अब धनगढीमा पनि मृगौला प्रत्यारोपण

‘हामी सबै अलि मिहिनेत साथ अगाडि बढ्यौ भने छिट्टै सुदूर पश्चिम वासीलाई मृगौला प्रत्यारोपण र डायलासिसको लागि काठमाडौं धाउनु पर्ने वाध्यता अन्त हुने छ । हाम्रो एक मात्र लक्ष्य प्रत्यारोपण सेवा लगायतका विशिष्ट स्वास्थ्य सुविधालाइ राजधानी मै सीमित नगरी हरेक प्रदेशमा सबैको सहज पहुँचमा हुने गरी विस्तार गर्नु हो’ : डा.पुकार चन्द्र श्रेष्ठ, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक एवं बरिष्ठ मृगौला तथा कलेजो प्रत्यारोपण शल्यचिकित्सक


काठमाडौं –सेती प्रादेशिक अस्पताल, धनगढी, कैलालीले यसै वर्ष देखी मृगौला प्रत्यारोपण सेवा शुरु गर्ने भएको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र सेती प्रादेशिक अस्पताल धनगढी बिच अंग प्रत्यारोपण र डाइलाइसिस सेवा विस्तारको लागि सहकार्य गर्ने समझदारी पत्रमा आइतबार हस्ताक्षर भएको हो ।

यस अघि राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहयोग र सहकार्यमा पोखरामा मृगौला प्रत्यारोपण सेवा शुरु भइ सकेको छ । पछिल्लो केहि दिनमा पोखरामा ३ जनाको मृगौला प्रत्यारोपण समेत भइ सकेको छ ।

राष्ट्रिय प्रत्यारोपण केन्द्र ले प्रत्यारोपण सेवाको सातै प्रदेशमा विस्तार गर्ने योजना अन्तर्गत सुदूर पश्चिम प्रदेशको सेती प्रादेशिक अस्पताल संग मृगौला प्रत्यारोपणमा सहकार्य गर्ने सहमति गरेको हो ।

सेती अस्पतालको तर्फ वाट निर्देशक डा.हेमराज पाण्डे र राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक एवं बरिष्ठ मृगौला तथा कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा.पुकार चन्द्र श्रेष्ठले उक्त समझदारी पत्रमा आइतबार एक समारोह बिच हस्ताक्षर गरेका हुन ।

सेती अस्पतालका स्वास्थ्यकर्मीहरूलाई राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा मृगौला प्रत्यारोपण फेलोसिप एम.सि.एच. युरोलोजी , डि.एम. नेफ्रोलोजि , नर्सिङ विषयको स्नातक तथा स्नातकोत्तर तह लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक गृहकार्य गर्ने सहमति समेत भएको हो ।

समझदारी भए लगत्तै आइतबार राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा.श्रेष्ठले प्रत्यारोपणको पुर्व तयारी लगायतका कार्यक्रमको लागि सेती प्रादेशिक अस्पतालको संरचना, विभिन्न विभाग, शल्यक्रिया, आइसीयु सेवा लगायतका भ्रमण गरेर जानकारी समेत लिएका छन ।

‘हामी सबै अलि मिहिनेत साथ अगाडि बढ्यौ भने छिट्टै सुदूर पश्चिम वासीलाई मृगौला प्रत्यारोपण र डायलासिसको लागि काठमाडौं धाउनु पर्ने वाध्यता अन्त हुने छ’, डा.श्रेष्ठले पत्रकारहरु संग भने–‘हाम्रो एक मात्र लक्ष्य प्रत्यारोपण सेवा लगायतका विशिष्ट स्वास्थ्य सुविधालाइ राजधानी मै सीमित नगरी हरेक प्रदेशमा सबैको सहज पहुँचमा हुने गरी विस्तार गर्नु हो ।’


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!