उमेर बढ्दै जाँदा स्तनको कोषिका र बनावटमा आउने परिवर्तनबारे नयाँ तथ्य सार्वजनिक


काठमाडौँ- मानव स्तन कोषिकामा उमेर सँगै आउने परिवर्तनका बारेमा एक विस्तृत अनुसन्धानले नयाँ र महत्वपूर्ण तथ्यहरू उजागर गरेको छ। प्रतिष्ठित वैज्ञानिक जर्नल ‘नेचर एजिङ’  मा प्रकाशित यो अनुसन्धानलाई 👉यहाँ क्लिक गरेर पढ्न सकिन्छ । 

‘सिंगल सेल स्पेशल एटलस अफ द एजिङ ह्युमन ब्रेस्ट’ शीर्षकको उक्त अनुसन्धानले उमेर बढ्दै जाँदा स्तनको आन्तरिक संरचना कसरी फेरिन्छ र त्यसले क्यान्सरको जोखिममा कस्तो प्रभाव पार्छ भन्ने तथ्यलाई स्पष्ट पारेको छ।

१५ देखि ८६ वर्ष उमेर समूहका ५२७ महिलाहरूको स्तन तन्तु (टिस्यु) बाट निकालिएका ३० लाख भन्दा बढी कोषिकाहरूको सूक्ष्म अध्ययन गरेर यो अनुसन्धान तयार पारिएको हो।

अध्ययनले उमेर बढ्दै जाँदा स्तनका कोषिकाहरूको घनत्व र तिनको सक्रियतामा उल्लेखनीय ह्रास आउने देखाएको छ।

कोषिकाको घनत्व र सक्रियतामा ह्रास

अनुसन्धानका अनुसार वृद्ध स्तन तन्तुहरूमा कोषिकाहरूको संख्या कम पाइएको छ। विशेष गरी नयाँ कोषिका बन्ने प्रक्रिया (प्रोलिफेरेशन) मा कमी आएको देखिएको छ। एपिथेलियल, स्ट्रोमल र इम्युन सबै प्रकारका कोषिकाहरूमा यो गिरावट देखिएको छ।

संरचनात्मक पुनर्संरचना र बोसोको वृद्धि

उमेर बढ्दै जाँदा स्तनको आन्तरिक बनावटमा ठूलो परिवर्तन आउने अनुसन्धानकर्ताहरूले बताएका छन। दूध उत्पादन गर्ने साना थैलीहरू (लोब्युल्स) को संख्या नाटकीय रूपमा घट्दै जाने र त्यसको सट्टा बोसोको मात्रा बढ्दै जाने अध्ययनमा उल्लेख छ। साथै, स्तनमा हुने रक्तनली र लिम्फ्याटिक नलीहरूको घनत्व पनि उमेर सँगै घट्दै जाने पाइएको छ।

हर्मोन रिसेप्टरमा वृद्धि

अनुसन्धानले उमेर बढ्दै जाँदा स्तनका एपिथेलियल कोषिकाहरूमा हर्मोन रिसेप्टरहरू (जस्तै: इआर, एआर, एफओएक्स१ र जिएटीए३) को मात्रा बिस्तारै बढ्दै जाने देखाएको छ। यसले पाका उमेरका महिलाहरूमा हुने स्तन क्यान्सर किन हर्मोन सँग बढी सम्बन्धित हुन्छन भन्ने बुझ्न वैज्ञानिकहरूलाई नयाँ आधार प्रदान गरेको छ।

प्रतिरक्षा प्रणालीमा परिवर्तन

युवा अवस्थाको स्तन तन्तुमा क्यान्सरसँग लड्ने ‘बी-कोषिका’ (बी सेल्स) हरू बढी सक्रिय हुन्छन्। तर, उमेर बढ्दै जाँदा स्तनको वातावरण बढी ‘इन्फ्लेमेटरी’ (सुन्निएको जस्तो) हुने र त्यहाँ रोग प्रतिरोधी क्षमतामा ह्रास आउने तथ्य पनि अनुसन्धानले देखाएको छ। वृद्ध तन्तुहरूमा ‘ एम२ म्याक्रोफेज’ र ‘ग्रान्जाइम बी+ टी-कोषिका’ हरूको संख्या बढ्ने उल्लेख छ।

रजोनिवृत्तिको प्रभाव

अध्ययनका अनुसार स्तनको कोषिकामा आउने यी परिवर्तनहरू ५० वर्षको आसपास (रजोनिवृत्तिको समय) मा सबै भन्दा तीव्र हुन्छन्। हर्मोनमा आउने उतार चढावले स्तनका कोषिकाहरूको आपसी सम्बन्ध र वातावरणलाई पूर्ण रूपमा बदलिदिने अनुसन्धानको निष्कर्ष छ।

यो अनुसन्धानले युवा र वृद्ध महिलाहरूमा हुने स्तन क्यान्सरको प्रकृति किन फरक हुन्छ भन्ने प्रश्नको उत्तर खोज्न मद्दत पुर्‍याएको छ। यो नयाँ ‘एटलस’ ले भविष्यमा स्तन क्यान्सरको प्रारम्भिक पहिचान र उमेर अनुसारको विशिष्ट उपचार पद्धति विकास गर्न कोशेढुङ्गा सावित हुने वैज्ञानिकहरूको विश्वास छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!