भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन एकाई सञ्चालनमा


भक्तपुर – भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सर पीडित बालबालिकाको विशेष उपचारका लागि बाल चिकित्सा सघन एकाई (पेडियाट्रिक आइसीयू) सञ्चालनमा ल्याइएको छ। स्वास्थ्य मन्त्री प्रदीप पौडेलले आइतबार एक कार्यक्रमका बीच उक्त एकाइको उद्घाटन गरे।

एकाइ उद्घाटन समारोहमा मन्त्री पौडेलले भक्तपुर क्यान्सर अस्पताललाई उपचारको उत्कृष्ट नमूना बनाउने लक्ष्य राखिएको उल्लेख गर्दै क्यान्सर उपचारका लागि विदेशिनेको संख्या घटाउने प्रतिबद्धता व्यक्त गरे।

‘अहिले समेत क्यान्सर उपचारका लागि भारत जानेको संख्या धेरै छ,’ मन्त्री पौडेलले भने, ‘अब देशमै उच्च गुणस्तरीय, सुपथ र सहज उपचारको व्यवस्था गरिनेछ।’

बाल क्यान्सर उपचारलाई निःशुल्क बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले राज्यलाई थप आर्थिक भार नपर्ने गरी आन्तरिक स्रोतबाट व्यवस्थापन गरिएको जानकारी दिए। ‘हामीसँग स्रोतको सीमितता भए पनि उपलब्ध श्रोतको अधिकतम उपयोग गर्दै नागरिकलाई सेवा दिने प्रयासमा छौं,’ उनले भने।

मन्त्री पौडेलले आफ्नो पहिलो निर्णय क्यान्सर नियन्त्रण रणनीति स्वीकृत गरेको स्मरण गर्दै आगामी बजेटमा पनि क्यान्सर नियन्त्रणलाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिए।

भक्तपुर क्यान्सर अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उज्वल चालिसेका अनुसार नव निर्मित एकाइमा ४ शैय्याको बाल आइसीयू, ४ शैय्याको डे केयर र ७ शैय्याको साधारण वार्ड व्यवस्था गरिएको छ।

मन्त्री पौडेलकै निर्देशनमा वैशाख महिना भित्र सेवा सञ्चालनमा ल्याउने गरी तयारी थालिएको र सोहीअनुसार सेवा सुरु गरिएको अस्पतालले जनाएको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!