‘प्रत्यारोपण केन्द्र को जग्गा र भवनको लागि गुहार माग्दै डा.पुकार चन्द्र श्रेष्ठ’

बिरामीले नै गरे डा.पुकार चन्द्र श्रेष्ठ र डा. कल्पना कुमारी श्रेष्ठ लाई सम्मान


भक्तपुर  – शहीद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र को १२ औ वार्षिकोत्सव समारोहमा मंगलबार निर्देशक डा.पुकार चन्द्र श्रेष्ठले केन्द्रको जग्गा र भवनको लागि आवश्यक पहल गरि दिन सम्बन्धित सबै सँग अनुरोध गरे ।

कलेजो तथा मिर्गौला प्रत्यारोपण शल्य चिकित्सक समेत रहेका डा.पुकार वर्षौ देखि विभिन्न फोरमहरुमा केन्द्रको लागि जग्गा र भवन को लागि सबै सँग गुहार माग्ने गरेका छन् ।

‘केन्द्रको नाममा एक इन्च पनि आफ्नो जग्गा छुट्टै भवन नभएर थप सेवा दिन असहज भएको छ’, वार्षिकोत्सव समारोह लाई सम्बोधित गर्दै डा.पुकारले भने–‘केन्द्रको लागि जग्गा तथा भवनको लागि आवश्यक पहल गरि दिन सम्बन्धित सबैमा अनुरोध छ ।’

पछिल्लो समय प्रधानमन्त्री कार्यालय देखि लिएर विभिन्न मन्त्री, सरकारी पदाधिकारीहरू सँग फाइल लिएर भेट्न को लागि घण्टौँ लाइनमा बसेर कुर्ने गरेको डा.पुकार को अनुभव पछाडि समेत प्रत्यारोपण केन्द्रको लागि जग्गा र भवनको व्यवस्था नै रहेको समारोहमा सम्बोधन सुनिरहेका उनका एक सहयोगी चिकित्सकले ले बताए ।

‘बट्टा जस्तो अति ‘कन्जस्टेड’ ठाउँमा पनि स्थापना काल देखि नै हामीहरू डा.पुकारको नेतृत्वमा गुण स्तरीय र सस्तो प्रत्यारोपण मा रेकर्ड बनाएका छौं’, ती चिकित्सकले अगाडि थपे –‘पछिल्लो समय उहाँ(डा.पुकार) लाई जग्गा माग्न र भवन बनाउन सबै सँग हार गुहार मा नै समय खर्चिनु परेको छ ।’

वार्षिकोत्सव समारोहमा भक्तपुर जिल्लाका सांसद प्रेम सुवाल र दुर्लब थापाले समेत डा.पुकार को गुहार मा प्रतिक्रिया दिँदै केन्द्रको लागि आवश्यक जग्गा तथा भौतिक पूर्वाधार लगायतका विषयमा सदन र सरकारमा आवाज उठाउने बताए ।

प्रत्यारोपण केन्द्रले २०८० वैशाख देखि चैत्र मसान्त सम्म १८४ जनाको मिर्गौला र १३ जनाको सफल कलेजो प्रत्यारोपण गरेको छ । यस्तै केन्द्रले स्थापना काल देखी मुलुकमा रेकर्ड १२३१ मिर्गौला प्रत्यारोपण र २३ वटा कलेजो प्रत्यारोपण गरेको छ ।

‘मेरो एक मात्र सपना प्रत्यारोपण केन्द्रको क्षमता विस्तार गरेर ५०० सैय्या को मुलुक कै अत्याधुनिक सुविधा सम्पन्न केन्द्र बनाउने हो, जसले यो क्षेत्रको जनशक्ति विस्तारमा समेत सहयोग गरोस्’, समारोह मा सम्बोधन पछि नेपालहेल्थप्रेससँग कुरा गर्दे डा.पुकारले भने –‘म अत्यन्त आशावादी छु, प्रधानमन्त्री पुष्प कमल दहाल ज्यूले हामी लाई आफ्नो भवन निर्माण गर्न छिट्टै उपयुक्त जग्गा प्रदान गर्नु हुन्छ ।’

उनले प्रत्यारोपण प्रतिष्ठान निर्माण गर्ने भावी योजना अनुरूप समेत गृहकार्य लगायतका प्रक्रियाहरू जारी रहेको बताए । केन्द्रको सेवा मुलुकको सात वटै प्रदेशमा विस्तार गर्ने भावी योजनामा समेत आफ्नो जग्गा र भवन आवश्यक रहेको पुकारले जनाए ।

बिरामीले नै गरे डा.पुकारको सम्मान 

वार्षिकोत्सव कार्यक्रममा केन्द्र वाट उपयुक्त उपचार सहज ढंगले पाएर ज्यान जोगिएका बिरामीहरू ले डा. पुकार चन्द्र श्रेष्ठ र डा. कल्पना कुमारी श्रेष्ठ लाई सम्मान गरेका छन् । बिरामीहरूको तर्फबाट झमक श्रेष्ठले केन्द्रका कार्यकारी निर्देशक डा पुकार र प्रमुख कन्सल्टेन्ट नेफ्रोलोजिष्ट डा कल्पना लाई सम्मान गरेका हुन ।

सर्वोत्कृष्ट कर्मचारी डा दिपेश श्रेष्ठ 

वार्षिकोत्सव समारोहमा केन्द्रमा कार्यरत कर्मचारीहरू मध्ये २०८० सालमा उत्कृष्ट सेवा गरे बापत सिनियर रजिष्ट्रार न्युरोलोजिष्ट तथा मिर्गौला प्रत्यारोपण सर्जन डा दिपेश श्रेष्ठलाई सर्वोत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरिएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस