विश्व आत्महत्या रोकथाम दिवस

बेलैमा ध्यान दिए, धेरैजसो आत्महत्या रोक्न सकिन्छ


काठमाडौं– नेपालमा दिनहुँ २० जनाले आत्महत्या गर्ने र यस भन्दा धेरै बढीले प्रयास गर्ने गरे पनि समय मै ध्यान दिए अधिकांश आत्महत्या रोक्न सकिने विज्ञहरूले बताउँछन् ।

नेपाल प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०–८१ मा ७,१९४ जनाले आत्महत्या गरेका छन् । पछिल्लो १० वर्षमा वर्षेनी आत्महत्या हुने सङ्ख्या झन्डै दोब्बर भएको छ ।

‘मुलुकमा हुने कुल आत्महत्याको ६५ प्रतिशत मानसिक समस्याले गर्दा हुने गरेको छ’, नेपाल प्रहरीको आत्महत्या न्यूनिकरण तथा व्यवस्थापन सम्बन्धी अध्ययन २०८१ को तथ्याङ्क लाई औँल्याउँदै नेपाल प्रहरी अस्पतालका मनोचिकित्सक डा.आशिष दत्तले नेपालहेल्थप्रेससंग भने–‘वर्षेनी आत्महत्या गर्ने झन्डै दुई तिहाइ मानसिक समस्या भएका हरू मध्ये ३८.८० प्रतिशतमा मानसिक रोग र २७.८० प्रतिशत मानसिक तनावमा रहेका हरू छन् । मानसिक समस्या भएकाहरूले आफ्नो तनावलाई व्यवस्थित गर्न नसकेर आत्महत्या गर्ने गरेका हुन ।’ प्रहरीले उक्त अध्ययनमा विगत पाँच आर्थिक वर्षमा मुलुकमा भएको आत्महत्या हरू लाई समावेश गरेर गरेको हो ।

आत्महत्या र मानसिक समस्या बीच सम्बन्ध देखिएको छ । विश्व स्वास्थ्य सङ्गठन (डव्लुएचओ)को अनुसार मानसिक समस्या अन्तर्गत मुख्य रुपमा उदासी रोग (डिप्रेसन), मदिराको अम्मल प्रमुख रहेको हो । विश्वव्यापी रूपमा करिब ३० करोड व्यक्ति डिप्रेसनले प्रभावित रहेको डब्लुएचओले जनाएको छ ।

विगतमा आत्महत्याको प्रयास गरेको मानिसहरूले आत्महत्या दोहोर्याउने सम्भावना अन्य व्यक्तिहरूको तुलनामा धेरै हुन्छ । साथै लगातार जीवन प्रति नैराश्यता अनुभव गर्ने मानिसहरू र युद्ध, हिंसा, आघात जन्य घटना, लाञ्छना वा भेदभाव अनुभव गरेको व्यक्तिहरूमा आत्महत्या गर्ने सम्भावना बढि रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा का निर्देशक डा.यदुचन्द्र घिमिरे बताउँछन् ।

डब्लुएचओको अनुसार संसार भरमा वर्षेनी ७ लाख व्यक्तिले आत्महत्या गर्छन् । यसरी गत आर्थिक वर्षको मुलुकको तथ्याङ्क अनुसार विश्वमा हुने कुल आत्महत्याको १.०२ प्रतिशत नेपालमा भएको छ ।

नेपाल जस्तो सानो, शान्तिपूर्ण मुलुकको लागि आत्महत्याको यो सङ्ख्या धेरै विकराल हो र वर्षेनी यसमा वृद्धि देखिनु झन् बढी डर लाग्दो रहेको डा.दत्त बताउँछन् ।

समयमै मानसिक समस्या पहिचान र उचित उपचार प्रकृयाले अधिकांश आत्महत्या रोक्न सकिने औँल्याउँदै डा.दत्त भन्छन–‘आत्महत्या गर्ने धेरै जसोले आफ्नो छर छिमेकी आफन्त साथी भाइ आदिलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपले सङ्केत गरि सकेका हुन्छन्, हामीले त्यसलाई गम्भीरतापूर्वक लिएर समयमै समस्या पहिचान गरेर उपचार प्रकृयामा लग्नु पर्छ ।’

कम पढे लेखेकामा बढी आत्महत्या

मुलुकमा कम पढेका अर्थात् साधारण लेख पढ गर्नेहरु बढी आत्महत्या गरिरहेका छन् । पढे लेखेका हरको दाजोमा आत्महत्या गर्ने झन्डै दुई तिहाइ (६३.०१ प्रतिशत) साधारण लेखपढ गर्न जानेका हरू हुन । नेपाल प्रहरीको आत्महत्या न्यूनिकरण तथा व्यवस्थापन सम्बन्धी अध्ययन २०८१ अनुसार न्यून शैक्षिक आधार समेत आत्महत्या लाई प्रभावित गर्छ ।

अध्ययन अनुसार शैक्षिक स्तरको आधारमा आत्महत्याको अवस्था हेर्दा आधारभूत अध्ययन गरेका २.८ प्रतिशत, निम्न माध्यमिक ६.७ प्रतिशत, माध्यमिक १३ प्रतिशत, उच्च माध्यमिक ५.१ प्रतिशत, स्नातक ९ प्रतिशत र स्नातकोत्तर गरेका आत्महत्या गर्ने ०.४ प्रतिशत छन् ।

नेपालमा आत्महत्याको कारक तत्व

प्रहरीको आत्महत्या न्यूनिकरण तथा व्यवस्थापन सम्बन्धी अध्ययन अनुसार नेपालमा आत्महत्या गर्नु को कारक तत्व मा मानसिक समस्याले गर्दा ६५ प्रतिशत आत्महत्या हुने गरेको छ ।

यस पछि प्रेममा असफलताले ८.२० प्रतिशत, आर्थिक समस्याले ८ प्रतिशत, दीर्घ रोगले ७.५० प्रतिशत आत्महत्या हुने गरेको हो । यस्तै लागु पदार्थ सेवनको प्रभावले ४.७० प्रतिशत, मादक पदार्थ सेवन को प्रभावले २.८० प्रतिशत, शारीरिक अपाङ्गता ०.०४ प्रतिशत, अनैतिक सम्बन्धले ०.६० प्रतिशत, र बेरोजगारी ले ०.२० प्रतिशत आत्महत्या हुने गरेको छ ।

१८ देखी २५ वर्षकामा सबै भन्दा बढी आत्महत्या

नेपाल प्रहरीको अध्ययन अनुसार नेपालमा हुने कुल आत्महत्याको सबै भन्दा बढी अर्थात् २१ प्रतिशत १८ देखी २५ वर्ष उमेर समूहका छन् । यस पछि १८.१ प्रतिशत आत्महत्या २५ देखी ३५ वर्ष उमेर समूहमा हुने गर्छ । यस्तै १६.३ प्रतिशत आत्महत्या गर्ने ३४ देखी ४५ वर्ष उमेर समूहका छन् ।

उमेरको आधारमा आत्महत्याको अवस्था हेर्दा सबै भन्दा बढी आत्म हत्या गर्ने चौथो स्थानमा १० देखी १८ वर्ष उमेर समूहका छन् । यो उमेर समूहले कुल आत्महत्याको १४.९ प्रतिशत स्थान ओगटेको दुःखद अवस्था छ । यस्तै ३५ देखि ४५ वर्षका १६.३ प्रतिशत, ४५ देखी ५५ वर्षका १३.१ प्रतिशत , ५५ देखी ६५ वर्षका ९.४ प्रतिशत, र ६५ वर्ष माथिका ६.६ प्रतिशत छ । मुलुकमा जन्म देखी १० वर्ष सम्मका उमेर समूहले समेत कुल आत्महत्याको ०.८ प्रतिशत स्थान ओगट्ने गरेको तथ्याङ्क छ ।

पुरुषमा बढी आत्महत्या

प्रहरीको अध्ययन अनुसार नेपालमा महिलाको दाँजोमा पुरुष हरू बढी आत्महत्या गर्छन् । कुल आत्महत्यामा ५९.९ प्रतिशत पुरुष छन् भने ४०.९ प्रतिशत महिला रहेकी छिन । अध्ययनको निष्कर्ष अनुसार २५ वर्ष मुनिको उमेरमा महिलाहरूले आत्महत्या बढी गरिरहेका (५०.२ प्रतिशत) छन् । २५ वर्ष माथिको उमेरमा पुरुषहरू आत्महत्या बढी गर्छन् ।

बच्चाहरूमा बालिकामा बढी आत्महत्या

बालबालिका मा हेर्दा बालकको दाँजोमा बालिकाहरू मा झन्डै अढाई गुना बढी (२३.४ प्रतिशत) आत्महत्या देखिएको छ । बालकहरूमा ९.२ प्रतिशत आत्महत्या देखिन्छ ।

सबै भन्दा बढी आत्महत्या कृषकहरूको

अध्ययन अनुसार पेशागत आधारमा कृषि पेशा गर्नेहरु मा सबै भन्दा बढी .४६.२ प्रतिशत) आत्महत्या हुने गरेको देखिन्छ । यस्तै विद्यार्थीमा १५.४, गृहिणीमा ११.६ प्रतिशत रहेको छ । पेशागत आधारमा आत्महत्याको अवस्था हेर्दा व्यापार गर्ने १.९ प्रतिशत, बेरोजगार १.९ प्रतिशत, संघ संस्थाका ०.८६ प्रतिशत, वैदेशिक रोजगारका ०.६ प्रतिशत, सरकारी कर्मचारी ०.५ प्रतिशत, स्वास्थ्य कर्मी ०.०२ प्रतिशत र अन्य ०.०६ प्रतिशत छन् ।

विपन्नमा बढी आत्महत्या

प्रहरीको अध्ययन अनुसार वर्गको अनुसार नेपालमा विपन्न वर्ग आत्महत्या वाट बढी प्रभावित समूह हुन । पछिल्लो पाँच वर्षमा आत्महत्या गर्नेहरुमा सबै भन्दा बढी ४७ प्रतिशत विपन्न वर्गका छन् भने ३८ प्रतिशत मध्यम वर्गका, १० प्रतिशत अन्य वर्गका र सबै भन्दा कम अर्थात् ५ प्रतिशत सम्पन्न वर्गका छन् ।

वैशाखमा सबै भन्दा बढी र पुसमा सबै भन्दा कम आत्महत्या

अध्ययन अनुसार मुलुकमा सबै भन्दा बढी अर्थात् ९.६ प्रतिशत आत्महत्या वैशाखमा हुने गरेको छ । यस्तै सबै भन्दा कम ६.८ प्रतिशत आत्महत्या पुष महिनामा हुन्छ ।

आत्महत्याको सङ्केत

‘म अव बाच्न चाहन्न’, ‘मेरो जन्म नै नभएको भए कति राम्रो हुन्थ्यो’, ‘भगवान मलाइ लिएर लगि हाल’, जस्ता आवेग कुराकानीको गर्दा प्रकट गर्नु भविष्यमा आत्महत्या गर्न सक्ने सङ्केत समेत हुन सक्छ ।

आत्महत्याको बारेमा सोचिरहेका व्यक्तिले आफ्नो नजिकका वा साथी भाइ आफन्त, छिमेकी, आदि लाई केही सकेत प्रकट गर्छन् । यस्ता संकेतहरुलाई समय मै पहिचान गरेर त्यस्तो व्यक्ति लाई उपचार प्रकृयामा लग्नु पर्ने डा.दत्त बताउँछन् ।

तर यस्तो चेतावनीको सङ्केत सधैँ स्पष्ट भने हुँदैन । यस्ता सङ्केत व्यक्ति पिच्छै फरक हुन सक्छ । केही व्यक्तिले आत्महत्या गर्ने चेतावनीको सङ्केत आफ्नो नजिककाहरु लाई व्यक्त गरे पनि केहीले आत्महत्याको भावना र विचार प्रकट नगरी मन भित्रै राख्न सक्छन् ।

यस्ता संकेतलाइ समय मै पहिचान गरेर ती व्यक्तिलाई सम्झाइ वुझाइ, उचित चिकित्सा प्रकृया मा लग्नु अथवा उसको पिडा राम्ररी सुनि दिनु ले समेत स्थितिमा धेरै फरक फार्न सक्छ ।

यस्ता व्यक्तिको व्यक्तित्वमा परिवर्तन हुन सक्छ भने गम्भीर रूपमा चिन्तित, उत्तेजित हुनु जस्ता समस्या समेत देखिन सक्छ । आफ्नो काम वा शौकमा अरुचि प्रकट गर्न, एक्कासि आफैमा रमेर एक्लै समय बिताउन थाल्ने, अव्यवस्थित देखिने अस्वाभाविक व्यवहार लाइ समेत आत्महत्याको एउटा सङ्केत कै रूपमा लिनु पर्छ ।

यस्ता व्यक्तिहरूको मनोदशामा व्यापक परिवर्तन भइ रहेको हुन्छ । यस्ता व्यक्ति अनावश्यक रूपमा अत्यधिक आवेग, आक्रोशमा आउने, निरन्तर आक्रोश रही रहने जस्तो समस्या समेत देखिन्छ ।

सामान्य भन्दा फरक किसिमको स्वभाव, प्रवृत्ति, व्यक्तित्व रहेकाहरुमा आत्महत्याको जोखिम बढी हुन सक्छ । अत्यधिक मादक पदार्थ र लागु पदार्थको उपयोग गर्नेमा जोखिम बढी हुन्छ ।

यस प्रकारको व्यक्ति मृत्युको दुखाइ रहित तरिका खोजीमा लाग्छन् भने मृत्यु पछि के हुन्छ जस्तो प्रश्न सोधेर आफ्नो भित्रको उत्सुकता समेत देखाउँछन् ।

यस्ता व्यक्ति आफनो स्वक्षता, देखरेख र स्वास्थ्य प्रति उदासीन हुन थाल्छन् । उनीहरू आफ्नो मनपर्ने सामान भन्दा टाढा रहने प्रयास गर्छन् । यति मात्र नभइ केहीले त एक्कासि आफ्नो जाय जेथा सम्पत्ति कसलाई कति दिने भन्ने वारे समेत भन्न थाल्छन् । उनीहरूलाई ज्यानको माया नहुने भएकोले अत्यधिक मदिरा, ड्रग सेवन, अत्यन्त गतिमा जोखिम सहितको गाडी चलाउनु लगायतका खतरनाक व्यवहार समेत बढ्छ ।

नजिकका आफन्त सँगको भेटघाट कुराकानीमा आफू पुनः न भेट्ने जस्तो लक्षण, हाउभाउ प्रकट गरेर बिदा माग्नु समेत संकेतको रूपमा देखिने गरिन्छ ।

कहिले डाक्टरलाई देखाउने

यदि तपाइको मनमा आत्महत्याको विचार आइ रहेको छ र तपाइ आफूलाई क्षति पुर्याउन चाहनु हुन्छ भने तुरुन्त नजिकको स्वास्थ्य निकायमा इमर्जेन्सी सेवामा गएर मनोचिकित्सक वा त्यहाँ उपलब्ध चिकित्सक लाई देखाउनु पर्छ । यो न विर्सनुस की आत्महत्याको विचार अस्थायी हुन्छ ।

सुसाइड हट लाइनमा समेत फोन गरेर आफ्नो भावना पोखन सक्नु हुन्छ भने सल्लाह सुझाव लिन सक्नु हुन्छ । आत्महत्या रोकथामको लागि राष्ट्रिय हेल्पलाईन ११६६ मा फोन गर्न सकिन्छ । मनोचिकित्सक, मनो परामर्शदाता वा अन्य मानसिक स्वास्थ्य सेवा प्रदाता सँग सम्पर्क गरेर आफ्नो समस्याको उपचार खोज्नुस । मायो क्लिनिकको अनुसार आत्महत्याको प्रवृत्ति आफै निको हुन्न, त्यसैले सहयोग लिनु पर्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!