अनुसन्धान
स्लीप एप्नियामा गहिरो सास फेर्ने भन्दा शंख फुक्नु प्रभावकारी

नयाँ दिल्ली (ब्युरो) -स्लीप एप्निया अर्थात् निद्राका क्रममा सास फेर्न कठिन हुने समस्यामा गहिरो सास फेर्ने व्यायामको तुलनामा शंख फुक्ने अभ्यास बढी प्रभावकारी हुनसक्ने नयाँ अध्ययनले देखाएको छ।
स्लिप एप्निया भनेको निद्रामा श्वास नली बन्द भएर वा अवरुद्ध भएर सास रोकिने स्थिति हो। नेपालीमा यसको लागि कुनै खास उपयुक्त शब्द नभएपनि प्रायः ‘निद्राको अवरोध’ वा ‘निद्रामा सास रोक्नु’, सुत्दा सास फेर्न समस्या हुने अवस्था, लगायतका भन्ने गरिन्छ।
अनुसन्धानकर्ताहरूका अनुसार, स्लीप एप्नियाका क्रममा घाँटीका मांसपेशीहरू अत्यधिक आराम हुने भएकाले सासको नली साँघुरो बन्छ। यसले सास फेर्ने क्षमतामा बाधा पुर्याउँछ र रगतमा अक्सिजनको मात्रा घटाउँछ। नतिजामा निद्राको गुणस्तर बिग्रन्छ र दिनको समयमा थकान तथा निन्द्रा महसुस हुन्छ।
भारतको राजस्थान राज्य को राजधानी जयपुर स्थित एटरनल हर्ट केयर सेन्टर एन्ड रिसर्च इन्स्टिच्युट का अनुसन्धानकर्ताहरूले १९ देखि ६५ वर्ष उमेर समूहका मध्यम स्तरको स्लीप एप्निया भएका ३० व्यक्तिमा अध्ययन गरेका थिए। यस अध्ययनको निष्कर्ष युरोपियन रेस्पिरेटरी जर्नल ओपन रिसर्च मा प्रकाशित भएको हो।
अध्ययनमा सहभागी मध्ये करिब आधालाई शंख फुक्ने तालिम दिइयो र उनीहरूले सातामा पाँच दिन, कम्तीमा १५ मिनेट सम्म अभ्यास गरे। बाँकी सहभागीलाई गहिरो सास फेर्ने अभ्यास गर्न भनियो।
स्मरण रहोस शंख फुक्ने परम्परा प्राचीन र शक्तिशाली श्वसन व्यायाम हो। अध्ययनका प्रमुख लेखक डा. कृष्ण के. शर्मा का अनुसार, ६ महिना पछि गरिएको फलो अपमा शंख फुक्ने समूहमा समस्या ३४ प्रतिशतले घट्नुका साथै रातको निद्राको गुणस्तरमा उल्लेखनीय सुधार देखियो ।
अनुसन्धान कर्ताहरूका अनुसार, शंख फुक्ने अभ्यासले घाँटी र छातीका मांसपेशीलाई मजबुत बनाएर सुत्दा सासको नली संकुचन हुने सम्भावना घटाउँछ, जसले निद्रा सम्बन्धी नतिजा सुधार गर्छ र एप्नियाको गम्भीरता कम गर्छ। घाँटीको परिधिमा आएको कमीले माथिल्लो श्वास नलीको संरचनात्मक सुधार भएको संकेत दिन्छ।
यो अध्ययनले मध्यम अब्स्ट्रक्टिभ स्लीप एप्निया (ओएसए) भएका वयस्कका लागि शंख फुक्ने अभ्यासलाई सम्भावित वैकल्पिक उपचारको रूपमा देखाएको छ ।
तर अनुसन्धान सानो नमुना आकार, एकै केन्द्रमा गरिएको, र ओपेन लेइबल डिजाईन भएको हुँदा नतिजा अन्यत्र सिधै लागू नहुन सक्ने चेतावनी पनि दिइएको छ । भविष्यमा ठूलो तथा बहु-केन्द्रित अध्ययन आवश्यक रहेको वैज्ञानिकहरूको सुझाव छ ।
प्रतिक्रिया दिनुहोस