वीर अस्पतालका डा. दीपककुमार मिश्रलाई स्वर्ण पदक सहित ‘सम्झना सेवा पुरस्कार’
काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत वीर अस्पतालको कार्डियोलोजी विभागमा कार्यरत उपप्राध्यापक डा. दीपककुमार मिश्र सम्मानित भएका छन।
वीर अस्पतालको १३७ औँ वार्षिकोत्सवका अवसरमा डा. मिश्रलाई ‘सम्झना सेवा पुरस्कार’ प्रदान गरिएको हो। मुगेन्द्र सम्झना चिकित्सा गुठीले वीर अस्पतालमा स्थापना गरेको अक्षयकोषबाट उनलाई स्वर्ण पदक सहित प्रशंसापत्र प्रदान गरिएको हो।
प्रशंसापत्रमा डा. मिश्रले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान तथा वीर अस्पतालमा लगनशीलता, अनुशासन र सेवाभावका साथ काम गरेकाले स्वर्ण पदक सहितको ‘सम्झना सेवा पुरस्कार’ प्रदान गरिएको उल्लेख छ।
वार्षिकोत्सव समारोहमा डा. मिश्र सहित विभिन्न विधामा कार्यरत कर्मचारी तथा स्वास्थ्यकर्मीलाई पनि सम्मान गरिएको थियो। यस अन्तर्गत कार्डियोलोजी विभागकी स्टाफ नर्स अम्बिका घिमिरे लाई समेत गुठीको सम्झना सेवा पुरस्कार प्रदान गरिएको थियो। यस्तै अस्पतालको पोस्ट अपरेटिभ वार्ड लाई उत्कृष्ट आइपिसी वार्ड प्रशंसा पत्र प्रदान गरिएको थियो ।
दीर्घ सेवा कदरपत्र
दीर्घ सेवा कदरपत्रबाट न्याम्सका पूर्वउपकुलपति प्रा. डा. भूपेन्द्रकुमार बस्नेत, सीअहेबद्वय सविता जोशी र सीता ढकाल, जनस्वास्थ्य अधिकृत नानीमैया दाहाल, जनस्वास्थ्य निरीक्षक मोहनकुमार रौनियार, अनमी यामकुमारी पोखरेल र कार्यालय सहयोगी भुपालसिंह मोक्तान सम्मानित भएका छन।
उत्कृष्ट कर्मचारी सम्मान
उत्कृष्ट कर्मचारी प्रशंसापत्र बाट क्लिनर सुस्मिता सदाशंकर, स्टाफ नर्स ज्योति कोइराला र सहायक कम्प्युटर अपरेटर दीपक पाण्डे सम्मानित भएका छन।
यस्तै, दया फाउन्डेसन नर्सिङ एक्सिलेन्स अवार्डबाट रूपा कँडेल, सोनम गुप्ता, रेश्मा श्रेष्ठ, सेन्सङ लामा र सुवर्णलक्ष्मी सिंह सम्मानित भएका छन।
सोही अवार्डअन्तर्गत जीवन पर्यन्त योगदान सम्मानबाट जुनिका पण्डित, मञ्जुदेवी झवाली, रेणुका कट्टेल, कुशेश्वरी श्रेष्ठ र मोहनकेसरी बज्राचार्य सम्मानित भएका छन।

प्रतिक्रिया दिनुहोस