गत वर्ष भन्दा २० प्रतिशत ले घट्यो स्वास्थ्य बजेट, ८३ अर्ब ९९ करोड विनियोजन


काठमाडौं — सरकारले आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट प्रस्तुत गर्दै स्वास्थ्य मन्त्रालयका लागि ८३ अर्ब ९९ करोड बजेट विनियोजन गरेको जनाएको छ । यो बजेट गत वर्षभन्दा २० प्रतिशत ले कम हो । अर्थमन्त्री प्रकाश शरण महतले सोमवार संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै स्वास्थ्य मन्त्रालयका लागि उफ रकम विनियोजन गरिएको बताए ।

गत वर्ष सरकारले स्वास्थ्य मन्त्रालयलाई १ खर्व ३ अर्ब १८ करोड बजेट छुट्टाइएको थियो । आर्थिक वर्ष २०७९-८०को बजेटमा संघमा ६९ अर्ब ३८ करोड, प्रदेशमा ६ अर्ब ३६ करोड र स्थानीय तहमा २७ अर्ब ४४ करोड बजेट छुट्याइएको थियो ।

पाठेघरको क्यान्सर विरुद्ध एचपीभी खोप कार्यक्रमलाई विस्तार गरिने 

सरकारले पाठेघर क्यान्सरविरुद्धको एचपीभी खोप कार्यक्रम विस्तार गर्ने योजना अघि सारेको छ । अर्थमन्त्री महतले ०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै ९ देखि १४ वर्षका किशोरीहरूका लागि एचपीभी खोप कार्यक्रमलाई विस्तार गरिने बताएका हुन् । सरकारले आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यत्रममा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप (एचपीभी) कार्यक्रम कार्यान्वयनमा ल्याउने बताए पनि हालसम्म यो सञ्चालनमा आउन सकेको छैन ।

सरकारले महिलाहरूमा देखिने पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको निःशुल्क शीघ्र पहिचान र प्रारम्भिक उपचारलाई विशेष कार्यक्रमको रूपमा क्रमशः देशभरि विस्तार गरिने जनाएको छ । अघिल्लो वर्षहरू पनि घोषणा हुँदै आएको यो कार्यक्रम अझै पनि सुरु हुन सकेको छैन ।

९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क

सरकारले ९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने भएको छ । मुलुकभरिका ६ हजार ७ सय ४३ वडाका आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट यो सुविधा लीन सकिने सरकारले जनाएको छ । औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन १ अर्ब २८ करोड विनियोजन गरिएको अर्थमन्त्री डा. महतले बजेट घोषणाका क्रममा बताएका छन् । कार्यक्रम अन्तर्गत स्वदेशमा ‍नै उत्पादित औषधि खरिद गर्न प्राथमिकता दिइने समेत उनले बताए । बहुसंख्यक जनताले सेवा प्राप्त गर्नेगरी पायक पर्ने स्थानमा आधारभूत अस्पताल निर्माण तथा सञ्चालन गर्न प्राथमिकता दिइने महतले बताए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!