डिप्रेसन र थकानको जैविक सम्बन्ध: मस्तिष्क र रगतमा भेटियो ‘एटीपी’ बायोसिग्नेचर
काठमाडौँ – मेजर डिप्रेसन डिस्अर्डर (एमडीडी) बाट ग्रसित युवाहरूमा देखिने कडा थकानको कारण उनीहरूको कोषकीय ऊर्जा प्रणालीमा आउने परिवर्तन सँग जोडिएको एक नयाँ अध्ययनले देखाएको छ।
‘ट्रान्सलेसनल साइकियाट्री’ जर्नलमा यो अध्ययन प्रकाशित छ, जसलाई 👉 यहाँ क्लिक गरेर पढ्न सकिन्छ। अनुसन्धान अनुसार, डिप्रेसन भएका व्यक्तिहरूको मस्तिष्क र रगत दुवैमा ऊर्जाको मुख्य स्रोत ‘एडिनोसिन ट्राइफोस्फेट’ (एटीपी) को असामान्य सन्तुलन पाइएको छ।
के हो अध्ययनको निष्कर्ष?
अध्ययनले डिप्रेसन भएका युवाहरूको मस्तिष्कको ‘भिजुअल कोर्टेक्स’ मा स्वस्थ व्यक्तिको तुलनामा एटीपी उत्पादन दर उच्च रहेको फेला पारेको छ। अचम्मको कुरा के छ भने, यो उच्च उत्पादन दरलाई शोधकर्ताहरूले शरीरको एक ‘क्षतिपूर्ति संयन्त्र’ (कम्पेन्सेटरी मेकानिज्म) का रूपमा व्याख्या गरेका छन।
यसको अर्थ, डिप्रेसनको सुरुवाती चरणमा मस्तिष्कले थकानसँग लड्न र ऊर्जा सन्तुलन कायम राख्न सामान्यभन्दा बढी मिहिनेत गरिरहेको हुन्छ। तर, जब यी कोषहरूलाई थप तनाव (स्ट्रेस) दिइन्छ, उनीहरूको ऊर्जा उत्पादन गर्ने क्षमता निकै कम हुने गरेको पाइएको छ।
किन महत्त्वपूर्ण छ यो खोज?
यो अध्ययनले पहिलो पटक डिप्रेसन र थकानको जैविक जरो (मोलेक्युलर रुट्स) मस्तिष्क र रगत दुवैमा एकैसाथ पहिचान गरेको छ। यसले भविष्यमा रगत परीक्षणकै भरमा डिप्रेसनको अवस्था र थकानको स्तर मापन गर्न सकिने सम्भावना ढोका खोलेको छ।
अध्ययनका अनुसार, डिप्रेसनको सुरुवाती अवस्था मै यस्ता जैविक परिवर्तनहरू पहिचान गर्न सकेमा दीर्घकालीन अपाङ्गता र अन्य जटिलताहरूबाट बच्न सकिन्छ। युवा अवस्थामा देखिने थकानलाई केवल मानसिक समस्या मात्र नभनी कोषकीय ऊर्जाको अभावका रूपमा बुझ्नु पर्ने अनुसन्धानकर्ताहरूको सुझाव छ।
अध्ययनका मुख्य बुँदाहरू
- मस्तिष्कमा परिवर्तन: ७ टेस्ला एमआरआई प्रविधिको प्रयोग गर्दा डिप्रेसन भएका बिरामीको मस्तिष्कमा एटीपी उत्पादन गर्ने एन्जाइमको सक्रियता बढी देखियो।
- रगतमा संकेत: बिरामीहरूको रगतको कोषिका (पीबीएमसीज) मा पनि एटीपीको मात्रा उच्च पाइयो, जुन थकानको गम्भीरतासँग प्रत्यक्ष सम्बन्धित थियो।
- तनावमा कमजोरी: आराम गरिरहेको अवस्थामा ऊर्जा बढी देखिए तापनि, ‘माइटोकोन्ड्रियल स्ट्रेस’ को समयमा डिप्रेसन भएका व्यक्तिहरूको कोषले पर्याप्त ऊर्जा उत्पादन गर्न सकेनन्।

प्रतिक्रिया दिनुहोस