‘धूम्रपान विरुद्ध डा.ओममुर्ति को विद्यालय स्तरीय सचेतना अभियान’


काठमाडौं–डा.ओम फाउन्डेसनका संस्थापक वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ओम मूर्ति अनिलले प्रणय दिवस तथा सरस्वती पूजाको सन्दर्भ पारेर धूम्रपान र सुर्ती सेवनलाई निरुत्साहित गर्न दुई हफ्ते सचेतना मूलक अभियान ‘धूम्रपान गर्ने स्वार्थी हुँदैनन्’ सञ्चालन गरेका छन् ।

विद्यालय स्तरमा अभियान सञ्चालन गर्न फाउन्डेसनले ‘स्कूल हेल्थ प्रोग्राम’ अगाडि बढाएको छ । उक्त सन्दर्भमा फाउन्डेसनले धूम्रपान र सुर्ती सेवन सम्बन्धी ‘विद्यालय स्तरीय खुल्ला राष्ट्र व्यापी कविता, बाल चित्रकला र हाजिरी जबाफ प्रतियोगिता’ आयोजना गरेको हो ।

‘पछिल्ला समय मुलुकमा धूम्रपान र सुर्ती सेवन विद्यालय स्तर बाटै शुरु गर्ने घटनामा बृद्घि देखिएको छ’, डा.ओममुर्तिले भने–‘अध्ययन अनुसार नेपालमा औसत १७ वर्षको उमेरमा धूम्रपान शुरु गरेको पाइन्छ ।’

किशोरावस्था मै कुलतमा लाग्दा सानो उमेरमै जटिल स्वास्थ्य समस्याबाट गुज्रिन पर्ने स्थिति रहेको औँल्याउँदै उनले विद्यार्थीलाई धूम्रपान र सुर्ती सेवन हानिकारक हो भन्ने कुराको बोध गराउनु अपरिहार्य रहेको बताए ।

‘विद्यार्थीमा धूम्रपान र सुर्ती सेवनले स्वास्थ्यमा पार्ने असर बारे चेतना जागृत भयो भने उनीहरू आफू धूम्रपान र सुर्ती सेवन गर्दैनन् । सँगै घर परिवार, आफन्त र साथी भाइलाई पनि सेवन गर्नबाट रोक्न सक्छन्’ डा.ओममुर्ति ले भने ।

उक्त उद्देश्य ले फाउन्डेसनले धूम्रपान र सुर्ती सेवनबाट सेवन कर्ता, निजका परिवार र साथी भाइ, आफन्तको स्वास्थ्यमा पर्ने असर झल्काउने गरी ‘विद्यालय स्तरीय खुल्ला राष्ट्र व्यापी कविता, बाल चित्रकला र हाजिरी जबाफ प्रतियोगिता’ आयोजना गरेको डा. ओममुर्ति ले बताए ।फाउन्डेसनले प्रतियोगितामा सहभागिताको लागि अनलाइन मार्फत सार्वजनिक आह्वान समेत गरेको छ ।

कविता प्रतियोगिता 

यसको लागि धूम्रपान र सुर्ती सेवनलाई निरुत्साहित गर्दै यसबाट स्वास्थ्यमा पर्ने असर सम्बन्धी सन्देश मूलक नेपाली भाषामा कविता रचना गरिएको हुनुपर्छ । गद्य, पद्य वा छन्दमा रचित कविता २५० शब्द भित्र समेटिएको हुनु पर्नेछ । प्रतियोगितामा १२ कक्षा सम्मका विद्यार्थी सहभागी हुन सक्छन् । कविता प्रतियोगितामा पाँच जना छात्रछात्रालाई उत्कृष्ट रचनाकारको रूपमा छनौट गरी प्रति व्यक्ति १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने फाउन्डेसनले जनाएको छ । प्रतियोगिताको लागि समावेश हुने कविता फाउन्डेसनमा २०८० माघ २७ गते भित्र आइ पुग्नु पर्छ ।

बाल चित्रकला प्रतियोगिता
धूम्रपान र सुर्ती सेवनले उपयोग गर्ने व्यक्ति, निजका परिवार र साथी भाइको स्वास्थ्यमा पर्ने असर झल्काउने चित्रकला हुनुपर्ने छ । बाल चित्रकला प्रतियोगितामा कक्षा ७ सम्मका विद्यार्थी सहभागी हुन सक्छन् । ए थ्री साइजको कागजमा हातैले कोरिएको चित्र हुनु पर्नेछ । उक्त चित्रलाई स्क्यान गरी वा फोटो खिचेर फाउन्डेसनको इमेलमा तथा कुरियर गरेर समेत कार्यालयको ठेगानामा २०८० माघ २७ गतेभित्र पठाउन सकिन्छ । सहभागी मध्येबाट एकजना छात्रा र एक जना छात्रलाई उत्कृष्ट चित्रकारको रूपमा छनोट गरी प्रति व्यक्ति १० हजार रुपियाँ नगद पुरस्कार प्रदान गरिने छ ।

हाजिरी जबाफ प्रतियोगिता
धूम्रपान र सुर्ती सेवनको असर तथा स्वास्थ्य शिक्षा सँग सम्बन्धित हाजिरी जबाफ प्रतियोगितामा कक्षा १२ सम्मका विद्यार्थीले तीन सदस्यीय समूह निर्माण गरी सहभागी हुन सक्छन् । जसमा एउटा विद्यालयबाट एक मात्रै समूह र समूहमा कम्तीमा एक जना छात्रा अनिवार्य गरिएको छ ।

सहभागी मध्येबाट तीन समूहलाई प्रथम, द्वितीय र तृतीयका रूपमा छनोट गरी पुरस्कृत गरिनेछ । प्रथम पुरस्कार ५० हजार, द्वितीय पुरस्कार ३० हजार र तृतीय पुरस्कार २० हजार रुपैयाँ नगद रहेको छ । सबै विजेतालाई प्रमाणपत्र र मेडल प्रदान गरिने छ ।

हाजिरी जबाफ प्रतियोगिता दुई चरणमा सञ्चालन हुनेछ । पहिलो चरण आवेदक समूहहरू बीच ‘भर्चुअल’ (जुम प्लेटफर्म) र्‍यापिड फायर प्रणालीबाट सञ्चालन हुनेछ । प्रत्येक टोलीलाई एक मिनेट धूम्रपान सम्बन्धित छानेको/रोजेको विषयमा बोल्नुपर्ने हुन्छ ।

छनोट चरणमा उत्कृष्ट भएका प्रदेश गतका १४ समूहलाई दोस्रो चरणमा लगिनेछ । अर्थात् प्रति प्रदेश २ वटा समूह छनोटमा पर्ने छन् । छनोट पार गरी अन्तिम १४ मा परेका समूह मध्येबाट प्रथम, द्वितीय र तृतीयका विजेताका रूपमा छनोट हुने छन् । हाजिरी जवाफ प्रतियोगिता फेसबुक लाइभ वाट प्रसारित समेत हुनेछ ।

हाजिरी जवाफ प्रतियोगितामा सहभागिताका लागि २०८० माघ २७ गते भित्र डा. ओम फाउन्डेसनको फेस बुक पेजमा रहेको गुगल फर्म भरेर आवेदन भर्नु पर्ने छ ।

अन्य विधाका प्रतियोगीले पनि माघ २७ गतेभित्र फाउन्डेसनको इमेलमा आफ्नो रचना पठाउनुपर्ने छ । सबै प्रतियोगीले आवेदन सँगै आफ्नो नाम, फोटो, कक्षा, विद्यालयको नाम, ठेगाना, सम्पर्क फोन (वैकल्पिक नम्बर सहित), इमेल र विद्यार्थी परिचय पत्र स्पष्ट आउने गरी समावेश गर्नु पर्नेछ ।

प्रतियोगिताका अन्तिम निर्णय फाउन्डेसनको टिमले गर्नेछ । हाल प्रतियोगिताका सम्पूर्ण तयारी पूरा भएको फाउन्डेसनले जनाएको छ । प्रतियोगिता बारे विस्तृत जानकारी फाउन्डेसनको वेबसाइट र फेस बुक पेजमा समेत रहेको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस