सुनसरीको बर्जू गाउँ पालिकामा १० हजार बाल बालिका लाई दादुराको खोप लगाइँदै


सुनसरी — सुनसरीको बर्जू गाउँपालिकामा दादुरा फैलिएपछि स्थानीय बालबालिकाहरूलाई दादुरा संक्रमण विरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय सुनसरीले वडा नं २ मा ७ महिने शिशुमा दादुरा पुष्टि भएपछि एकै साथ १० हजार बालबालिकालाई दादुरा खोप लगाउने तयारी थालेको हो । उक्त खोप ६ महिनादेखि १५ वर्ष उमेर समूहका व्यक्तिहरूलाई लगाइने छ ।

बर्जू गाउँपालिकाका अनुसार दुई सातामा गाउँपालिकाका  ६ मध्ये ४ वटा वडामा २९ जना दादुराका बिरामी भेटिएका छन् । जसमध्ये केही वयस्क समेत रहेका छन् । यससँगै गाउँपालिकाको एकै स्थानमा एक साथ ५ जना भन्दा बढी दादुरा संक्रमित भेटिए सँगै स्वास्थ्य कार्यालय सुनसरीले आपतकालीन कार्य योजना अघि बढाएको छ ।

प्रदेश १ सरकार, स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य संगठन, युनिसेफ तथा स्थानीय निकाय सँगको समन्वयमा दादुरा फैलन नदिन स्वास्थ्य कार्यालय सुनसरीले एकसाथ १० हजार बालबालिकालाई दादुरा विरुद्धको खोप लगाउने तयारी थालेको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईँले बताए । बर्जू का सबै ६ वटै वडाहरूमा फागुनको १६ गतेबाट एकसाथ दादुरा विरुद्धको खोप अभियान सञ्चालनमा ल्याइनेछ ।

डब्लुएचओ को अनुसार दादुरा अझै पनि धेरै विकासोन्मुख देशहरूमा, विशेष गरी अफ्रिका र एशियाका केही भागहरूमा सामान्य छ । सन २०१८ मा दादुराबाट १ लाख ४० हजार भन्दा बढी मानिसहरूको मृत्यु भयो। दादुराबाट हुने मृत्युको ठूलो संख्या (९५ प्रतिशत भन्दा बढी) प्रति व्यक्ति कम आय र कमजोर स्वास्थ्य पूर्वाधार भएका देशहरूमा हुन्छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!