नेसनल हेल्थ केयर द्वारा उत्पादित न्यून गुणस्तरको ‘क्याल्सिफर ड्रप्स’ औषधि फिर्ता गर्न औषधि व्यवस्था विभागको निर्देशन

काठमाडौँ – बजार अनुगमनको क्रममा संकलन गरिएका नेसनल हेल्थ केयर प्राली द्वारा उत्पादित ‘क्याल्सिफर ड्रप्स’ नामक औषधिका दुईवटा ब्याच नमुना परीक्षणमा असफल भए पछि औषधि व्यवस्था विभागले ती औषधिहरू तुरुन्त बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ।
विभागका अनुसार राष्ट्रिय औषधि प्रयोगशालाबाट गरिएको परीक्षणमा नेसनल हेल्थ केयर प्राली, छातापीपरा, बारा ले उत्पादन गरेका निम्न विवरण भएका ब्याचहरू न्यून गुणस्तर भएको पाइएको हो।
यस अन्तर्गत क्याल्सिफर ड्रप्स (कोलेक्याल्सीफेरोल ओरल सल्यूसन), ब्याच नं.: सिएलएलएफ २३०१२ , उत्पादन मिति: ०८ अक्टोबर २०२३ र अवधि समाप्ति मिति: ०७ अक्टोबर २०२५ रहेको छ ।
यस्तै क्याल्सिफर ड्रप्स (कोलेक्याल्सीफेरोल ओरल सल्यूसन), ब्याच नं.: सिएलएलएफ २३०१४, उत्पादन मिति: ०५ नोभेम्बर २०२३ र अवधि समाप्ति मिति: ०४ नोभेम्बर २०२५ गरी दुई ब्याचको औषधि बजारबाट फिर्ता गर्न निर्देशन दिइएको छ।
उक्त औषधिहरू असे टेस्ट मा असफल भएका कारण औषधि ऐन, २०३५ को दफा १४ अनुसार ती ब्याच नम्बरका औषधिहरूको बिक्री वितरण रोक्का गर्दै तुरुन्त फिर्ता गर्न सम्बन्धित उद्योग तथा तिनका प्रतिनिधिहरूलाई आग्रह गरिएको विभागले जनाएको छ।
विभागले ती ब्याचका औषधिको सिफारिस, बिक्री वितरण तथा प्रयोग नगर्न र नगराउन समेत सबै सरोकारवाला लाई आग्रह गरेको छ। साथै औषधि फिर्ता गरिएको विवरण विभागमा पेश गर्न पनि निर्देशन दिइएको छ।
उक्त औषधि विशेष गरी बालबालिकामा प्रयोग हुने भिटामिन डी पूरक औषधिको रुपमा प्रयोग हुने गर्छ ।
प्रतिक्रिया दिनुहोस