अटिजम भएका बालबालिका र अभिभावकको तनाव घटाउन हास्य योग कति उपयोगी? हङकङमा नयाँ अध्ययन सुरु
काठमाडौँ- अटिजम स्पेक्ट्रम डिसअर्डर (एएसडी) भएका बालबालिका र उनीहरूका अभिभावकमा चिन्ता (एन्जायटी), अवसाद (डिप्रेसन) तथा अभिभावकीय तनाव उच्च हुने देखिएको अवस्थामा हास्य योग (लाफ्टर योगा) यसको सम्भावित उपाय बन्न सक्छ कि भन्ने विषयमा हङकङमा नयाँ अध्ययन सुरु गरिएको छ। यस अध्ययनको प्रोटोकल अर्थात अनुसन्धानको रूपरेखा ब्रिटिश मेडिकल जर्नल (बिएमजे ओपेन) मा प्रकाशित भएको हो। जसलाई 👉 यहाँ क्लिक गरेर पढ्न सकिन्छ ।
हाल सम्म भएका अध्ययनहरूले वयस्कहरूमा हास्य योगले खुसीको अनुभूति बढाउन र नकारात्मक भावनाहरू कम गर्न मद्दत गर्न सक्ने देखाए पनि अटिजम भएका बालबालिका र उनीहरूका अभिभावक माथि यसको प्रभाव बारे पर्याप्त अनुसन्धान भएको छैन। यही कमी लाई सम्बोधन गर्न द हङकङ पोलिटेक्निक युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले यो क्लिनिकल परीक्षणको ढाँचा तयार गरेका हुन।
अध्ययनको मुख्य उद्देश्य हास्य योग कार्यक्रम व्यवहारिक, सुरक्षित र सहभागीका लागि स्वीकार्य छ वा छैन भन्ने मूल्याङ्कन गर्नुका साथै यसले अटिजम भएका बालबालिकामा देखिने चिन्ता र डिप्रेसन का लक्षण तथा उनीहरूका अभिभावकमा हुने तनाव कम गर्न सहयोग पुर्याउँछ कि भन्ने प्रारम्भिक प्रमाण सङ्कलन गर्नु हो।
अनुसन्धानमा ८ देखि १२ वर्ष उमेर समूहका ६६ जना एएसडी पुष्टि भएका बालबालिका र उनीहरूका अभिभावकलाई सहभागी गराइनेछ। सहभागी छनोट सामाजिक सञ्जाल र विद्यालय मार्फत गरिनेछ। त्यस पछि परिवारलाई अनियमित रूपमा दुई समूहमा विभाजन गरिनेछ। एउटा समूहले हास्य योग कार्यक्रममा सहभागिता जनाउनेछ भने अर्को समूहलाई प्रतीक्षा सूची (वेट लिस्ट कन्ट्रोल) मा राखिनेछ।
हास्य योग समूहमा रहेका परिवारले ६ महिना सम्म प्रत्येक दुई सातामा एक पटक १ घण्टाका दरले जम्मा १२ वटा सत्रमा भाग लिनेछन्। स्थानीय विश्वविद्यालयको इन्डोर गतिविधि कक्षमा सञ्चालन हुने कार्यक्रममा वार्म अप अभ्यास, गहिरो श्वासप्रश्वास, बालसुलभ खेलमय गतिविधि, हाँसो अभ्यास र अन्त्यमा विश्राम तथा अनुभव आदान प्रदान समावेश गरिएको छ। कक्षाहरू लाफ्टर योगा इन्टरनेशनल को निर्देशिका अनुसार सञ्चालन हुनेछन र एएसडी भएका बालबालिकासँग काम गर्ने अनुभव भएका प्रमाणित प्रशिक्षकले सञ्चालन गर्नेछन।
सहभागितालाई प्रोत्साहन गर्न प्रत्येक कक्षा पछि बालबालिकालाई स्टिकर प्रदान गरिनेछ भने परिवारलाई यातायात खर्च बापत ३० हङकङ डलर उपलब्ध गराइनेछ। प्रतीक्षा सूचीमा रहेका परिवारलाई सुरुवाती चरणमा कुनै हस्तक्षेप नदिइए पनि अध्ययनको अन्तिम तथ्याङ्क सङ्कलन पछि समान कार्यक्रम र सुविधा उपलब्ध गराइने उल्लेख गरिएको छ।
यो मुख्य रूपमा सम्भाव्यता अध्ययन भएकाले अनुसन्धानकर्ताले भर्ती दर, उपस्थिति, कार्यक्रम बीच मै छाड्ने दर, सुरक्षा समस्या र सहभागीको अनुभवलाई प्राथमिक सूचक बनाएका छन। साथै, बालबालिकामा चिन्ता र डिप्रेसन तथा अभिभावकमा हुने तनाव मापन गर्न वैज्ञानिक रूपमा मान्यता प्राप्त रिभाइज्ड चाइल्ड एन्जाइटी एन्ड डिप्रेसन स्केल (आरसि एडीएस-पी ) र पेरेन्टिङ स्ट्रेस इन्डेक्स (पीएसआई–एसएफ) उपकरण प्रयोग गरिनेछ। तथ्याङ्क योग सुरु गर्नुअघि, ६ महिना पछि र त्यसको ३ महिना पछि गरी तीन चरणमा सङ्कलन गरिनेछ।
अध्ययनमा हालै शल्यक्रिया गराएका, गम्भीर व्यवहार समस्या भएका, कम कार्यक्षमता भएका एएसडी बालबालिका वा चिन्ता तथा अवसादको उपचार गराइरहेका बालबालिकालाई सहभागी नगराइनेछ। मानसिक स्वास्थ्य सम्बन्धी समस्या पहिचान भएका अभिभावक पनि अध्ययनमा समावेश हुने छैनन।
अनुसन्धान टोलीका अनुसार हास्य योग हल्का देखि मध्यम स्तरको शारीरिक गतिविधि भएकाले अत्यधिक वा लामो समय हाँस्दा श्वासप्रश्वासमा समस्या, रिंगटा वा असहजता हुन सक्ने जोखिमलाई ध्यानमा राखेर सुरक्षा प्रोटोकल तयार गरिएको छ। प्रत्येक कक्षामा अभिभावकको उपस्थितिलाई अनिवार्य गरिएको छ र आकस्मिक अवस्थाका लागि मानसिक स्वास्थ्य प्राथमिक उपचार तथा बेसिक लाइफ सपोर्टमा प्रशिक्षित टोली उपलब्ध रहनेछ।
यो क्लिनिकल ट्रायल क्लिनिकल ट्रायल्स डट जीओभी मा दर्ता भइ सकेको छ र द हङकङ पोलिटेक्निक युनिभर्सिटीको संस्थागत समीक्षा बोर्डबाट नैतिक स्वीकृति प्राप्त गरिसकेको छ। अध्ययन पूरा भए पछि नतिजा खुला पहुँच भएको वैज्ञानिक जर्नलमा प्रकाशित गरिने जनाइएको छ। अनुसन्धानकर्ताहरूका अनुसार यदि यो विधि प्रभावकारी र व्यवहारिक देखिएमा अटिजम भएका बालबालिका र उनीहरूका अभिभावकको मानसिक स्वास्थ्य व्यवस्थापनमा नयाँ सहायक उपायका रूपमा प्रयोग हुन सक्ने सम्भावना रहनेछ।

प्रतिक्रिया दिनुहोस