पूर्व स्वास्थ्य राज्यमन्त्री यादव मधेशको मुख्यमन्त्री बने


जनकपुर — मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपा संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । बुधबार प्रदेश प्रमुख हरिशंकर मिश्रले यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । यादव २०६८ सालमा संघीय सरकारमा स्वास्थ्य राज्य मन्त्री भएका थिए ।

२४ वर्षकै उमेरमा वीरगञ्जका ठाकुर राम बहुमुखी क्याम्पसमा पढ्दा पढ्दै तत्कालीन हरिहरपुर गाविसको अध्यक्षमा पहिलो पटक निर्वाचित हुँदै उनी राजनीतिक यात्रा थालेका थिए । २०३० सालमा जन्मिएका उनी सिम्रौनगढ नगरपालिका –३ नयका टोल निवासी हुन  । उनले प्रवीणता प्रमाणपत्र तह (आईएससी) सम्म अध्ययन गरेका छन ।

बुधबार नै नेकपा एमाले, माओवादी केन्द्र, जनमत पार्टी र २ जना स्वतन्त्र गरी ६३ जना सांसदको समर्थनमा यादवले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । मधेस प्रदेशमा बहुमतका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ । १०७ सिट रहेको मधेश प्रदेशमा यादवलाई एमालेका २३, जसपाका १६, जनमतका १३ माओवादीका ८ र ३ जना स्वतन्त्र सांसदको समर्थन प्राप्त छ । बारा १(२) बाट दोस्रो पटक प्रदेशसभामा निर्वाचित यादव प्रदेशका पूर्वसभामुख समेत हुन् । मधेसमा जसपा र जनमतले आलोपालोमा मुख्यमन्त्री पद लिने सत्ता गठबन्धनमा सहमति भएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!