मुख तथा घाँटीको क्यान्सर सम्बन्धी राष्ट्रिय सम्मेलन सम्पन्न


भक्तपुर – मुख तथा घाँटीको क्यान्सरको उपचार सम्बन्धी एकदिने राष्ट्रिय सम्मेलन काठमाडौं क्यान्सर सेन्टरको आयोजनामा सफलता पूर्वक सम्पन्न भएको छ। भक्तपुरको ताथली स्थित अस्पतालमा आयोजित सो कार्यक्रममा देशभरका १५० भन्दा बढी चिकित्सक सहभागी भए ।

सम्मेलनमा क्यान्सर रोग विशेषज्ञ, रेडियोलोजिस्ट, नाक कान घाँटी (इएनटी) शल्यचिकित्सक, साथै चिकित्सा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सम्मेलनका प्रमुख वक्ता अमेरिका स्थित एमडी एन्डरसन क्यान्सर सेन्टरका प्रख्यात न्युरो रेडियोलोजिस्ट तथा टेक्सस विश्वविद्यालयका प्राध्यापक डा. लरेन्स गिन्सबर्ग रहे। उनले घाँटीको क्यान्सरमा देखिने पेरिन्युरल स्प्रेड विषयमा विस्तृत प्रस्तुति दिए।

त्यसै गरी, शिक्षण अस्पतालका रेडियोलोजिस्ट डा. शर्मा पौडेलले स्कल बेस को रेडियोलोजिकल एनाटोमी बारे जानकारी प्रस्तुत गरे। काठमाडौं क्यान्सर सेन्टर कै डा. सुवाष पण्डितले ठूलो शल्यक्रिया नगरी ब्राकिथेरापी प्रविधि मार्फत मुख तथा घाँटीको क्यान्सर कसरी उपचार गर्न सकिन्छ भन्ने विषयमा प्रस्तुति दिए।

कार्यक्रममा बहु विषयक प्यानल छलफल समेत आयोजना गरिएको थियो, जसमा तीन जना क्यान्सर बिरामीका उपचारबारे समन्वित रूपमा छलफल गरियो।

सम्मेलन कै अवसरमा अस्पतालले हाल सम्म सफलतापूर्वक सम्पन्न गरेका १०० वटा फ्रि फ्लाप शल्यक्रियाको उपलब्धि मनाउँदै शल्य चिकित्सकहरू लाई सम्मान गरिएको थियो। यो प्रविधिमा शरिरका अन्य भागबाट छाला वा मासु झिकेर प्लास्टिक सर्जरीको माध्यमबाट क्यान्सर ग्रस्त भागमा पुनःनिर्माण गरिन्छ।

सन् २०१६ मा स्थापना भएको काठमाडौं क्यान्सर सेन्टरमा क्यान्सरको शल्यक्रिया सहित रेडियोथेरापी, किमोथेरापी, ब्राकिथेरापी लगायत सम्पूर्ण आधुनिक उपचार सेवा उपलब्ध छन्।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!