तपाईँको एक निर्णयले कसैको संसार ब्युँतिन सक्छ: मृत्युपछि पनि जीवित रहने अङ्गदान
कल्पना गर्नुस, एउटा अस्पतालको कोठामा आमा आफ्नो छोराको जीवन बचाउने आशामा रातभर निदाएकी छैनन्। अर्कोतिर कोही नयाँ मिर्गौला र कलेजोको प्रतीक्षामा जीवन र मरणको दोसाँधमा छन्। उनीहरूको यो छटपटी र प्रतीक्षा केवल एक जना उदार मनको निर्णयमा टिकेको छ, जसले मृत्युपछि पनि कसैलाई जीवन बाँड्ने संकल्प गरोस। मृत्यु अपरिहार्य सत्य हो, तर यदि हामीले चाह्यौं भने हाम्रो जीवनको अन्तिम अध्याय नै कसैको नयाँ जीवनको सुखद सुरुआत बन्न सक्छ।
नेपालमा मस्तिष्क मृत्यु भएका नौ जना व्यक्तिको अङ्गदानबाट १८ जनाले मृगौला र ६ जनाले कलेजो प्रत्यारोपण गराएर नयाँ जीवन पाइसकेका छन । यो तथ्यले एउटा सन्देश दिन्छ, मृत्यु अन्त्य होइन, जीवन बाँड्ने अवसर पनि हुन सक्छ।
यति मात्र नभई हालसम्म सहित धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा हाल सम्म १६६४ मृगौला प्रत्यारोपण गरिएको छ। यो वर्ष हाल सम्म १९८ मृगौला प्रत्यारोपण गरिएको छ । स्मरण रहोस आर्थिक वर्ष २०८३ मा २०० मिर्गौला प्रत्यारोपणको लक्ष्य रहेको छ। असारको अन्तसम्म यो लक्ष्य पूरा भइ सक्नेछ।
यस्तै केन्द्रमा हालसम्म ३७ जनामा कलेजो प्रत्यारोपण भइसकेको छ। यो वर्ष समेत तीनवटा कलेजो प्रत्यारोपण भएको हो। उपत्यका बाहिर सुर्खेतमा समेत प्रत्यारोपण केन्द्रको सहकार्यमा एउटा मृगौला प्रत्यारोपण गरिएको छ।
मस्तिष्क मृत्यु भनेको के हो?
अमेरिकन एकेडेमी अफ न्युरोलोजीका अनुसार मस्तिष्क मृत्यु भनेको मस्तिष्क र ब्रेन स्टेमको सम्पूर्ण तथा स्थायी रूपमा काम गर्न बन्द हुनु हो। यसलाई कानुनी रूपमा मृत्यु मानिन्छ।
यस्तो अवस्थामा भेन्टिलेटरको सहायताले केही समय सम्म मुटुको धड्कन र रक्तसञ्चार कायम राख्न सकिन्छ। यही अवधिमा प्रत्यारोपणका लागि आवश्यक अङ्ग सुरक्षित रूपमा निकाल्न सकिन्छ।
हजारौं सम्भावित दाता, तर किन यति थोरै अङ्गदान?
नेपालमा हरेक वर्ष करिब ३ हजार व्यक्तिको मस्तिष्क मृत्यु हुने अनुमान छ। तर शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा अङ्गदानका लागि वर्ष भरि जम्मा १५ देखि १६ वटा मात्र सूचना आउने गरेको छ।
अर्कोतर्फ, प्रत्यारोपण केन्द्रमा अहिले १३०४ जना मिर्गौला र ९८ जना कलेजो प्रत्यारोपणको प्रतीक्षामा छन । उनीहरूका लागि समय नै सबैभन्दा ठूलो चुनौती हो। यदि अङ्गदानको संस्कार विकास गर्न सकियो भने, धेरै जीवन बचाउन सकिन्छ।
एउटा दाताले कति जनालाई जीवन दिन सक्छ?
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. कल्पना श्रेष्ठका अनुसार एक जना मस्तिष्क मृतक दाताबाट आठ जनाभन्दा बढी व्यक्तिको जीवन बचाउन सकिन्छ। उनको अनुसार यदि मस्तिष्क मृत्यु पछिको अङ्गदानले गति लियो भने मुलुकमा जीवितदाता बाट अङ्ग दान गरिने प्रक्रियामा धेरै कमी आउन सक्छ र थुप्रै ज्यान जोगाउन सकिन्छ।
दान गर्न सकिने अङ्गहरूमा मिर्गौला, कलेजो, मुटु, फोक्सो, आँखा, छाला, हड्डी लगायतका अङ्ग पर्छन।
अङ्गदान गर्ने परिवारलाई सरकारी सहयोग
मस्तिष्क मृत्युपछि अङ्गदान गर्ने व्यक्तिका परिवारलाई शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमार्फत २ लाख रुपैयाँ प्रोत्साहन सहयोग उपलब्ध गराइन्छ। अङ्गदान प्रक्रियामा सहकार्य गर्ने अस्पताललाई ७५ हजार रुपैयाँ प्रदान गरिन्छ।
जीवित अवस्थामा पनि अङ्गदान सम्भव
अङ्गदान केवल मृत्युपछि मात्र होइन। स्वस्थ व्यक्तिले आफ्नो एउटा मिर्गौला वा कलेजोको केही भाग दान गर्न सक्छन।
त्यस्तै, आफू जीवित रहँदै मस्तिष्क मृत्यु भएमा अङ्गदान गर्ने इच्छा पनि अभिलेख गराउन सकिन्छ। यसका लागि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा सम्पर्क गर्न वा केन्द्रको वेब पोर्टल मार्फत जानकारी लिन सकिन्छ।
मस्तिष्क मृत्यु भइसकेपछि परिवार वा सम्बन्धित अस्पतालले अङ्गदान सम्बन्धी जानकारीका लागि प्रत्यारोपण केन्द्रको ९८२३५८१७१४ नम्बरमा सम्पर्क गर्न सक्छन ।
अङ्गदान किन हुन सकेको छैन?
नेपालमा अङ्गदानको सम्भावना ठूलो भए पनि केही कारणले अङ्गहरू प्रयोग हुन नपाई नष्ट भइरहेका छन।
• आईसीयू भएका अस्पतालमा समन्वय प्रणाली कमजोर हुनु
• चिकित्सक र परिवारमा पर्याप्त जानकारी नहुनु
• धार्मिक तथा सामाजिक भ्रम कायम रहनु
• अङ्ग निकालेपछि शरीर बिग्रिन्छ भन्ने गलत धारणा फैलिनु
चेतना बढेमा हजारौं जीवन बच्न सक्छ
नेपालमा मस्तिष्क मृत्युपछिको अङ्गदान दर ०.०१ प्रतिशत भन्दा पनि कम छ। विकसित मुलुकहरूमा यही दर ७० देखि ८० प्रतिशत सम्म पुगेको छ। यसले देखाउँछ, समस्या सम्भावनाको होइन, चेतनाको हो।
आजै परिवारसँग एउटा कुरा गरौं
अङ्गदान गर्ने निर्णय अन्तिम समयमा होइन, जीवनमै गर्नुपर्छ। त्यसैले,
• अङ्गदानबारे सही जानकारी लिऔं।
• परिवारसँग आफ्नो इच्छा खुला रूपमा साझा गरौं।
• दाताका रूपमा दर्ता गरौं।
• समाजमा रहेका भ्रम हटाउन भूमिका खेलौं।
अन्तिम सन्देश
तपाईंले छाडेर जाने अङ्गले एउटा परिवारलाई फेरि मुस्कान फर्काउन सक्छ। जीवनको सबै भन्दा ठूलो उपहार सम्पत्ति होइन, जीवन नै हो। र त्यो उपहार मृत्यु पछि पनि दिन सकिन्छ। अङ्गदान गरौं। मृत्युलाई अन्त्य होइन, अर्को जीवनको सुरुआत बनाऔं।एडभर्टोरियल

प्रतिक्रिया दिनुहोस