लुम्बिनी प्रदेशमै पहिलो पटक दुई मिर्गौला प्रत्यारोपण / राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहकार्यमा राजधानी बाहिर १८ वटा प्रत्यारोपण


नेपालगन्ज – लुम्बिनी प्रदेशमै पहिलो पटक भेरी अस्पतालमा दुई जनाको गरी मिर्गौला प्रत्यारोपण सेवा सुरु भएको छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको सहकार्यमा मंगलबार देखि उक्त सेवा अस्पतालमा सुरु भए पछि हाल सम्म राजधानी बाहिर यस्तै सहकार्य अन्तर्गत पोखरा, सुर्खेत र नेपालगञ्जका सरकारी स्वास्थ्य निकायमा गरी १८ वटा मृगौला प्रत्यारोपण भइसकेको छ।

भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.निराजन सुवेदीले राष्ट्रिय प्रत्यारोपण केन्द्रका प्रमुख एवं मृगौला र कलेजो प्रत्यारोपण विज्ञ डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा भेरी अस्पतालका चिकित्सक लगायतका स्वास्थ्यकर्मीको सहभागितामा मंगलबार दुई जना बिरामीको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण गरिएको बताए ।

गत मंगलबार बाँसगढी नगरपालिका वडा नम्बर ८ बर्दियाका ३७ वर्षीय पुरुष र औरही नगरपालिका २ महोत्तरीका ४० वर्षीय पुरुषलाई सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको हो । दुवैजना बिरामीलाई उनीहरुका श्रीमतीले मिर्गौला दान गरेका थिए ।

राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट आएका डा. पुकारको टोली सहित भेरी अस्पतालका मिर्गौला रोग विशेषज्ञ शल्य चिकित्सक डा. दीपेश गुप्ता र युरो सर्जन डा. अञ्जित फुयााल सहितको विशेषज्ञ चिकित्सकको टिमले मिर्गौला प्रत्यारोपण गरेको हो ।

त्यसै गरी, नेफ्रोलोजी तर्फ डा. सौरभ हमाल र डा. पारस श्रेष्ठस सहितको मुटु रोग विशेषज्ञ, रेडियोलोजिष्ट जस्ता विशेषज्ञ चिकित्सकको आवश्यक जनशक्ति पनि साथमै रहेको डा.सुवेदीले बताए ।

‘राष्ट्रिय प्रत्यारोपण केन्द्र सँग थप चार पाँचवटा प्रत्यारोपणमा प्रत्यक्ष सहकार्य गरेपछि हामी आफैँ मृगौला प्रत्यारोपण गर्न सक्ने स्थितिमा पुग्न सक्छौँ’, डा. सुवेदीले भने – ‘स्रोत साधन सुनिश्चितता भयो भने नियमित प्रत्यारोपण गर्न सकिन्छ।’

हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान,  पश्चिमाञ्चल क्षेत्रीय अस्पताल मृगौला प्रत्यारोपणमा आत्मनिर्भरताको स्थितिमा रहेको डा. पुकार बताउँछन्। उक्त अस्पतालमा राष्ट्र प्रत्यारोपण केन्द्रको समन्वय र सहकार्य अन्तर्गत डा.पुकारको नेतृत्वमा हालसम्म १० वटा मृगौला प्रत्यारोपण गरिएको छ।

डा. पुकार मुलुकमै सबैभन्दा बढी मृगौला र कलेजो प्रत्यारोपण गर्ने शल्य चिकित्सक हुन् । उनको  नेतृत्वमा १५०० मृगौला र ३२ वटा कलेजो प्रत्यारोपण भइसकेको छ ।

भेरी अस्पताल नेपालगञ्जमा हाल भएको दुई प्रत्यारोपण र थप केही प्रत्यारोपणमा सहकार्य गरेपछि आत्मनिर्भर हुने अपेक्षा गरिएको डा.पुकारले बताए ।

यस्तै कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा हाल सम्म राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहकार्यमा ६ वटा मृगौला प्रत्यारोपण भइसकेको छ। प्रादेशिक अस्पतालको जनशक्ति सुदृढीकरणको लागि अस्पतालका वरिष्ठ चिकित्सकलाई प्रत्यारोपण केन्द्रमा प्रत्यारोपण सम्बन्धी फेलोसिप तालिम दिइराखेको छ। प्रादेशिक अस्पताल सुर्खेत अबको ८ महिना पछि आत्मनिर्भरताको बाटोमा जाने डा. पुकार बताउँछन्।

‘राजधानी बाहिर पोखरा सुर्खेत र नेपालगञ्जका सरकारी अस्पतालहरूमा सहकार्य गरेर १८ वटा प्रत्यारोपण भइसकेको छ’, डा. पुकारको अनुसार सुदूरपश्चिम प्रदेशको धनगढीमा, मधेस प्रदेशको बीरगञ्जमा र कोशी प्रदेशको विराटनगरमा मृगौला प्रत्यारोपण गर्ने सम्झौता भएको छ। यस अन्तर्गत जनशक्ति तालिम एवं सहकार्य गर्ने तयारी सुरु गरिएको छ ।

आफ्नो एक इन्च जग्गा र उपयुक्त भवन नभएको भक्तपुर स्थित राष्ट्रिय प्रत्यारोपण केन्द्र ले मानव अङ्ग प्रत्यारोपण जस्तो गहन विषयमा अधिकतम सेवा दिँदै आएको छ । यसको भौतिक पूर्वाधार जनशक्ति विकासमा स्वास्थ्य मन्त्रालय सकारात्मक भए पनि  सरकार उदासीन रहेको आरोप स्थानीय बासिन्दाहरुले लगाउँदै आएका छन्।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!