सरकार लाई गम्भीर श्वास प्रश्वास संक्रमण उपचार केन्द्र हस्तान्तरण


काठमाडौं–विश्व खाद्य कार्यक्रम(डब्लुएफपी) र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ ) ले नेपाल एपीएफ अस्पताल बलम्बुमा रहेको गम्भीर श्वासप्रश्वास संक्रमण उपचार केन्द्र स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको छ ।

हस्तान्तरण कार्यक्रममा डब्लुएचओ को दक्षिण पूर्वी एसियाका लागि क्षेत्रीय निर्देशक, डा. पूनम खेत्रपाल सिंह, स्वास्थ्य मन्त्रालयका सचिव, डा. रोशन पोखरेल, सशस्त्र प्रहरी बलका प्रमुख महानिरीक्षक राजु अर्याल, डब्लुएचओ नेपालका प्रमुख डा. राजेश संभाजीराव पाण्डव र विश्व खाद्य कार्यक्रम नेपालका  प्रतिनिधिहरूको उपस्थिति थियो ।

लगभग ७,६०० वर्ग मिटरमा फैलिएको यस प्रकारको श्वासप्रश्वास संक्रमण उपचार केन्द्र, दक्षिणपूर्वी एसिया क्षेत्रमा पहिलो हो । यो कोभिड लगायत श्वासप्रश्वास सम्बन्धी अन्य संक्रामक रोगका सामान्य, मध्यम, गम्भीर र जटिल अवस्थाका बिरामीहरूको उपचारका लागि निर्माण गरिएको हो ।

“जनस्वास्थ्य आपतकालीन अवस्थाहरूको लागि पूर्वतयारी र प्रतिकार्य क्षमता बलियो बनाउन डब्लुएचओ को क्षेत्रीय प्राथमिकता अनुरूप यो उपचार केन्द्रको स्थापना गरिएको हो । गम्भीर श्वासप्रश्वासको संक्रमण विश्वमै संक्रामक रोगहरूबाट हुने बिमारी र मृत्युको प्रमुख कारण हो । यस स्वास्थ्य संरचनाले श्वासप्रश्वास सम्बन्धी संक्रामक रोगका लागि नमूना रिफरल उपचार केन्द्रको रूपमा काम गर्नुको साथै विरामको संख्या धेरै हुँदा उपचार र व्यवस्थापनमा सहयोग पुर्याउने छ ।”  डब्लुएचओ को दक्षिण पूर्वी एसियाका लागि क्षेत्रीय निर्देशक, डा. पूनम खेत्रपाल सिंहले बताइन ।

नेपालका लागि डब्लुएचओ का प्रमुख डा. राजेश संभाजीराव पाण्डवले भने– “यो उपचार केन्द्र स्थापना गर्न स्वास्थ्य मन्त्रालय, सशस्त्र प्रहरी बल र डब्लुएफपी सँगको सहकार्यमा हामी गर्व गर्छौँ । यसले श्वासप्रश्वास सम्बन्धी संक्रमणका बिरामीहरूको उपचार र हेरचाहका लागि नेपालको स्वास्थ्य पूर्वाधारमा सहयोग पुग्नेछ ।”

श्वासप्रश्वासका बिरामीहरूको उपचार गर्न निर्माण गरिएको केन्द्र प्रभावकारी संक्रमण रोकथाम तथा नियन्त्रणका उपायहरूमा आधारित छ । यी उपायहरू सुनिश्चित गर्न ट्राइएज  र कर्मचारीका लागि छुट्टै स्थान, बिरामीहरूका लागि आउने र जाने छुट्टै बाटो र श्वासप्रश्वासबाट हुनसक्ने संक्रमणको फैलावटलाई कम गर्न उचित भेन्टिलेसन र वायु शुद्धिकरण प्रणालीहरू  को व्यवस्था गरिएको छ । यो उपचार केन्द्रलाई सामान्य, मध्यम, गम्भीर र जटिल वार्डमा विभाजन गरिएको छ ।

महामारीको समयमा समुदाय स्तरमा संक्रमण व्यापक हुँदा एक विशेष उपचार केन्द्रको रूपमा ९२ सैया क्षमताको यस स्वास्थ्य संरचनाले स्वास्थ्यकर्मी, बिरामी र समुदायमा जोखिम कम गर्न मद्दत गर्नेछ ।

कोभिड  महामारीका बीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले फिल्ड अस्पताल स्थापना गर्न डब्लुएचओ लाई आग्रह गरेपछि डब्लुएफपी को अन्तर्राष्ट्रिय अनुदान सहयोगबाट यस उपचार केन्द्र स्थापना गरिएको हो । विश्वव्यापी सामग्री ढुवानीमा व्यापक चुनौती रहेका बेला स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा डब्लुएचओ ले यस संरचना निर्माणका लागि आवश्यक ठूलो मात्राको सामग्री ढुवानी गरी नेपालसम्म ल्याउन सहजीकरण गरेको थियो । यसका साथै डब्लुएचओ नेपालले थप प्राविधिक र आर्थिक सहयोग प्रदान गरेको थियो भने डब्लुएफपी नेपालले संरचना निर्माणका लागि आवश्यक जमिनको आधार तयार गर्न सहयोग गरेको थियो ।

स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले डब्लुएचओ र डब्लुएफपी ले उपचार केन्द्र स्थापना गर्न गरेको सहयोगको प्रशंसा गरे । “यस उपचार केन्द्र निर्माणका लागि डब्लुएचओ र डब्लुएफपीले गरेको सहयोगका लागि धन्यवाद दिन्छु । भविष्यमा आउनसक्ने महामारी प्रतिकार्यका बेला यस उपचारकेन्द्र प्रभावकारीरुपमा संचालनका लागि कार्यविधि बनाउन स्वास्थ्य मन्त्रालय एपिएफ अस्पतालसँग सहकार्य गर्न प्रतिबद्ध छ।” सचिव पोखरेलले बताए ।

“काठमाडौंको एपीएफ अस्पतालमा रहेको अस्थायी गम्भीर श्वासप्रश्वास रोग उपचार केन्द्र संयुक्त राष्ट्र संघ अन्तगर्त डब्लुएफपी ले डब्लुएचओ लाई प्रदान गरेको अनुदान सहयोगबाट स्थापना गरिएको हो । यस केन्द्रमा मध्यम, गम्भीर, जटिल र सघन उपचार चाहिने विरामीहरुको लागि ९२ वटा शैयाका साथै भान्साकोठा, भोजन कक्ष, लुगाधुने ठाउँ र फार्मेसीको सुविधा रहेको छ । डब्लुएफपी, नेपालले गम्भीर श्वासप्रश्वास संक्रमण उपचार केन्द्रको स्थापनाको लागि जमिनको आधार डिजाइन र निर्माण गर्न इन्जिनियरिङ सेवा उपलब्ध गराएको हो,” डब्लुएफपी, नेपालका निर्देशक रोबर्ट कास्काले बताए ।

गम्भीर श्वासप्रश्वास रोग उपचार केन्द्र विभिन्न संक्रामक रोगहरूको उपचारका लागि पनि प्रयोग गर्न सकिन्छ जसमा संक्रमण फैलिन नदिन सावधानी अपनाउनु पर्ने  लगायत ठूलो प्रकोप वा महामारी निम्त्याउन सक्ने उच्च विरामीदर र मृत्युदर भएका श्वासप्रश्वास सम्बन्धी नयाँ गम्भीर संक्रामक रोग पर्दछन् ।

संक्रामक रोगको प्रकोप वा ठूला दुर्घट्नाका बेला नियमित स्वास्थ्य प्रणालीले थेग्न नसक्ने अवस्थामा एपीएफ अस्पतालको नेतृत्व र व्यवस्थापन अन्तर्गत रहने गरी यस उपचार केन्द्रले बिरामीको हेरचाह तथा उपचार सहज बनाउन निर्माण गरिएको हो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!