एन्टिबायोटिकले काम नगरेर वर्षेनी १० लाख भन्दा बढीको मृत्यु : विश्व एएमआर जागरूकता साता


काठमाडौँ –एन्टी माइक्रोबियल रेसिस्टेन्स (एएमआर) अर्थात् एन्टिबायोटिक औषधिले काम नगरेर वर्षेनी १० लाख भन्दा बढी मानिसको मृत्यु हुने गरेको र आगामी दशकहरूमा यो संख्या अझ बढ्ने अनुमान गरिएको छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र साझेदार संस्थाहरूले १८ देखि २४ नोभेम्बर २०२५ सम्म मनाइने विश्व एएमआर (एन्टी माइक्रोबियल रेसिस्टेन्स) जागरूकता सप्ताहको अवसरमा सबै देशलाई राजनीतिक प्रतिबद्धतालाई जीवन रक्षा गर्ने हस्तक्षेपमा बदल्न आग्रह गरेका छन्।

एएमआर विश्वभर तीव्र रूपमा बढ्दै गएको जनाउँदै डब्लुएचओले यसले दशकौँको चिकित्सकीय प्रगतिमा जोखिम बढाएको बताएको छ। कहिल्यै प्रभावकारी मानिने एन्टिबायोटिक औषधिहरू धेरै संक्रमणमा अब काम नगर्ने अवस्थामा पुगेका छन्।

‘एन्टिमाइक्रोबियल प्रतिरोध सबै देशमा चुनौतीको रूपमा देखा परिरहेको छ। रोकथाम, निदान र उचित उपचारमा पहुँच नहुने व्यक्तिहरू झनै जोखिममा पर्छन्,’ डब्लुएचओका एएमआर विभागका निर्देशक डा. इभान ह्युटिनले भने। उनले भने, ‘एएमआरबाट बच्न सहकार्य अत्यावश्यक छ। जीवन–रक्षक औषधिहरूलाई आगामी पुस्ताका लागि सुरक्षित राख्न अहिले नै कदम चाल्नुपर्छ।’

एएमआर तब उत्पन्न हुन्छ जब ब्याक्टेरिया, भाइरस, फंगस र परजीवीहरूले एन्टिमाइक्रोबियल औषधीको प्रभावलाई बेवास्ता गर्न थाल्छन्। यसका कारण सामान्य संक्रमण समेत कठिन र कहिले काहीँ असम्भव रूपमा उपचार योग्य बन्ने जोखिम बढ्छ, जसले रोग फैलिन, बिरामी गम्भीर बन्न र मृत्यु दर बढ्न योगदान गर्छ।

डब्लुएचओका अनुसार एएमआर सीमाना र क्षेत्रसँग सीमित हुँदैन, त्यसैले समन्वित सहकार्य आवश्यक छ। यसका लागि नीति निर्माता, स्वास्थ्यकर्मी, पशु चिकित्सक, किसान, वातावरण तथा फोहोर व्यवस्थापन क्षेत्रका विज्ञ, अनुसन्धानकर्ता, नागरिक समाज र समुदायले आफ्नो भूमिका निर्वाह गर्नु पर्ने बताइएको छ। अस्पतालमा एन्टिमाइक्रोबियल स्ट्यूवर्डशिप टिम गठन गर्नु होस् वा किसानले दिगो फोहोर व्यवस्थापन अभ्यास अपनाउनु होस्, प्रत्येक कदम महत्वपूर्ण मानिन्छ।

विश्व एएमआर जागरूकता सप्ताहको उद्देश्य एएमआरबारे जनचेतना बढाउने, औषधि प्रतिरोधी रोगजनकको फैलावट रोक्न विश्वव्यापी कदम प्रोत्साहित गर्ने र २०२४ को संयुक्त राष्ट्रसंघको उच्चस्तरीय बैठक तथा डब्लुएचओ महासभा निर्णय अनुसार ठोस कार्यान्वयनमा जोड दिनु रहेको छ।

अभियान अन्तर्गत सरकार, स्वास्थ्य साझेदार, नागरिक समाज र समुदायले कार्यक्रमहरू आयोजना गर्न प्रोत्साहित गरिएका छन्। एएमआर ‘क्वाड्रिपार्टाइट’ संस्थाहरू, संयुक्त राष्ट्रखाद्य तथा कृषि संगठन (एफएओ), संयुक्त राष्ट्र वातावरण कार्यक्रम (युएनइपी), डब्लुएचओ र पशु स्वास्थ्यका लागि विश्व संगठन (डब्लुओएएच) ले आवश्यक सामग्री, प्रविधिक सहयोग र अभियान सम्बन्धी दिशानिर्देश उपलब्ध गराइरहेका छन्।

सहकार्य र समयमै हस्तक्षेप मार्फत एन्टिमाइक्रोबियल औषधिहरूको प्रभावकारिता जोगाउन सकिने तथा सुरक्षित र दिगो स्वास्थ्य व्यवस्था निर्माण गर्न सकिने डब्लुएचओले जनाएको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!