जटिल रोगको उपचारमा स्वास्थ्य बीमा बाट थप एक लाख सहयोग उपलब्ध हुने

काठमाडौँ – जटिल प्रकृतिका रोगहरूको उपचारमा आर्थिक भार कम गर्न सरकारले स्वास्थ्य बीमा कोष मार्फत थप एक लाख रुपैयाँ सम्मको सुविधा दिने निर्णय गरेको छ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलको मन्त्री स्तरीय निर्णय अनुसार अब क्यान्सर, मुटु, मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सन र अल्जाइमर जस्ता गम्भीर रोगहरूमा उपचार गराउने बिरामीले यो अतिरिक्त सुविधा पाउने छन्।
मन्त्री पौडेलले स्वास्थ्य बीमा प्रणालीलाई अझ प्रभावकारी बनाउँदै नागरिकको पहुँच र लाभ सुनिश्चित गर्न नीतिगत सुधारमा पहल गरेका छन्। स्वास्थ्य बीमा नियमावलीमा उल्लेख गरिएका व्यवस्था कार्यान्वयन गर्न उनको निर्णयले मार्ग प्रसस्त गरेको हो।
यस निर्णय अनुसार ७० वर्ष नाघेका ज्येष्ठ नागरिकले मात्र उपभोग गर्ने गरी सुविधा दोहोरो नहुने शर्त सहित स्वास्थ्य मन्त्रालयले बीमा बोर्डलाई पत्राचार गरिसकेको छ।
स्वास्थ्य बीमामा जनताको आकर्षण बढाउने र दीगो प्रणाली निर्माण गर्ने उद्देश्यले बीमा थैली (प्याकेज) तयार गर्ने तयारी समेत मन्त्रालयले थालेको छ। यस्ता थैलीहरू बनाउँदा कोषको दुरुपयोग हुन नदिन आवश्यक सतर्कता अपनाउन समेत निर्देशन दिइएको छ।
मन्त्रालयले स्वास्थ्य बीमा बोर्डलाई रोगको भार, नागरिकको स्वास्थ्य आवश्यकताहरू, लागत प्रभावकारिता र वित्तीय दीगोपनाका आधारमा बीमा थैलीहरू निर्धारण गर्न सुझाव दिएको छ।
कोषको प्रभावकारी उपयोग सुनिश्चित गर्दै आम नागरिकको स्वास्थ्य अधिकारलाई सुदृढ बनाउने उद्देश्यसँगै यो निर्णय कार्यान्वयनमा जाने तयारी भएको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस