरूलाई विश्लेषण गरी ‘१४–प्रोटिन प्लाज्मा सिग्नेचर’ पहिचान गरेका हुन। यो सिग्नेचरमा सूजन, कोषिकीय संरचना परिवर्तन र फोक्सोको जैविक गतिविधिसँग सम्बन्धित प्रोटिनहरू समावेश छन।
अध्ययन अनुसार यो मोडेलले भविष्यमा फोक्सोको क्यान्सर हुने जोखिम करिब ७७.६ प्रतिशत संवेदनशीलता सहित पहिचान गर्न सफल भएको छ, जुन हाल प्रयोगमा रहेका परम्परागत स्क्रिनिङ मोडेल भन्दा राम्रो देखिएको छ।
क्यान्सर हुनु अघिको ‘अदृश्य अवस्था’ पहिचान
अध्ययनले फोक्सोको क्यान्सर अचानक सुरु नहुने, बरु कोषिकाहरूले एक संक्रमणकालीन अवस्थाबाट गुज्रिने देखाएको छ। अनुसन्धानकर्ताहरूले यस अवस्थालाई ‘केराटिन-८ सकारात्मक/क्लाउडिन–४ सकारात्मक एल्भिओलर ट्रान्जिसनल स्टेट’ (केएसी) नाम दिएका छन।
यो अवस्था सामान्यतया फोक्सोमा चोटपटक, प्रदूषण वा मर्मत प्रक्रियाका क्रममा देखिने अन्तरिम कोषिकीय अवस्था हो। तर लामो समय सम्म कायम रहँदा यही अवस्था क्यान्सर विकास तर्फ अघि बढ्न सक्ने अध्ययनले जनाएको छ।
रगतमा भेटिएका १४ प्रोटिनको मात्रा बढ्नु र फोक्सोमा केएसी अवस्थाका कोषिकाको वृद्धि हुनुबीच प्रत्यक्ष सम्बन्ध रहेको अनुसन्धानले देखाएको छ।
प्रदूषण र धुम्रपानले बढाउँछ जोखिम
अनुसन्धानले विशेष गरी वायु प्रदूषण र धुम्रपानले फोक्सोको क्यान्सरलाई आणविक तहमा कसरी प्रोत्साहित गर्छ भन्ने प्रमाण पनि प्रस्तुत गरेको छ।
अध्ययन अनुसार प्रदूषणका सूक्ष्म कण वा धुवाँ फोक्सोमा प्रवेश गरेपछि प्रतिरक्षात्मक कोषिकाले ‘इन्टरल्युकिन–१ बिटा’ नामक सूजन सम्बन्धी रसायन उत्पादन गर्छन्। यही रसायनले फोक्सोका सामान्य वा पहिले देखि परिवर्तन भएका कोषिकालाई केएसी अवस्थामा प्रवेश गराई ट्युमर बन्ने प्रक्रिया तीव्र बनाउन सक्छ।
अनुसन्धानकर्ताहरूले कहिल्यै धुम्रपान नगरेका व्यक्तिमा पनि जोखिम मूल्याङ्कन गरे। ताइवानमा सञ्चालन गरिएको ‘ट्यालेन्ट’ अध्ययनमा उच्च वायु प्रदूषणमा बस्ने व्यक्तिहरूमा पनि केही प्रोटिनको मात्रा बढी भेटिएको थियो। यसले धुम्रपान नगर्नेहरूमा पनि प्रदूषण फोक्सोको क्यान्सरको महत्वपूर्ण कारक हुन सक्ने संकेत गरेको छ।
क्यान्सर हुनुअघि नै रोकथाम गर्ने सम्भावना
अध्ययनको अर्को महत्वपूर्ण पक्ष ‘मोलिक्युलर क्यान्सर प्रिभेन्सन’ अर्थात क्यान्सर लाग्नु अघि नै जोखिम भएका व्यक्तिलाई लक्षित रोकथाम गर्नु हो।
क्यान्टोस ट्रायलको पुनः विश्लेषण गर्दा १४–प्रोटिन सिग्नेचर उच्च भएका व्यक्तिहरूमा ‘एन्टि–IL-1β’ औषधि क्यानकिनुमाब प्रयोग गर्दा फोक्सोको क्यान्सरको जोखिम घटेको संकेत देखिएको अनुसन्धानकर्ताहरूले बताएका छन।
विशेष गरी जोखिम नछानेर उपचार गर्दा धेरै मानिसलाई औषधि दिनुपर्ने अवस्था रहे पनि नयाँ परीक्षणले उच्च जोखिम समूह पहिचान गर्न सकेपछि उपचारको प्रभावकारिता उल्लेखनीय रूपमा बढ्न सक्ने अध्ययनले देखाएको छ।
यद्यपि अनुसन्धानकर्ताहरूले यो औषधिले पहिल्यै विकसित वा फैलिसकेको क्यान्सरमा प्रभाव नदेखाएकाले यसको उपयोग क्यान्सर सुरु हुनु अघिको समय पहिचानमा केन्द्रित हुने बताएका छन।
नियमित परीक्षणका लागि अझै समय लाग्ने
अनुसन्धानकर्ताहरूका अनुसार यो प्रविधि तत्काल अस्पतालमा नियमित परीक्षणका रूपमा उपलब्ध हुने अवस्थामा छैन। यसलाई व्यवहारमा ल्याउन थप दीर्घकालीन अध्ययन, लागत मूल्याङ्कन र विभिन्न जनसमूहमा पुनः परीक्षण आवश्यक छ।
यद्यपि फोक्सोको क्यान्सरलाई उपचार गर्ने भन्दा जोखिम युक्त वातावरण र प्रारम्भिक जैविक परिवर्तन पहिचान गरेर रोक्ने अवधारणा तर्फ यो अध्ययनले नयाँ सम्भावना खोलेको अनुसन्धानकर्ताहरूको निष्कर्ष छ।

प्रतिक्रिया दिनुहोस