रोकथाम र निःशुल्क उपचार उपलब्ध भए पनि क्षयरोगले वर्षेनी १७ हजारको मृत्यु


काठमाडौं– क्षयरोग रोकथाम गर्न सकिने र उपचार गर्दा निको हुने रोग भए पनि नेपालमा वर्षेनी १७ हजार जनाको ज्यान यो संक्रमणले लिइ रहेको छ । समाजमा अझै क्षयरोग बारे पर्याप्त जानकारी अभाव भएकोले यसको व्यवस्थापनमा समस्या देखिएको हो । हाल देश भरीमा १ लाख १७ हजार क्षयरोगको बिरामी छन् भने हरेक वर्ष ६९ हजार नयाँ क्षयरोगी समेत थपिने गरिएको छ ।

‘अझै मुलुकमा वर्षेनी झण्डै ३२ हजार क्षयरोगी हरूलाई रोग पत्ता लगाएर उपचारको दायरामा ल्याउन सकिएको छैन’, राष्ट्रिय क्षयरोग केन्द्र का निमित्त निर्देशक डा.नविन प्रकाश शाहका अनुसार राष्ट्रिय क्षयरोग कार्यक्रमको हाल मुख्य चुनौती नै लुकेका क्षयरोगीको पहिचान गरेर उपचारको दायरामा ल्याउनु हो ।

गत आर्थिक वर्षमा मुलुकमा ३७ हजार ८ सय ६१ जना क्षयरोगका बिरामीहरू उपचारमा दर्ता भएका थिए भने ९१.५ प्रतिशत क्षयरोगीको उपचार सफल भएर उनीहरू रोग मुक्त समेत भएका थिए ।

‘क्षयरोगको बारेमा बढी भन्दा बढी सही जानकारी समुदायमा प्रवाहित भएर एक प्रकारको सकारात्मक जनचेतना स्तर मा बृद्घि भए रोग पहिचान र उपचार गराउने को संख्यामा बृद्घि हुने छ’, डा.शाहले भने–‘यसको लागि क्षयरोग सँग सम्बन्धित ससाना जानकारी जस्तै लक्षण, उपचार, जटिलता आदि बारे समाजमा जागरुकता र जानकारी फैलिनु पर्छ ।’

सरकार द्वारा अधिकतम ठाउँ मा उपलब्ध गराइएको क्षयरोगको निःशुल्क उपचार सेवा को आम व्यक्तिले जानकार अभावले गर्दा फायदा उठाउन नसकेको समेत डा.शाह बताउँछन् । क्षयरोगको निदान र उपचार सेवाको अधिकतम प्रयोग गरेर समय मै क्षयरोग पत्ता लगाउन सकिए यसले मुलुकको क्षयरोग नियन्त्रण कार्यमा थप वल मिल्ने समेत उनी बताउँछन् ।

क्षयरोग ब्याक्टेरिया ( माइकोब्याक्टेरियम ट्युबरकुलोसिस ) को कारणले हुन्छ र यसले प्रायः फोक्सो लाई असर गर्छ । फोक्सोको क्षयरोग भएका मानिसहरूले खोक्दा, हाछ्यु गर्दा वा थुक्दा क्षयरोग हावाबाट सर्छ । एक व्यक्तिले संक्रमित हुनको लागि केही कीटाणुहरू मात्र सास फेर्न आवश्यक छ ।

‘क्षयरोग रोकथाम गर्न सकिने, उपचार गर्न सकिने र निको पार्न सकिने भए पनि हजारौं वर्षदेखि मानवतालाई सताइरहेको यो पुरानो विपत्तिले हरेक वर्ष लाखौंको लागि पीडा र मृत्यु निम्त्याइरहेको छ’ डब्लूएचओका महा निर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले विश्व क्षयरोग दिवस को पूर्व सन्ध्या मा भने–‘डब्लुएचओ विश्वव्यापी स्वास्थ्य कभरेज तर्फको यात्राको एक भागको रूपमा क्षयरोगलाई रोक्न, पत्ता लगाउन र उपचार गर्न सेवाहरूमा पहुँच विस्तार गरेर महामारी र महामारीहरू विरुद्ध उनीहरूको प्रतिरक्षा बलियो बनाउन मुलुकहरूलाई सहयोग गर्न प्रतिबद्ध छ ।’

प्रत्येक वर्ष एक करोड मानिस क्षयरोग (टिबी) बाट बिरामी पर्छन् । रोकथाम गर्न सकिने र निको पार्न सकिने रोग भए पनि, क्षयरोगबाट हरेक वर्ष १५ लाख मानिसको मृत्यु हुन्छ ।

व्यापक उपचार सेवा विस्तार
हाल मुलुकमा क्षयरोग कार्यक्रम अन्तर्गत ५ हजार ९ सय ७१ डट्स केन्द्र हरू छन् । यस्तै ८ सय ९६ माइक्रोस्कोपीक केन्द्र हरू छन् । यति मात्र नभएर ९३ जिन एक्सपर्ट केन्द्र, २ वटा कल्चर तथा डि.एस.टी. र २ एलपीए केन्द्र मार्फत सेवा प्रवाह भइ रहेको छ । औषधि प्रतिरोधी क्षयरोगको लागि समेत विभिन्न केन्द्रहरू छन । यस अन्तर्गत २२ औषधि प्रतिधि क्षयरोग उपचार केन्द्र, ८१ वटा औषधि प्रतिरोधी क्षयरोग  उपचार उप केन्द्र, ७ वटा औषधि प्रतिरोधी क्षयरोग होस्टेल मार्फत क्षयरोग उपचार सेवा प्रदान गरि राखिएको छ ।

क्षयरोगको लक्षण

  • दुई साता वा यो भन्दा बढी समय सम्म खोकी लागी राख्नु
  • खकार मा कहिले काही रगत देखा पर्नु
  • साझ पख ज्वरो आउनु
  • खाना खान मन नलाग्नू
  • तौल घट्दै जानु

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!