विश्व रक्तदाता दिवस
८५% रगत स्वैच्छिक दानबाट संकलन हुँदा पनि गरिब देशमा किन छ रगतको हाहाकार?
काठमाडौँ- विश्वभर स्वैच्छिक रक्तदान ८५ प्रतिशत भन्दा माथि पुगेर सुरक्षित रगतको आपूर्तिमा ऐतिहासिक सुधार देखिए पनि गरिब देशमा आवश्यक परेका बेला रगत नपाएर सुत्केरी र बालबालिकाले ज्यान गुमाउनुपर्ने विभेदकारी अवस्था अझै कायमै रहेको छ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जुन १४ मा मनाइने ‘विश्व रक्तदाता दिवस’ को पूर्वसन्ध्यामा सार्वजनिक गरेको प्रतिवेदनले विश्वको कुल जनसङ्ख्याको १५ प्रतिशत मात्र हिस्सा ओगट्ने धनी देशहरूले कुल रगतको ३६ प्रतिशत कब्जा गर्दा न्यून आय भएका देशहरू भने चरम कानुनी, वित्तीय र प्रणालीगत अभावसँग जुधिरहेको देखाएको छ।
कम आय भएका देशहरूमा आवश्यक परेको बेला सुरक्षित रगत नपाउने समस्या अझै गम्भीर रूपमा कायम रहेको डब्लुएचओले जनाएको छ । डब्लुएचओको नयाँ प्रतिवेदन अनुसार सन २०१३ देखि २०२३ सम्म विश्वभर रगत संकलन करिब १९ प्रतिशतले वृद्धि भएको छ। सन् २०२३ मा संकलित अनुमानित १२ करोड रक्तदानमध्ये ८५ प्रतिशत भन्दा बढी हिस्सा स्वैच्छिक तथा निःशुल्क रक्तदाताबाट प्राप्त भएको छ।
डब्लुएचओका अनुसार स्वैच्छिक र निःशुल्क रक्तदान सुरक्षित, गुणस्तरीय र दीगो रक्त आपूर्तिको आधारका रूपमा स्थापित हुँदै गएको छ। तर, यो उपलब्धिका बाबजुद सुरक्षित रगत तथा रक्तजन्य उत्पादनमा पहुँच विश्वभर समान छैन।
विशेषगरी न्यून आय भएका देशहरूमा सुत्केरीका क्रममा अत्यधिक रक्तस्राव भएका महिला, गम्भीर रक्तअल्पता भएका बालबालिका, दुर्घटना वा डढेलोका घाइते, शल्यक्रियामा रहेका बिरामी तथा थालासेमिया, हिमोफिलिया, सिकल सेल रोग, प्रतिरक्षा प्रणाली सम्बन्धी समस्या र केही प्रकारका क्यान्सर भएका बिरामीहरूले आवश्यक समयमा सुरक्षित रगत प्राप्त गर्न नसकेको प्रतिवेदनले देखाएको छ।
डब्लुएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले आवश्यक परेको समयमा सुरक्षित रगत नपाएकै कारण कसैले ज्यान गुमाउन नहुने बताएका छन।
उनले भने,’विश्वभर स्वैच्छिक तथा निःशुल्क रक्तदाताको योगदान बढ्नु उत्साहजनक उपलब्धि हो। तर मानिस कुन स्थानमा बस्छ भन्ने आधारमै उसले आवश्यक रक्तसञ्चार सेवा पाउने वा नपाउने अवस्था अझै कायम रहनु चिन्ताजनक विषय हो।’
उनले सरकारहरूलाई बलियो र दीगो राष्ट्रिय रक्तसञ्चार प्रणाली निर्माणमा लगानी बढाउन तथा स्वैच्छिक रक्तदातालाई प्रोत्साहन गर्न आग्रह गरेका छन।
धनी र गरिब देशबिच रगत उपलब्धतामा ठूलो असमानता
प्रतिवेदन अनुसार विश्व जनसंख्याको केवल १५ प्रतिशत हिस्सा ओगट्ने उच्च आय भएका देशहरूले विश्वभर संकलित कुल रक्तदानको ३६ प्रतिशत संकलन गर्छन।
अर्कोतर्फ न्यून आय भएका देशहरूमा सीमित बजेट, कमजोर स्वास्थ्य पूर्वाधार, वितरण व्यवस्थापनको समस्या तथा पर्याप्त रक्तदाता परिचालन हुन नसक्दा रगतको अभाव कायम छ।
देश अनुसार रक्तदान दरमा पनि ठूलो अन्तर देखिएको छ। केही देशमा प्रति हजार जनसंख्यामा ०.४ युनिट मात्र रगत संकलन हुने गरेको छ भने केहीमा यो संख्या ५३ युनिटसम्म पुगेको छ। २४ वटा देशमा प्रति हजार जनसंख्यामा ५ युनिट भन्दा कम रगत संकलन हुने गरेको तथ्याङ्कले देखाएको छ।
उच्च आय भएका देशहरूमा कुल रक्तदानको ९८.४ प्रतिशत स्वैच्छिक तथा निःशुल्क स्रोतबाट प्राप्त हुने गरेको छ भने न्यून आय भएका देशहरूमा यो दर ६३.४ प्रतिशतमा सीमित छ।
कानुन, नियमन र बजेट अझै चुनौती
डब्लुएचओका अनुसार सुरक्षित रगत आपूर्तिका लागि बलियो शासन प्रणाली, स्पष्ट कानुनी संरचना, नियमित नियमन र दीगो वित्तीय स्रोत आवश्यक हुन्छ। तर विश्वका करिब एकतिहाइ देशमा रगत तथा रक्तजन्य उत्पादनको गुणस्तर र सुरक्षा सुनिश्चित गर्ने छुट्टै कानुनी व्यवस्था छैन।
केवल ६४ प्रतिशत देशमा रगत सेवाको नियमित निरीक्षण प्रणाली रहेको, ६२ प्रतिशतमा लाइसेन्स प्रणाली लागू रहेको तथा ४० प्रतिशत देशमा मात्र कम्तीमा केही रक्तसञ्चार सेवा प्रमाणीकरण गरिएको अवस्था रहेको प्रतिवेदनमा उल्लेख छ।
वित्तीय व्यवस्थापन पनि चुनौतीपूर्ण देखिएको छ। सातमध्ये एक भन्दा बढी देशमा रक्तसञ्चार सेवाका लागि न त छुट्टै सरकारी बजेट रहेको छ, न त लागत पुनर्प्राप्तिको स्पष्ट संयन्त्र।
यस वर्षको विश्व रक्तदाता दिवस ‘मानवताको एक थोपा: रगत दिनुहोस, जीवन बचाउनुहोस’ भन्ने नाराका साथ मनाइँदै छ। डब्लुएचओले सबै देशलाई रगत सेवाको शासन र नियमन बलियो बनाउन, दिगो लगानी सुनिश्चित गर्न, गुणस्तर सुधार कार्यक्रम विस्तार गर्न तथा सबै नागरिकलाई सुरक्षित रगतमा समान पहुँच सुनिश्चित गर्न आह्वान गरेको छ।

प्रतिक्रिया दिनुहोस