अष्ट्रेलियाको ४.८ मिलियन डलरको अनुसन्धान अनुदान, डा. उदय यादवको परियोजना नेपाल केन्द्रित

काठमाडौं – दीर्घकालीन स्वास्थ्य समस्याहरूको प्रभावकारी व्यवस्थापन गर्न आवश्यक प्रमाण जुटाउन चार अष्ट्रेलियाली अनुसन्धान टोलीले ४.८ मिलियन डलरको अनुसन्धान अनुदान प्राप्त गरेका छन्।
यस अन्तर्गत अष्ट्रेलियन नेसनल युनिभर्सिटीका डा. उदय यादवको नेतृत्वमा नेपालमा बहु-रोग भएका पिछडिएका समुदायका लागि ‘कम्युनिटी हेल्थ वर्कर’ मोडेल मार्फत स्वास्थ्य सेवा प्रणाली सुधार गर्ने योजना छ।
यो विश्व भरको प्रतिस्पर्धामा नेपाली अनुसन्धानकर्ता डा. यादवले सबभन्दा बढी ग्रान्ट पाएका हुन्। यादवको नेतृत्वमा अनुसन्धानको लागि १६ करोड रुपैयाँ छुट्याइएकोछ।
ग्लोबल एलायन्स फर क्रोनिक डिजिज (जिएसीडी) सँगको सहकार्यमा अष्ट्रेलियाको राष्ट्रिय स्वास्थ्य तथा चिकित्सा अनुसन्धान परिषद् (एनएचएमआरसी) अन्तर्गत गरिएको यो नवौँ वार्षिक आह्वान मा अनुसन्धान टोलीहरूलाई अनुदान प्रदान गरिएको हो ।
यस कार्यक्रम अन्तर्गत रोगी केन्द्रित समग्र उपचार प्रणाली का लागि कुन अवस्थामा, कसको लागि र कहिले यस्तो उपाय प्रभावकारी हुन्छ भन्ने बारे प्रमाण संकलन गर्ने अनुसन्धान गरिनेछ।
अनुसन्धानको उद्देश्य विभिन्न नसर्ने रोगहरू (एनसीडी) भएका व्यक्तिहरूको उपचार पहुँच सुधार गर्नु हो, विशेषतः निम्न तथा मध्यम आय भएका मुलुकहरू र उच्च आय भएका देशका पिछडिएका समुदायहरूमा।
एनएचएमआरसी का प्रमुख प्राध्यापक स्टिभ वेसलिनले भने, ‘जिएसीडी सँगको सहकार्यले हामीलाई दीर्घरोगहरूको विश्वव्यापी प्रभावसँग जुध्न सहकार्यमा अनुसन्धान गर्न अवसर दिएको छ।’
‘अष्ट्रेलियन अनुसन्धानकर्ताको नवप्रवर्तन क्षमता अब विश्वस्तरमै उपयोग भइरहेकामा हामी उत्साहित छौं,’ उनले भने।
नेपालका लागि छुट्टै प्रयास
अष्ट्रेलियन नेसनल युनिभर्सिटीका डा. उदय यादवको नेतृत्वमा नेपालमा बहु-रोग भएका पिछडिएका समुदायका लागि ‘कम्युनिटी हेल्थ वर्कर’ मोडेल मार्फत स्वास्थ्य सेवा प्रणाली सुधार गर्ने योजना छ ।
उक्त मोडेल मार्फत स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि गर्दै बिरामी तथा परिवारमा स्वास्थ्य साक्षरता र आत्मनिर्भर उपचार प्रवृत्ति बढाउने लक्ष्य राखिएको छ। साथै, प्राथमिक स्वास्थ्य सेवा भित्र समन्वय र रिफरल प्रणालीलाई प्रभावकारी बनाउने पनि योजना छ।
पपुआ न्यूगिनीमा पनि समेकित सेवा परीक्षण
बर्नेट इन्स्टिच्युटका डा. फिलिप डु क्रोसले पपुआ न्यूगिनीका दुई प्रान्तमा मधुमेह, मुटु रोग र दीर्घ श्वासप्रश्वास रोगको समेकित सेवा एचआइभी र क्षयरोग कार्यक्रम सँग मिलाएर सञ्चालन गर्दा कत्तिको प्रभावकारी हुन्छ भन्ने अध्ययन गर्नेछन्। यसले त्यहाँ नसर्ने रोग सम्बन्धी अनुसन्धान र सेवा प्रवाह दुबैमा क्षमता अभिवृद्धि गर्नेछ।
प्रतिक्रिया दिनुहोस