डा.ओममुर्ति भन्छन : महिनावारी सुक्ने र मुटु रोग को लक्षण मिल्दो जुल्दो, गलत उपचार हुने जोखिम


काठमाडौं– मुटु रोग विशेषज्ञ डा.ओममुर्ति अनिलले महिलाहरूलाई महिनावारी सुक्ने (मेनोपोज) वेला शरीरमा देखिने लक्षण मुटु रोगको लक्षण सँग मिल्दो जुल्दो हुने भएकोले यो दुवै मध्ये कुन समस्या हो त्यसको उपयुक्त पहिचान विज्ञ मार्फत भएर त्यस अनुरूप औषधि उपचार हुनु पर्ने आवश्यकता औँल्याएका छन ।

दुवै समस्याको लक्षण एक आपसमा बाझिने भएकोले मुटू रोग भएको अवस्थामा महिनावारी सुकेर समस्या देखिएको वा मेनोपोजले गर्दा भएको समस्याको कारक मुटु रोग मानिन सकिने अवस्था विद्यमान रहेकोले बिरामी मात्र नभइ उपचारकर्ता समेत चनाखो हुनु पर्ने आवश्यकता डा. ओममुर्तिले औल्याउछन ।

बसुन्धारा स्थित नेशनल कार्डियाक सेन्टर द्वारा नारी दिवस को अवसर मा वुधवार आयोजित चेतनामूलक कार्यक्रममा डा ओममुर्तीले मुटुरोग, स्तन र पाठेघरको मुखको क्यान्सर रोकथाम बारे जानकारी दिदै उक्त कुरा बताएका हुन ।मेनोपज र मुटुरोगको लक्षण उस्ता, उस्तै देखिने भएकोले बिरामी मात्र नभए उपचारकर्ता समेत कहिले काही भ्रममा पर्ने सम्भावना हुन्छ’, डा. ओममुर्तिले भने–‘ मेनोपज हुने समयमा महिलाको शरीरमा हर्मोन को मात्रा कम भए पछि देखिने लक्षण हरू मुटुको रोगको लक्षण सँग मिल्दोजुल्दो हुन्छ ।’

मेनोपज को समय महिलाहरूमा गर्मी हुने, मुटु ढुकढुक हुने, मुटुको चाल बढ्ने वा घट्ने हुन्छ । यस्तो अवस्थामा स्वाँस्वाँ हुने समस्या समेत देखिन सक्छ । यति मात्र नभइ मेनोपज को बेलामा महिलाहरू आत्तिने, झर्किने, डिप्रेसन, चिटचिट पसिना आउने मात्र नभइ छाती दुख्ने समस्या सँग समेत जुध्न सक्छिन् ।

डा. ओममुर्तिको अनुसार मेनोपज को अवस्था बिताइ रहेको अवस्थामा कतिपय महिला आफूलाई मुटु रोग लागेको ठानेर आत्तिने समेत गरेकी छिन । सबै छातीको पीडा मुटु रोगको कारण नभएकोले यसलाई मेनोपजमा हुने सामान्य समस्या मान्न सकिने उनी औँल्याउदै डा. ओममुर्ति भन्छन्–‘ पुरुषको तुलनामा महिलामा मुटु रोगको समस्या स्पष्ट देखिदैन, महिलाको मुटुमै पीडा नभई घाँटी, बंगारा दुख्ने, स्वाँस्वाँ हुने लक्षण पनि मुटु रोगको कारण हुन सक्छ यसका आधारमा अन्यत्र केन्द्रित हुँदा मुटुको समस्या बल्झिएको पनि पाइन्छ ।’

सामान्यतया स्वस्थ महिलालाई महिनावारी सुक्नु भन्दा अघि मुटुको समस्या खासै नहुनुको पछाडि एस्ट्रोजन र प्रोजेस्ट्रोन हर्मोन को प्रभाव मानिन्छ । डा.ओममुर्तिको अनुसार एस्ट्रोजन हर्मोन महिलाको मुटुको लागि रक्षा कवच बनेको हुन्छ । यसले कोलस्ट्रोल बढ्न तथा मुटुका रक्तनली साँघुरिन दिँदैन । सँगै रक्तचाप समेत नियन्त्रणमा राख्छ । ५५–६० वर्षको उमेरमा महिनावारी सुकी सके पछि महिलामा पनि पुरुषको जस्तै मुटु रोगको जोखिम हुन्छ ।

धुमपान गर्ने महिला मुटु रोगको उच्च जोखिममा हुन्छ । धूम्रपान गर्ने बानी सँगै कोलस्ट्रोलको मात्रा उच्च हुनु र मधुमेह समेत देखिनु भनेको मुटुको रोग लाग्ने सम्भावनामा अत्यधिक बृद्घिद्घहुनु हो । ‘यो उमेरमा धूम्रपान गर्ने महिला हरु पुरुषको तुलनामा बही प्रभावित हुन्छन’, डा.ओममुर्ति भन्छन–‘त्यसैले महिलाले मुटु स्वस्थ राख्न केही सावधानी अपनाउनु पर्छ । महिनावारी सुकेपछि झन बढी सचेत हुनुपर्छ ।’

महिला र पुरुषमा मुटु रोगका लक्षण उस्ता उस्तै हुदैन, फरक–फरक हुन्छ । ‘महिलामा ‘इसिजी’ गर्दा पनि अस्पष्ट लक्षण देखिन्छ’, डा. ओममुर्ति भन्छन– ‘लक्षण अस्पष्ट भए पनि यद्यपि तिनै लक्षणका आधारमा उपचार गरेर महिलालाई हर्ट एटैक बाट जोगाउन सकिन्छ ।’

कहिले काही महिलामा देखिने हर्ट एटैकको लक्षण स्पष्ट नहुने हुँदा चिकित्सकहरू समेत झुक्किने गरेको जनाउदै ओममुर्ति भन्छन–‘हर्ट एटैकको लक्षण ढिलो मात्र थाहा हुँदा यसले उपचारवाट आउनु पर्ने जति प्रतिफल आउदैन भने मृत्युको जोखिम समेत बढछ ।’

मुलुकमा सामाजिक कारणले गर्दा समेत धेरै महिला स्वास्थ्य सम्बन्धी स–साना समस्यालाई बेवास्ता गर्छन । महिलाहरु आफनो रोग समेत लुकाउने गरेकी छिन । समयमै स्वास्थ्य निकायमा गएर रोगको उपचार गर्न सके यसले जटिलतामा कमी आउनुको सार्थ भविष्यमा हुन सक्ने समस्याहरुमा समेत कमी आउछ ।
के हो मेनोपज?
प्राकृतिक रुपमा जव महिलाहरुको मासिक धर्म पुर्ण रुपमा बन्द हुने अवस्था लाइ महिनावारी सुक्नु, रजोनिवृत्ति (मेनोपज) भनिन्छ । नेपाली महिलामा महिनावारी सुक्ने समय सामान्यतया ४५–५० वर्ष को विच हुन्छ । पेरि मेनोपज अर्थात महिनावारी सुक्नु भन्दा पहिले देखिने अनियमित पिरियड पछि मेनोपजमा महिनावारी हुन वन्द हुन्छ ।

महिनावारी सुके पछि महिलाले आमा वन्ने क्षमता गुमाउछिन । महिलाको लागि शरिरको यो अवस्था उनिहरुको लागि शारिरीक र मानसिक रुपमा धेरै बढी परिवर्तन लिएर आउछ । तर यो कुनै रोग होइन, शरिरको सामान्य गतिविधि हो, जो उमेर संग आउने गर्छ । यसलाइ विना कुनै तनाव सम्हाल्ने आवश्यकता हुन्छ ।

धेरै जसो महिलालाइ महिनावारीको अन्तिम मितिको करिव ४ वर्ष पहिले देखी मेनोपजको लक्षण देखिन थाल्छ । तर केहि महिलालाइ मेनोपज हुनुको एक वर्ष पहिले नै यसको लक्षण देखिन सक्छ । यी लक्षणहरु देखिनु महिलाको शारिरीक स्थिति मा निर्भर गर्छ । मेजोपज हुनुभन्दा धेरै वर्ष अघि देखी नै शरिर एस्ट्रोजन र प्रोजेस्ट्रोन हर्मोनकै निस्कासन गर्न विस्तारै विस्तारै कम गर्न लाग्छ । यो हर्मोन महिनजावारी र गर्भ धारण मा सघाउछ । यसको कमीमा महिनावारी आउन वन्द हुन्छ र आमा वन्ने क्षमता समेत समाप्त हुन्छ ।

बचाउको उपाय

  • महिनावारी सुक्नु अगावै जीवनशैली तथा खानपानमा विशेष ध्यान पुयाउनुपर्छ
  • गुलियो, चिल्लो तथा मसालेदार खानेकुरा खानुहुदैन। तौल नियन्त्रणमा राख्नुपर्छ
  • शारीरिक सक्रियता, उपयुक्त व्यायाम गर्नुपर्छ
  • बिहान, दिउसो तथा बेलुकी जुनसुकै समय भए पनि १ घन्टा हिंड्नुपर्छ
  • अस्वस्थ बानी जस्तो धूम्रपान, मद्यपानको अम्मल त्याग्नु पर्छ
  • रोग लुकाएर बस्नु हुदैन स–साना–समस्या समेत परिवारका सदस्यलाई बताउनुपर्छ

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!