बीपीकेआइएचएसका पूर्व उपकुलपति डा.रौनियारको निधन


सुनसरी — बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बिपिकेआइएचएस), धरानका पूर्वउपकुलपति प्रा.डा. राजकुमार रौनियारको मंगलबार बिहान निधन भएको छ ।

मधुमेह र उच्च रक्तचापबाट पीडित ५६ वर्षीय रौनियार केही महिनादेखि बिरामी थिए । उनलाई  उपचारका लागि भारतको कोलकाताको एउटा अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा रौनियारको कोलकाता मै निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनका श्रीमती र एक छोरा छन् ।

सुनसरी जिल्लाको दुहबी नगरपालिका –५ घर भएका स्वर्गीय रौनियारले भारतको केरल विश्वविद्यालयबाट एमबीबीएस गरेका थिए । उनले अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) दिल्लीबाट रेडियो डाइग्नोसिसमा एमडी समेत गरेका थिए ।
सन् १९९३ देखि रेडियोलोजिस्टका रूपमा प्रतिष्ठानमा प्रवेश गरेका रौनियार नेपाल रेडियोलोजिस्ट संघका अध्यक्ष, सार्क रेडियोलोजिस्ट संघका समेत अध्यक्ष थिए ।

लामो समयदेखि रेडियोलोजी विभागको प्रमुख भएर काम गरिसकेका रौनियारलाई बीपी प्रतिष्ठानको उपकुलपति भएको केही वर्षपछि भ्रष्टाचार मुद्दामा मुछिए पनि गत महिना मात्र विशेष अदालतले सफाइ दिएको थियो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!