५० नर्स, ६२ चिकित्सक सहित १८१ पदमा स्वास्थ्यकर्मीको लागि भर्ना खुला: ग्रामीण भेगमा काम गर्न चाहनेका लागि अवसर!
काठमाडौँ – ग्रामीण क्षेत्रका सरकारी अस्पतालमा स्वास्थ्य सेवा सुदृढ बनाउने उद्देश्यका साथ कार्यरत संस्था निक साइमन्स इन्स्टिच्युट (एनएसआई) ले ठूलो संख्यामा स्वास्थ्यकर्मी तथा प्राविधिक कर्मचारीहरूको माग गरेको छ। नेपाल सरकारसँगको सहकार्यमा सञ्चालन हुने ५ वर्षे परियोजनाका लागि संस्थाले १८१ जना कर्मचारी भर्ना गर्न लागेको हो। यो अवसर ग्रामीण स्वास्थ्य प्रणालीलाई बलियो बनाउन योगदान दिन चाहने स्वास्थ्यकर्मीहरूका लागि महत्वपूर्ण हुनेछ।
नेपाल सरकारसँगको सहकार्यमा सन २०२६ देखि २०३१ सम्म सञ्चालन हुने ‘ग्रामीण स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजना’ अन्तर्गत सरकारी अस्पताल तथा प्रादेशिक बायोमेडिकल व्यवस्थापन इकाइमा खटिने जनशक्ति भर्ना गर्न लागिएको संस्थाले जनाएको छ।
सार्वजनिक सूचना अनुसार स्टाफ नर्स, चिकित्सक, मेडिकल अफिसर र एनेस्थेसिया असिस्टेन्ट पदमा सबै भन्दा बढी माग गरिएको छ। संस्थाले ५० जना स्टाफ नर्स, ३१ जना एमडीजीपी/इमर्जेन्सी मेडिसिन चिकित्सक, ३१ जना मेडिकल अफिसर, ३१ जना एनेस्थेसिया असिस्टेन्ट, ११ जना अस्पताल स्तरका बायोमेडिकल इक्विपमेन्ट टेक्निसियन, ७ जना प्रादेशिक बायोमेडिकल इक्विपमेन्ट टेक्निसियन, ४ जना हेल्थ असिस्टेन्ट, ७ जना ल्याब टेक्निसियन र ९ जना रेडियोग्राफी टेक्निसियन भर्ना गर्ने जनाएको छ।
आवेदकले सम्बन्धित विषयमा आवश्यक शैक्षिक योग्यता हासिल गरेको हुनुपर्ने तथा नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ काउन्सिल वा नेपाल स्वास्थ्य व्यवसायी परिषद् (एनएचपीसी) मा दर्ता भएको हुनुपर्ने सर्त राखिएको छ। ग्रामीण तथा दुर्गम क्षेत्रमा काम गर्न इच्छुक, टोलीमा काम गर्न सक्षम तथा यस अघि एनएसआईसँग कार्यानुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइने उल्लेख गरिएको छ। महिला उम्मेदवारलाई पनि आवेदन दिन प्रोत्साहन गरिएको छ।
इच्छुक नेपाली नागरिकले अधिकतम दुई पृष्ठको जीवनवृत्त (सीभी), कभर लेटर र पछिल्लो कार्यस्थलका दुई जना सिफारिसकर्ताको विवरण सहित [email protected] मा इमेल मार्फत आवेदन दिन सक्नेछन । इमेलको ‘सब्जेक्ट’मा आवेदन दिएको पदको नाम अनिवार्य रूपमा उल्लेख गर्नु पर्नेछ।
आवेदन दिने अन्तिम म्याद २०८३ साउन १ गते (१७ जुलाई २०२६) साँझ ५ बजे सम्म तोकिएको छ। विज्ञापन सम्बन्धी जानकारीका लागि टेलिफोन मार्फत सम्पर्क नगर्न पनि एनएसआईले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस