बिर्सने रोग ‘डिमेन्सिया’ बाट बच्ने उपाय पत्ता लाग्यो, जीवनशैली सुधारे ४५% जोखिम टर्ने


काठमाडौँ- के तपाईंको दैनिकी शारीरिक रूपमा निष्क्रिय छ वा तपाईं धुम्रपान र तनावपूर्ण जीवन बिताइ रहनु भएको छ? सचेत हुनुहोस, यी बानीले तपाईंको स्मरण शक्ति सधैंका लागि खोस्न सक्छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जारी गरेको नयाँ निर्देशिका अनुसार, आफ्नो जीवनशैलीमा सामान्य सुधार गरेमा र केही स्वास्थ्य समस्यालाई बेलैमा नियन्त्रण गरेमा बिर्सने रोग अर्थात ‘डिमेन्सिया’ को जोखिमलाई ४५ प्रतिशत सम्म रोक्न वा ढिलाइ गर्न सकिन्छ। विश्व भर ५ करोड ७० लाख भन्दा बढी मानिसलाई पिरोलिरहेको यो रोगको अचुक रोकथामबारे डब्ल्यूएचओले नयाँ वैज्ञानिक प्रमाण सार्वजनिक गरेको हो।

डब्ल्यूएचओका अनुसार डिमेन्सिया मस्तिष्क सम्बन्धी रोगका कारण हुने अवस्था हो, जसले स्मरणशक्ति, सोच्ने क्षमता र दैनिक कामकाज गर्ने क्षमतामा असर पुर्‍याउँछ। हाल विश्वभर ५ करोड ७० लाखभन्दा बढी मानिस डिमेन्सियाबाट प्रभावित छन् भने हरेक वर्ष करिब १ करोड नयाँ बिरामी थपिन्छन। कुल डिमेन्सिया बिरामी मध्ये ६० देखि ७० प्रतिशतमा अल्जाइमर रोग रहेको अनुमान गरिएको छ।

हालसम्म डिमेन्सियाको पूर्ण उपचार उपलब्ध छैन। तर धूम्रपान, मद्यपान, सामाजिक एक्लोपन, शारीरिक निष्क्रियता, वायु प्रदूषण तथा उच्च रक्तचाप, मधुमेह र उच्च कोलेस्ट्रोल जस्ता नसर्ने रोगहरू नियन्त्रण गरेर यसको जोखिम उल्लेखनीय रूपमा घटाउन सकिने डब्ल्यूएचओले जनाएको छ।

डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले डिमेन्सियाको जोखिम बढाउने कारण बारे अहिले पहिले भन्दा धेरै वैज्ञानिक प्रमाण उपलब्ध भएको उल्लेख गर्दै नयाँ निर्देशिकाले त्यसलाई व्यवहारमा उतार्ने स्पष्ट र प्रमाणमा आधारित मार्गदर्शन प्रदान गरेको बताए। उनका अनुसार यसले देशहरूलाई आफ्ना नागरिकको मस्तिष्क स्वास्थ्य संरक्षणका लागि प्रभावकारी नीति र कार्यक्रम कार्यान्वयन गर्न सहयोग गर्नेछ।

सन २०१९ मा पहिलो पटक जारी गरिएको निर्देशिका पछि प्राप्त नयाँ वैज्ञानिक प्रमाणका आधारमा तयार पारिएको अद्यावधिक संस्करणमा डिमेन्सियाको जोखिम कम गर्न नियमित शारीरिक व्यायाम गर्ने, धूम्रपान त्याग्ने, मद्यपान घटाउने, स्वस्थ आहार अपनाउने र वायु प्रदूषणको सम्पर्क कम गर्ने सिफारिस गरिएको छ। वयस्कहरूले मस्तिष्कलाई सक्रिय राख्ने अभ्यास (कग्निटिभ ट्रेनिङ), मानसिक उत्तेजना दिने गतिविधि तथा सामाजिक क्रियाकलापमा सक्रिय सहभागिता जनाउन पनि सुझाव दिइएको छ।

त्यस्तै, उच्च रक्तचाप, मधुमेह र उच्च कोलेस्ट्रोल जस्ता कार्डियोमेटाबोलिक समस्याको उचित व्यवस्थापनले पनि डिमेन्सियाको जोखिम घटाउन मद्दत गर्ने उल्लेख गरिएको छ। श्रवणशक्ति कमजोर भएका व्यक्तिलाई जोखिम न्यूनीकरण रणनीति अन्तर्गत हियरिङ एड प्रयोग गराउन पनि सिफारिस गरिएको छ।

निर्देशिकाले चिकित्सकीय रूपमा भिटामिनको कमी पुष्टि नभए सम्म भिटामिन बी, भिटामिन ई, ओमेगा–३ फ्याटी एसिड वा मल्टि भिटामिन तथा खनिजयुक्त सप्लिमेन्ट डिमेन्सिया रोकथामका लागि प्रयोग नगर्न पनि सुझाव दिएको छ। यस्ता सप्लिमेन्टले डिमेन्सिया रोक्ने पर्याप्त वैज्ञानिक प्रमाण नभएको र अनपेक्षित हानि हुन सक्ने डब्ल्यूएचओको निष्कर्ष छ।

डब्ल्यूएचओका अनुसार डिमेन्सियाले बिरामीको स्वतन्त्र जीवन, आत्मसम्मान, सुरक्षा, रोजगारी र दैनिक कार्य सम्पादनमा गम्भीर असर पार्नुका साथै परिवार र हेरचाहकर्ता माथि ठूलो मानसिक, सामाजिक र आर्थिक भार थप्छ। डिमेन्सियाका कारण विश्व अर्थतन्त्रले वार्षिक करिब १.३ ट्रिलियन अमेरिकी डलर बराबरको आर्थिक भार व्यहोर्नु परेको छ। यस मध्ये करिब आधा खर्च परिवार र साथी भाइले निःशुल्क रूपमा उपलब्ध गराउने हेरचाहसँग सम्बन्धित छ।

डब्ल्यूएचओले जोखिम कारकको समय मै पहिचान गरी रोकथामका उपाय अपनाउन सके मानिसहरूलाई लामो, स्वस्थ र बढी स्वतन्त्र जीवन बिताउन सहयोग पुग्ने तथा आगामी दशकहरूमा डिमेन्सियाको विश्वव्यापी भार घटाउन महत्त्वपूर्ण योगदान पुग्ने जनाएको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!