मुटुका बिरामीका लागि राहत: खराब कोलेस्ट्रोल घटाउने पहिलो खाने चक्की ‘लिपफेन्ड्रा’लाई एफडीएको स्वीकृति


काठमाडौँ- उच्च कोलेस्ट्रोलका कारण हृदयाघात र मस्तिष्कघातको जोखिम झेलिरहेका बिरामीका लागि खुसीको खबर आएको छ। अमेरिकी फुड एन्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) ले शरीरमा ‘खराब’ कोलेस्ट्रोल (एलडीएल-सी) उल्लेख्य रूपमा घटाउने पहिलो मुखबाट खाने (ओरल) चक्की ‘लिपफेन्ड्रा’ लाई स्वीकृति दिएको छ। हाल सम्म सुई (इन्जेक्सन) बाट मात्र उपलब्ध हुँदै आएको यो प्रविधिको औषधि अब दिनमा एउटा चक्की खाएर नै कोलेस्ट्रोल ५९ प्रतिशत सम्म नियन्त्रण गर्न सकिने भएको छ।

एफडीए ले उच्च कोलेस्ट्रोल (हाइपरकोलेस्ट्रोलेमिया) भएका वयस्कमा ‘खराब’ कोलेस्ट्रोल (एलडीएल-सी) घटाउन प्रयोग हुने पहिलो मुखबाट खाने पीसीएसके–९ अवरोधक (इनहिबिटर) औषधि लिपफेन्ड्रा (एनलिसिटाइड) लाई स्वीकृति दिएको हो। यो औषधिले आहार, नियमित व्यायाम तथा अन्य औषधि प्रयोग गर्दा पनि पर्याप्त रूपमा कोलेस्ट्रोल नियन्त्रण नभएका बिरामीका लागि नयाँ उपचार विकल्प उपलब्ध गराउने एफडीएले जनाएको छ।

एफडीए द्वारा जारी प्रेस विज्ञप्तिको अनुसार यो औषधि साधारण उच्च कोलेस्ट्रोल भएका वयस्कका साथै हेटेरोजाइगस फेमिलियल हाइपरकोलेस्ट्रोलेमिया (एचईएफएच) जस्तो वंशाणुगत रूपमा उच्च कोलेस्ट्रोल हुने बिरामीका लागि पनि स्वीकृत गरिएको हो।

हाल सम्म पीसीएसके–९ अवरोधक औषधिहरू सुई मार्फत (इन्जेक्सन) मात्र उपलब्ध थिए। लिपफेन्ड्रा भने दिनमा एक पटक खाने ट्याब्लेटका रूपमा उपलब्ध हुने पहिलो यस्तो औषधि हो। यसले कोलेस्ट्रोल नियन्त्रणका लागि थप सहज र प्रभावकारी उपचार विकल्प प्रदान गर्ने अपेक्षा गरिएको छ।

एफडीएको सेन्टर फर ड्रग इभालुएसन एन्ड रिसर्च का कार्यवाहक निर्देशक डा. माइकल डेभिसले मुटु तथा रक्तनली सम्बन्धी रोग अमेरिकामा मृत्युको प्रमुख कारण रहेको र उच्च एलडीएल कोलेस्ट्रोल त्यसको सबै भन्दा महत्त्वपूर्ण नियन्त्रण योग्य जोखिम कारक मध्ये एक भएको बताए। उनका अनुसार बढेको एलडीएल कोलेस्ट्रोलका कारण धमनीको भित्तामा बोसो जम्दै जान्छ, जसले रक्तनली साँघुरो बनाउँछ। त्यस्ता बोसोका तह फुटेमा रगत जमेर हृदयाघात वा मस्तिष्कघात (स्ट्रोक) हुन सक्छ।

उच्च कोलेस्ट्रोलमा सामान्यतया कुनै लक्षण नदेखिने भएकाले धेरै व्यक्तिमा नियमित रक्त परीक्षण पछि मात्र यसको पहिचान हुने गर्छ। अस्वस्थ आहार, शारीरिक निष्क्रियता, अधिक तौल तथा वंशाणुगत कारणले कोलेस्ट्रोल बढ्न सक्छ।

अहिले सम्म एलडीएल-सी घटाउन स्टाटिन, इजेटिमाइब तथा इन्जेक्सन मार्फत दिइने पीसीएसके–९ अवरोधक औषधिहरू प्रयोग हुँदै आएका छन। लिपफेन्ड्रा भने पीसीएसके–९ लाई लक्षित गर्ने पहिलो मुखबाट खाने औषधि बनेको एफडीएले जनाएको छ।

यस औषधिको प्रभावकारिता र सुरक्षाको मूल्याङ्कन ३२०७ जना वयस्क सहभागी भएका दुईवटा अनियमित, डबल–ब्लाइन्ड र प्लेसिबो- नियन्त्रित क्लिनिकल परीक्षण मार्फत गरिएको थियो। सबै सहभागीले आफूले सहन सक्ने अधिकतम मात्राको स्टाटिन उपचार लिइरहेका थिए।

पहिलो अध्ययनमा एथेरोस्क्लेरोटिक हृदय तथा रक्तनली सम्बन्धी रोग (एएससीभीडी) भएका वा त्यसको उच्च जोखिम भएका बिरामी सहभागी थिए। दोस्रो अध्ययनमा एचईएफएच भएका बिरामी समावेश गरिएको थियो। दुवै अध्ययनमा २४ साता पछि लिपफेन्ड्राले प्लेसिबोको तुलनामा एलडीएल-सी ५६ देखि ५९ प्रतिशत सम्म घटाएको देखिएको थियो।

सुरक्षाको दृष्टिले पहिलो अध्ययनमा लिपफेन्ड्रा र प्लेसिबो समूह बीच प्रतिकूल असरको दर लगभग समान थियो। दोस्रो अध्ययनमा भने लिपफेन्ड्रा सेवन गर्नेमा पखाला र चक्कर लाग्ने समस्या केही बढी देखिएको थियो। यद्यपि, समग्रमा यो औषधि सुरक्षित र प्रभावकारी रहेको तथा प्रतिकूल असरका कारण उपचार रोक्नु पर्ने दर दुवै समूहमा लगभग समान रहेको एफडीएले जनाएको छ।

एफडीएले यस औषधिलाई प्रायोरिटी रिभ्यु अन्तर्गत द्रुत प्रक्रियाबाट मूल्याङ्कन गरेको थियो। साथै सार्वजनिक स्वास्थ्यका प्राथमिकता सँग सम्बन्धित उपचारको समीक्षा छिटो सम्पन्न गराउने कमिस्नरको नेसनल प्रायोरिटी भाउचर पाइलट कार्यक्रमअन्तर्गत पनि समीक्षा गरिएको थियो।लिपफेन्ड्रा मर्क शार्प एन्ड डोम एलएलसी ले विकास गरेको औषधि हो।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!