अनुसन्धान

वायु प्रदुषणले फोक्सोको धमनीमा रगत जम्ने (पल्मोनरी एम्बोलिज्म) जोखिम बढाउने: चीनमा गरिएको बृहत् अध्ययन


काठमाडौँ – वायु प्रदूषणको अल्पकालीन सम्पर्कले फोक्सोको धमनीमा रगत जम्ने वा थुनिने जोखिम (पल्मोनरी एम्बोलिज्म) उल्लेख्य रूपमा बढाउने एक नयाँ अध्ययनले देखाएको छ। चिनियाँ अनुसन्धानकर्ताहरूको सात वर्षे अध्ययनले यस्तो निष्कर्ष निकालेको हो ।

विशेष गरी पीएम २.५, पीएम १०  र नाइट्रोजन डाइअक्साइड (एनओ₂) जस्ता प्रदूषकहरू फोक्सोको स्वास्थ्यका लागि घातक देखिएका छन । ‘बीएमजे ओपन’ मा प्रकाशित यो अध्ययनलाई 👉 यहाँ क्लिक गरेर पढ्न सकिन्छ।

तथ्याङ्कमा जोखिमको मात्रा

अनुसन्धानका अनुसार वायु प्रदूषकको मात्रामा प्रति १० युनिट वृद्धि हुँदा पल्मोनरी एम्बोलिज्मको सापेक्षिक जोखिम (रिलेटिभ रिस्क) उल्लेख्य रूपमा बढ्ने देखिएको छ, जसमा पीएम २.५ को सम्पर्कमा आएको भोलिपल्ट १.०३३ जोखिम बढ्ने पाइएको छ। त्यसै गरी,  पीएम १०  र नाइट्रोजन डाइअक्साइड (एनओ₂) को सम्पर्क कै दिन सबै भन्दा बढी असर देखिने गरेको छ, जसको जोखिम दर क्रमशः १.०३८ र १.०३९ रहेको अध्ययनले पुष्टि गरेको छ।

अध्ययनले ओजोन (ओ₃), कार्बन मोनोअक्साइड (सिओ) र सल्फर डाइअक्साइड (एसओ₂) को सम्पर्क र पल्मोनरी एम्बोलिज्म बीच भने ठोस सम्बन्ध फेला पारेन।

वायु प्रदूषणले कसरी असर गर्छ?

प्रदूषित हावामा हुने मसिना कणहरू (पीएम २.५) श्वासप्रश्वासको माध्यमबाट रगत सम्म पुग्छन। यसले रगतमा ‘प्लेटलेट्स’ लाई सक्रिय बनाउने र रगत जम्ने प्रक्रियालाई तीव्र पार्ने काम गर्छ। विशेष गरी चिसो मौसममा वायुमण्डलको तल्लो तहमा प्रदूषकहरू गुम्सिएर बस्ने हुनाले जाडोमा यसको जोखिम झनै बढी हुन्छ।

पल्मोनरी एम्बोलिज्म के हो?

यो एक गम्भीर अवस्था हो जसमा शरीरको अन्य भाग (प्रायः खुट्टा) मा जमेको रगतको ढिक्का उप्किएर फोक्सोको धमनीमा पुग्छ र अवरोध सिर्जना गर्छ। यसले गर्दा फोक्सोमा क्षति पुग्ने, रगतमा अक्सिजनको कमी हुने र समयमै उपचार नपाए मृत्यु समेत हुन सक्छ।

अध्ययनको महत्त्व र सीमितता

यो चीनमा हालसम्म गरिएको यस प्रकारको सबै भन्दा ठूलो र लामो अवधिको अध्ययन हो। यद्यपि, अनुसन्धानकर्ताहरूले केही सीमितताहरू पनि औंल्याएका छन। यो अध्ययन अस्पतालमा भर्ना भएका बिरामीहरूको तथ्याङ्कमा आधारित छ र यसमा व्यक्तिगत जीवनशैली (धुम्रपान, मोटोपना, वा घरभित्रको प्रदूषण) लाई पूर्ण रूपमा समावेश गरिएको छैन।

यस अध्ययनले वायु प्रदूषण नियन्त्रणका लागि विश्वव्यापी रूपमै कडा नीतिहरू आवश्यक रहेको र जनस्वास्थ्यको रक्षाका लागि प्रदूषण कम गर्नु अनिवार्य भएको सन्देश दिएको छ।

अध्ययनका मुख्य निष्कर्षहरू

चाइनिज कार्डियोभास्कुलर एसोसिएसन (सिसीए) को तथ्याङ्कका आधारमा सन २०१५ देखि २०२२ सम्म चीनका २७५ सहरका २७,३६९ बिरामीहरूमा गरिएको यो अध्ययनले निम्न तथ्यहरू बाहिर ल्याएको छ ।

  • प्रदूषक र जोखिम: वायुमा  पीएम २.५, पीएम १०, र एनओ₂ को मात्रा बढ्दा पल्मोनरी एम्बोलिज्मको जोखिम पनि बढछ।
  • अल्पकालीन असर: प्रदूषित हावाको सम्पर्कमा आएको पहिलो दिन र दोस्रो दिनमा यो जोखिम सबै भन्दा उच्च रहने पाइएको छ।
  • लिंग र क्षेत्र: अध्ययनका अनुसार पुरुषको तुलनामा महिलाहरू वायु प्रदूषणबाट बढी प्रभावित हुने र उनीहरूमा यो रोग लाग्ने सम्भावना बढी हुन्छ।
  • ऋतु र भूगोल: जाडो मौसममा र चीनको उत्तरी भागमा बसोबास गर्ने मानिसहरूमा पीएम २.५ र पीएम १० को असर बढी देखिएको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!