जलवायु परिवर्तनमा उदासीनताले हरेक वर्ष लाखौं मानिसको ज्यान लिइरहेको चेतावनी: डब्लुएचओ र लान्सेट काउन्ट डाउनको नयाँ प्रतिवेदन


काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र साझेदार संस्थाहरूले स्वास्थ्यलाई जलवायु कार्यको सबै भन्दा प्रभावकारी प्रेरकका रूपमा मान्यता दिन आह्वान गरेका छन्। बुधबार सार्वजनिक गरिएको ‘लान्सेट काउन्टडाउन अन हेल्थ एन्ड क्लाइमेट चेन्ज २०२५’ प्रतिवेदनले जीवाश्म इन्धन प्रतिको अत्यधिक निर्भरता र तातो हावापानी सँग अनुकूल हुन असफलताका कारण विश्वभरका मानिसहरूको स्वास्थ्यमा विनाशकारी असर पर्न थालेको चेतावनी दिएको छ।

यो प्रतिवेदनले स्वास्थ्य र जलवायु सम्बन्धी २० प्रमुख सूचकहरू मध्ये १२ ले हाल सम्म कै उच्च स्तर छोएको जनाएको छ। जसले जलवायु परिवर्तन प्रतिको निष्क्रियताले जीवन जोखिममा पार्नुका साथै स्वास्थ्य प्रणाली माथि दबाब बढाएको र अर्थतन्त्रलाई कमजोर पारेको देखाउँछ।

डब्लुएचओ का स्वास्थ्य प्रवर्द्धन तथा रोग रोकथाम विभागका सहायक महानिर्देशक डा. जेरमी फरारले भने, ‘जलवायु संकट वास्तवमै स्वास्थ्य संकट हो। तापक्रमको हरेक अंश वृद्धिले जीवन र आजीविका माथि गम्भीर प्रभाव पार्छ। तर, यही संकटले हामीलाई सबै भन्दा ठूलो स्वास्थ्य अवसर पनि दिएको छ । स्वच्छ हावा, स्वस्थ आहार र दिगो स्वास्थ्य प्रणालीले लाखौं जीवन जोगाउन सक्छ।’

लान्सेट काउन्टडाउन की कार्यकारी निर्देशक डा. म्यारिना रोमानेल्लोका अनुसार, ‘हामीसँग समाधानहरू पहिले नै छन्। विश्वभरका समुदाय र स्थानीय सरकारहरूले सफा ऊर्जा, सहर अनुकूलन र स्वास्थ्य सुधारका ठोस उदाहरणहरू दिइरहेका छन्। तर, ती प्रयासलाई अझ तीव्र बनाउनै पर्छ।’

स्वास्थ्य केन्द्रित जलवायु पहल

प्रतिवेदनका अनुसार, केही सरकारले जलवायु प्रतिबद्धता ढिलो गरिरहे पनि सहरहरू, समुदायहरू र स्वास्थ्य क्षेत्र आफैं अग्रसर भइरहेका छन्। ८५८ मध्ये ८३४ सहरहरूले जलवायु जोखिम मूल्याङ्कन पूरा गरेका वा गर्ने तयारीमा छन्। ऊर्जा रूपान्तरणका कारण हावा सफा, रोजगारी स्वस्थ र अर्थतन्त्र सुदृढ बन्दै गएको छ।

स्वास्थ्य क्षेत्र आफैंले पनि नेतृत्व देखाएको छ। २०२१ देखि २०२२ बीच स्वास्थ्य सम्बन्धी हरितगृह ग्याँस उत्सर्जन १६ प्रतिशतले घटेको छ। हाल ५८ प्रतिशत सदस्य राष्ट्रहरूले ‘हेल्थ भल्नरेबिलिटी एन्ड एडेप्टेशन’ मूल्याङ्कन पूरा गरेका छन्, र ६० प्रतिशतले ‘हेल्थ नेसनल एडेप्टेशन प्लान’ तयार पारेका छन्।

कोप ३०  तर्फ अघि

ब्राजिलको बेलें शहरमा हुने आगामी कोप ३० सम्मेलनका लागि यस प्रतिवेदनले स्वास्थ्य–केन्द्रित जलवायु कार्यका लागि ठोस प्रमाण उपलब्ध गराएको छ। डब्लुएचओले आगामी ‘कोप३० स्पेसल रिपोर्ट अन क्लाइमेट चेन्ज एन्ड हेल्थ’ मार्फत स्वास्थ्य, समानता र दीगो भविष्यका लागि आवश्यक नीतिहरू र लगानीलाई जोड दिने बताएको छ।

‘लान्सेट काउन्टडाउन अन हेल्थ एन्ड क्लाइमेट चेन्ज’ परियोजना युनिभर्सिटी कलेज लन्डनको नेतृत्वमा डब्लुएचओ, ७१ शैक्षिक संस्थान र संयुक्त राष्ट्रका निकायहरूको साझेदारीमा सञ्चालन हुँदै आएको हो। नौ वार्षिक संस्करणको रूपमा सार्वजनिक यो प्रतिवेदनले जलवायु परिवर्तनका स्वास्थ्य प्रभाव र तत्काल कार्यको सह लाभ बारे अहिले सम्मकै विस्तृत मूल्याङ्कन गरेको छ।

प्रतिवेदनका मुख्य तथ्यांकहरू

  • तातोका कारण मृत्युमा वृद्धि: १९९० दशकयता तातोका कारण हुने मृत्युदर २३ प्रतिशतले बढेको छ। हाल विश्व भर वार्षिक औसत ५.४६ लाख मानिस तातोका कारण ज्यान गुमाइरहेका छन्।
  • खडेरी र जंगल डढेलोको प्रभाव: २०२३ मा मात्र खडेरी र गर्मीका कारण १२ करोड ४० लाख मानिस मध्यम वा गम्भीर खाद्य असुरक्षामा परे।
  • आर्थिक असर: २०२४ मा अत्यधिक तापका कारण ६४० अर्ब श्रम घण्टा हराए, जसको आर्थिक मूल्य १.०९ ट्रिलियन अमेरिकी डलर बराबर रह्यो। वृद्धहरूको तातो सम्बन्धी मृत्युका कारण मात्र २६१ अर्ब डलर बराबरको क्षति भयो।
  • जीवाश्म इन्धनमा अत्यधिक सब्सिडी: २०२३ मा सरकारले जीवाश्म इन्धनमा ९५६ अर्ब अमेरिकी डलर बराबर सब्सिडी खर्च गरे, जुन जलवायु संवेदनशील देशहरूलाई दिने वाचा गरिएको वित्तीय सहयोग भन्दा तीन गुणा बढी हो।
  • जलवायु कार्यका लाभहरू: २०१० देखि २०२२ बीच कोइला आधारित वायु प्रदूषण घटाएर हरेक वर्ष करिब १.६ लाख अकाल मृत्यु रोकिएको अनुमान गरिएको छ। नवीकरणीय ऊर्जाको हिस्सा विश्व विद्युत उत्पादनको १२ प्रतिशत पुगेको छ र यस क्षेत्रले १.६ करोड रोजगारी सिर्जना गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!