गर्भावस्थामा सिकलसेल भएका महिलाको हेरचाहका लागि पहिलो पटक डब्लुएचओको विश्वव्यापी दिशानिर्देश जारी

काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पहिलो पटक सिकलसेल रोग भएका गर्भवती महिलाको उपचार र हेरचाह सम्बन्धी वैश्विक दिशा निर्देश सार्वजनिक गरेको छ।
सिकलसेल रोगका कारण आमा बच्चा दुवैको ज्यान सम्म जाने जोखिम हुने भएकाले यो दिशानिर्देश महत्वपूर्ण ठानिएको छ।
सिकलसेल एक अनुवांशिक रगत सम्बन्धी रोग हो जसमा रातो रक्तकणहरू अर्धचन्द्राकार (हँसिया आकारका) हुन्छन्। यस्ता कोषिकाले रगतको प्रवाह अवरुद्ध गर्न सक्छन्, जसले गम्भीर रक्त अल्पता, पीडादायक अवस्थाहरू, बारम्बार संक्रमण, स्ट्रोक, सेप्सिस र अंग विफलताको सम्भावना बढाउँछ।
गर्भावस्थामा शरीरलाई अक्सिजन र पोषणको आवश्यकता बढ्ने भएकाले सिकलसेल रोग भएका महिलामा जोखिम अझ तीव्र हुन्छ। उनीहरूलाई सामान्य महिलाको तुलनामा ४ देखि ११ गुणा बढी मातृ मृत्युदर हुने सम्भावना हुन्छ। साथै, प्रि-एक्लेम्प्सिया जस्ता प्रसूति सम्बन्धी जटिलता हुने र बच्चा मृत अवस्थामा जन्मिने वा सानो/समय अगावै जन्मिने सम्भावना पनि उच्च हुन्छ।
‘गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच भएमा सिकलसेल जस्ता अनुवांशिक रक्तरोग भएका महिलाले पनि सुरक्षित र स्वस्थ गर्भावस्था र सन्तान जन्म गराउन सक्छन्,’ डब्लुएचओकी यौन तथा प्रजनन स्वास्थ्य निर्देशक डा. पास्केल अलोटेले भनिन्।
हाल विश्व भर करिब ७७ लाख मानिस सिकलसेल रोगबाट प्रभावित छन्, जुन सन् २००० यता ४० प्रतिशत ले बढेको हो। यो रोग सबै भन्दा धेरै अफ्रिकी मुलुकहरू, मध्यपूर्व, क्यारेबियन तथा दक्षिण एसियाका औलो प्रभावित क्षेत्रमा पाइन्छ। नेपालमा समेत थारु समुदायमा यो रोग बढी देखिएको छ।
यस अघि सिकलसेल भएको गर्भवती महिलाको उपचारमा उच्च आय भएका देशका मार्गनिर्देश प्रयोग गरिँदै आएको थियो। तर, डब्लुएचओले ल्याएको यो नयाँ मार्गनिर्देश विकासशील देशहरूमा बढी सान्दर्भिक हुने गरी बनाइएको छ।
मार्गनिर्देशमा महिलाको व्यक्तिगत अवस्था, चिकित्सा इतिहास र प्राथमिकता अनुसार सम्मानजनक र व्यक्ति केन्द्रित सेवा आवश्यक रहेको उल्लेख गरिएको छ। साथै, सिकलसेल भएका बिरामी माथि स्वास्थ्य प्रणाली भित्र हुने विभेद र कलङ्क बारे पनि समाधान खोज्नुपर्नेमा जोड दिइएको छ।
‘सिकलसेल रोग भएका महिलाले गर्भधारणको सुरुआतमै वा पहिले नै जानकार स्वास्थ्यकर्मीहरू सँग परामर्श गर्न पाउनु आवश्यक छ,’ डा. डोरिस चाउले बताइन्। यसले उपचार सम्बन्धी सही निर्णय गर्न र सम्भावित जटिलताको व्यवस्थापनमा सहयोग गर्छ।
गर्भावस्थामा सिकलसेल रोग भएका महिलाको हेरचाहमा हेमाटोलोजिस्ट, स्त्रीरोग विशेषज्ञ, बालरोग विशेषज्ञ, प्रसूतिका प्रशिक्षित स्वास्थ्यकर्मीहरू लगायतको समन्वित टोलीको भूमिका अत्यन्त महत्वपूर्ण हुने उल्लेख गरिएको छ।
सिकलसेल रोग अझै पनि उपेक्षित स्वास्थ्य समस्या हो, जसमा अनुसन्धान र लगानी अपर्याप्त छ। उपचारका नयाँ विकल्पहरू विकास भइरहे पनि गर्भवती र स्तनपान गराइरहेका महिलाका लागि सुरक्षित र प्रभावकारी उपचारबारे थप अनुसन्धानको आवश्यकता रहेको डब्लुएचओले बताएको छ।
यो दिशानिर्देश गर्भावस्थामा दीर्घरोगको व्यवस्थापन सम्बन्धी डब्लुएचओको नयाँ शृङ्खलाको पहिलो प्रकाशन हो। आगामी दिनमा हृदयरोग, मधुमेह, मानसिक स्वास्थ्य, श्वास प्रश्वास सम्बन्धी रोग तथा पदार्थ दुव्र्यसन सम्बन्धी दिशा निर्देशहरू पनि क्रमशः प्रकाशित गरिने डब्लएओले जनाएको छ ।
नयाँ दिशा निर्देशमा २० भन्दा बढी सिफारिसहरू समावेश छन्, जसमध्ये प्रमुख यस्ता छन
- फोलिक एसिड र आइरनको सप्लिमेन्टेशन (विशेष गरी औलो प्रभावित क्षेत्रका लागि समायोजन सहित)
- सिकलसेल सङ्कट र पीडा व्यवस्थापन
- संक्रमण र रगत जमेका समस्या को रोकथाम
- रक्तसञ्चार को पूर्व सावधानी स्वरूप प्रयोग
- गर्भावस्थाभर आमा र भ्रूणको थप निगरानी
प्रतिक्रिया दिनुहोस