अध्ययन: पुरुष हर्मोन ‘एन्ड्रोजन’ को कमीले मस्तिष्कको ट्युमर तीव्र गतिमा फैलने पुष्टि


काठमाडौँ -‘मस्तिष्कको सबैभन्दा घातक क्यान्सर ‘ग्लायोब्लास्टोमा’ विरुद्धको लडाइँमा वैज्ञानिकहरूले एउटा आश्चर्यजनक तथ्य फेला पारेका छन। प्रतिष्ठित जर्नल ‘नेचर’ मा प्रकाशित पछिल्लो अनुसन्धानले पुरुष हर्मोन ‘एन्ड्रोजन’ को कमीले मस्तिष्कको ट्युमरलाई तीव्र गतिमा फैलाउन मद्दत गर्ने देखाएको छ, जसले अहिले सम्मको हर्मोन र क्यान्सर सम्बन्धी बुझाइलाई नै चुनौती दिएको छ।’

‘ग्लायोब्लास्टोमा’ (जिबीएम) र पुरुष हर्मोन ‘एन्ड्रोजन’ बीचको एउटा विशिष्ट सम्बन्ध पत्ता लगाईएको नेचर जर्नलमा प्रकाशित अनुसन्धानलाई 👉 यहाँ क्लिक गरेर पढ्न सकिन्छ । अनुसन्धानमा  शरीरमा एन्ड्रोजन हर्मोनको कमी भएमा मस्तिष्कको ट्युमर झन तीव्र गतिमा फैलिने र बिरामीको आयु घट्ने देखिएको छ।

यस अघि अन्य शारीरिक क्यान्सरहरूमा एन्ड्रोजनले ट्युमर बढाउन मद्दत गर्ने मानिन्थ्यो। तर, मस्तिष्कको सन्दर्भमा भने यो हर्मोनले ‘ट्युमर सप्रेसर’ अर्थात क्यान्सर नियन्त्रण गर्ने कारकका रूपमा काम गर्ने तथ्य पहिलो पटक बाहिर आएको हो।

हर्मोनको कमी र प्रतिरक्षा प्रणालीमा असर

अध्ययनका अनुसार, जब पुरुष शरीरमा एन्ड्रोजनको स्तर घट्छ, मस्तिष्कमा हुने ‘हाइपोथ्यालामस-पिट्युटरी-एड्रेनल’ (एचपीए) एक्सिस अत्यधिक सक्रिय हुन पुग्छ। यसको परिणाम स्वरुप शरीरमा ‘ग्लुकोकोर्टिकोइड्स’ जस्ता स्ट्रेस हर्मोनको मात्रा बढ्छ। यी हर्मोनले क्यान्सरका कोषसँग लड्ने ‘टि सेल’ (प्रतिरक्षा कोष) लाई निष्क्रिय बनाइदिन्छन, जसले गर्दा ट्युमरले सजिलै आफ्नो आकार बढाउन पाउँछ।

मुख्य खोजहरू

  • टेस्टोस्टेरोनको प्रभाव: ग्लायोब्लास्टोमा भएका पुरुष बिरामीहरूमा गरिएको विश्लेषणले के देखायो भने, नियमित उपचारका साथमा टेस्टोस्टेरोन हर्मोनको थप मात्रा (सप्लिमेन्ट) लिने बिरामीहरूको मृत्युको जोखिम ३८ प्रतिशतले कम रहन्छ।
  • अंग अनुसारको भिन्नता: यो प्रक्रिया केवल मस्तिष्कमा मात्र लागू हुन्छ। अनुसन्धानकर्ताहरूका अनुसार मस्तिष्क बाहिरका ट्युमरमा एन्ड्रोजनको कमीले सकारात्मक असर गरे पनि मस्तिष्क भित्र भने यसले सुरक्षात्मक भूमिका निर्वाह गर्छ ।
  • उमेर र जोखिम: ५० वर्षभन्दा माथिका पुरुषहरूमा टेस्टोस्टेरोनको मात्रा प्राकृतिक रूपमै कम हुँदै जाने भएकाले उनीहरूमा मस्तिष्कको क्यान्सर बढी घातक हुने गरेको पाइएको छ।

उपचारमा नयाँ आशा

अनुसन्धानले मस्तिष्कको आफ्नै विशिष्ट प्रतिरक्षा वातावरण हुने र त्यसमा हर्मोनको ठूलो भूमिका रहने प्रष्ट पारेको छ। यो खोजले आगामी दिनमा ग्लायोब्लास्टोमाको उपचारका लागि ‘इम्युनोथेरापी’ सँग सँगै हर्मोनल सन्तुलन मिलाउने नयाँ पद्धति विकास गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।

विशेषज्ञहरूका अनुसार, यो अध्ययनले क्यान्सरको उपचारमा लिङ्ग र उमेरका आधारमा व्यक्तिगत चिकित्सा पद्धति (पर्सनलाइज्ड मेडिसिन) अपनाउनु पर्ने आवश्यकतालाई झनै बलियो बनाएको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!