नेपालमा अझै समस्या कै रूपमा कुष्ठरोग, प्रकोप दर बढ्दै


काठमाडौं– समय मै उपचार गरे पूर्ण रूपमा निको हुने कुष्ठ रोग अझै नेपालमा समस्या कै रूपमा देखि राखिएको छ । विश्व स्वास्थ्य संगठन डब्लुएचओ को अनुसार कुष्ठ रोग उपेक्षित उष्णप्रदेशीय रोग हो जुन अझै १ सय २० भन्दा बढी मुलुकहरूमा देखा पर्छ । वर्षेनी २ लाख भन्दा बढी केस रिपोर्ट गर्ने गरिएको छ ।

नेपालमा कुष्ठ रोग निवारण को घोषणा भए पछि झण्डै डेढ दशक यता कुष्ठ रोगको देश व्यापी प्रकोप दर मा समेत बृद्घि देखिएको छ भने अझै यो रोगले अपाङ्गता को दर उच्च छ ।

यो वर्ष मुलुकमा कुष्ठका २ हजार ५ सय २२ नयाँ रोगी थपिएका छन् भने, उपचार गराइ रहेका बिरामी को संख्या २ हजार ५ सय १० छ । तराइ का १४ जिल्ला मा अझै कुष्ठ रोग निवारण दर भन्दा बढी देखि राखिएको छ । देश भरी करिब २ लाख जना कुष्ठ प्रभावित छन् ।

७१ औं विश्व कुष्ठ रोग दिवस को अवसरमा आइतवार स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)द्वारा आयोजित सरोकार वाला तथा सञ्चारकर्मीहरू सँगको अन्तरक्रिया कार्यक्रममा उक्त कुरा बताइएको हो ।

इडिसिडि का कुष्ठ रोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका प्रमुख डा.प्रसन्न नापितले भने–‘अझै तराइका १४ जिल्लामा प्रति १० हजार जनसङ्ख्यामा १ भन्दा धेरै कुष्ठ रोगका बिरामी रहेको स्थिति छ । अझै स्थानीय संक्रमण दर उच्च छ ।’ इडिसिडीका निर्देशक डा.रुद्र मरासिनि समेत तराइको केही जिल्लामा कुष्ठ रोगको समस्या बढी देखिनु चिन्ताको कुरा रहेको बताउँछन् ।

राष्ट्रिय स्तरमा कुष्ठ रोग जनस्वास्थ्य समस्याको रूपमा निवारण भएको अवस्था भनेको प्रति १० हजार जनसङ्ख्यामा १ भन्दा कम बिरामी हुनु हो ।  आर्थिक वर्ष २०७९/८० को अन्त्य सम्म राष्ट्रिय स्तरमा कुष्ठ रोगको प्रकोप दर ०.८५ रहेको छ ।

मुलुकमा कुष्ठ रोग निवारण को घोषणा भए पछिको झण्डै डेढ दशकमा देश व्यापी कुष्ठ प्रकोप दर मा बृद्घि देखिएको छ ।  स्मरण रहोस् २०६६ माघ ५ गते कुष्ठ रोग निवारण भएको घोषणा गर्दा ताका राष्ट्रिय स्तरमा कुष्ठ रोगको प्रकोप दर ०.७७ रहेको थियो ।

‘समुदायमा कुष्ठ रोगीको पहिचान (केस डिटेक्सन) गर्न हामी लाई सहयोग गर्नुस्, यसमा साझा प्रयास चाहिन्छ’, स्वास्थ्य सेवा विभागका महा निर्देशक डा.संगिता कौशल मिश्रले सामुदायिक स्तरमा कुष्ठ रोगको त्यति निगरानी गर्न नसकिएको कुरा स्विकार्छिन् ।

आर्थिक वर्ष २०७९/८० मा जम्मा १ सय ८१ जना बालबालिका मा नयाँ कुष्ठ रोग देखिएको थियो । यो संख्या त्यो आर्थिक वर्षमा कुल नयाँ देखिएको कुष्ठ रोगी मध्ये को ७.१७ प्रतिशत हो ।

स्थानीय तहमा निरन्तर पाँच वर्षसम्म १५ वर्ष मुनिका बालबालिकामा कुष्ठरोगका स्थानीय नयाँ बिरामीहरू शून्य रहनुलाई त्यस स्थानीय तहमा कुष्ठ रोग फैलावट अवरुद्ध भएको भनेर परिभाषित गरिएको छ ।

बच्चाहरूमा देखिने कुष्ठ रोगको चक्र लाई जसरी पनि तोड्नु पर्ने जनाउँदै डा.मिश्रले सम्पूर्ण मधेश र तराइ क्षेत्रमा युवा र बच्चामा कुष्ठ रोग देखि राखिएको बताउँछिन् ।  हाल सम्म नेपालमा कुष्ठ रोगको बहु औषधि प्रकृया वाट उपचार पुरा गर्नेको संख्या १ लाख ९८ हजार भन्दा बढी छ ।

विश्व व्यापी कुष्ठ रोगको अवस्था 

डब्लुएचओ को सन २०१९ को तथ्याङ्क अनुसार छिमेकी मुलुक भारत , ब्राजिल र इन्डोनेसियामा कुष्ठ को १० हजार भन्दा बढी नयाँ केसहरू रिपोर्ट गरिएको छ । जबकी १३ अन्य देशहरू (नेपाल, बंगलादेश, श्रीलङका, कंगो, इथियोपिया, माडागास्कर, मोजाम्बिक, म्यानमार, नाइजेरिया, फिलिपिन्स, सोमालिया, दक्षिण सुडान, तान्जानिया) प्रत्येक मा १ हजार देखी १० हजार नयाँ केस रिपोर्ट गरियो ।यस्तै ४५ मुलुकमा शून्य केस र ९९ मुलुकमा १ हजार भन्दा कम नयाँ केश रिपोर्ट गरिएको छ ।

के हो कुष्ठ रोग ? 

आँखाले देख्न नसकिने माइक्रोब्याक्टेरियम लेप्रे नामको सूक्ष्म जीवाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने सामान्य रोग कुष्ठ हो । यो एक व्यक्ति वाट अर्कोमा सर्छ ।

उपचार नगरेको कुष्ठ रोगी सँग लामो समय सम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्य रूपमा श्वास प्रश्वासको माध्यमबाट यो रोग सर्न सक्छ । कुष्ठ रोग विशेष गरी स्वास प्रस्वास को माध्यमले सरे पनि अझै पनि यो कसरी सर्ने गरेको छ भन्ने कुरा अनुसन्धान कै विषय रहेको विज्ञहरू बताउँछन् ।

उपचार गरे पूर्ण रुपमा निको हुने यो रोग सुरुकै अवस्थामा निदान र उपचार गरेमा अरूलाई सर्दैन । सँगै कुष्ठ पूर्ण रूपमा निको हुन्छ र अपांगता समेतहुँदैन। समुदायमा रोग संक्रमण हुन नदिन रोगका लक्षण र चिन्ह देखिन साथ नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरी रोग निदान भएमा पूर्ण रूपमा उपचार गर्नु पर्छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!