फार्मेसी सहायकको आवेदन म्याद माघ २० सम्म, नाम दर्ता परीक्षा कम्प्युटरबाट र लगबुक व्यवस्था लागू
काठमाडौं – नेपाल फार्मेसी परिषद्ले डिप्लोमा इन फार्मेसी (फार्मेसी सहायक) तहको ३० औं नाम दर्ता परीक्षाका लागि आवेदन फारम भर्ने म्याद थप गरेको छ।
परिषद्को २०८२ पुस २५ गते बसेको बोर्ड बैठकको निर्णय अनुसार यस अघि माघ ५ गते सम्म कायम गरिएको आवेदन म्याद माघ २० गते मध्य रात्री १२ बजे सम्मका लागि बढाइएको हो।
सिटीइभिटी ले डिप्लोमा इन फार्मेसी तेस्रो वर्षको नतिजा पुस २४ गते सार्वजनिक गरे पछि नयाँ उत्तीर्ण विद्यार्थीलाई पनि समेट्ने उद्देश्यले म्याद थप गरिएको परिषद का रजिस्ट्रार सञ्जीव कुमार पाण्डेले बताए । बीफार्मेसी (फार्मासिष्ट) तहको नाम दर्ता परीक्षाको आवेदन म्याद तथा परीक्षा तालिकामा भने कुनै परिवर्तन गरिएको छैन।
यस्तै परिषद्ले नाम दर्ता परीक्षा अब कम्प्युटर प्रणाली मार्फत सञ्चालन गर्ने निर्णय गरेको छ। सो परीक्षा बहु केन्द्र तथा प्रादेशिक स्तरमा सञ्चालन गर्न सकिने सम्भाव्यता बारे अध्ययन गर्ने निर्णय पनि बोर्ड बैठकले गरेको पाण्डेले उल्लेख गरे।
त्यसै गरी, डिप्लोमा इन फार्मेसी तहका परीक्षार्थीका लागि परिषदले जारी गरेको प्रयोगात्मक गतिविधिको लगबुक प्रयोग सम्बन्धी व्यवस्था स्पष्ट पारेको छ। आगामी सत्र देखि आवेदन दिने उम्मेदवारले परिषद्द्वारा जारी लगबुक अनुसारका कागजात अनिवार्य रूपमा पेश गर्नु पर्नेछ। हालका लागि भने सम्बन्धित बोर्ड, विश्वविद्यालय वा प्रतिष्ठानले पाठ्यक्रम अनुसार तोकेको ‘प्रोफेसनल फिल्ड प्राक्टिस’ पूरा गरेको प्रमाण पेश गर्नुपर्ने व्यवस्था यथावत् रहने परिषद्ले जनाएको छ।


प्रतिक्रिया दिनुहोस