फाइजर र मोडेर्नाको खोपमा मुटु सम्बन्धी जोखिमको चेतावनीः एफडीए

काठमाडौं– अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले फाइजर र मोडेर्नाको कोभिड–१९ खोपको लेबलमा मुटु सम्बन्धी जोखिमको चेतावनी थप गर्न निर्देशन दिएको छ ।
यो अद्यावधिक चेतावनी किशोर तथा युवाहरू, विशेष गरी १६ देखि २५ वर्षका पुरुषहरूमा मायोकार्डाइटिस (मुटुको मांसपेशीमा सुन्याइ) र पेरिकार्डाइटिस (मुटुको वरिपरिको झिल्लीमा सुन्याइ) को दुर्लभ तर सम्भावित जोखिमको सङ्केत दिन्छ । यो निर्णय एफडीए को सुरक्षा निगरानी र सन् २०२३ मा गरिएको एक अध्ययनका आधारमा गरिएको हो ।
अमेरीकाको सेन्टर फर डिजीज कन्ट्र्रोल एण्ड प्रिभेन्सन (सिडीसी) का अनुसार, यी अवस्थाहरू खोप लगाइ सके पछिको केही दिन भित्र देखिने गर्छन् र धेरैजसो अवस्थामा छिट्टै सुधार हुने गर्छ ।
प्रभावित व्यक्तिहरूमा गरिएको मुटुका एमआरआई परीक्षणमा पनि समय क्रममा सुधार देखिएको एफडीएले ले जनाएको छ । एफडीए ले थप भनेको छ, ‘यी एमआरआई रिपोर्टहरूले दीर्घकालीन प्रभावबारे पूर्वानुमान गर्न सकिन्छ कि सकिदैन भन्ने अझै स्पष्ट छैन । दीर्घकालीन असरहरू पत्ता लगाउन अध्ययन भइरहेको छ ।’
फाइजरको ‘कोमिरनाटी’ र मोडेर्नाको’ ‘स्पाइकभ्याक्स’ नामक एमआरएनए खोप दुबैमा यो चेतावनी लागू हुनेछ । एफडीएको रिपोर्ट अनुसार, १६ देखि २५ वर्ष उमेर समूहका पुरुषहरूमा हरेक १० लाख डोजमा करिब ३८ केस मायोकार्डाइटिस वा पेरिकार्डाइटिसका देखिएका छन्, जबकि ६५ वर्ष भन्दा कम उमेरका सम्पूर्ण व्यक्तिहरूमा यो दर ८ केस प्रति १० लाख डोज रहेको छ ।
एफडीए को यो निर्देशन अनुसार, दुवै कम्पनीले ३० दिन भित्र जवाफ दिनु पर्नेछ । हालसम्म फाइजर र मोडेर्नाले यसबारे सार्वजनिक अभिव्यक्ति दिएका छैनन् ।
प्रतिक्रिया दिनुहोस