युवा पुस्ता फसाउँदै ‘निकोटिन पाउच’, मस्तिष्क विकासमै गम्भीर असर : डब्लुएचओंको कडा चेतावनी
काठमाडौँ – चकलेट जस्तै स्वाद र आकर्षक प्याकेजिङमा बजारमा भित्रिएको ‘निकोटिन पाउच’ (एक प्रकारको सुर्ती रहित प्याकेट) ले युवा र किशोर- किशोरीहरूलाई तीव्र रूपमा कुलतको शिकार बनाउन थाले पछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले विश्वव्यापी रूपमा कडा चेतावनी जारी गरेको छ।
विश्वका करिब १६० देशमा यसलाई नियन्त्रण गर्ने स्पष्ट कानुन नहुँदा उत्पादक कम्पनीहरूले सामाजिक सञ्जाल र डिजिटल माध्यमबाट आक्रामक बजार प्रवर्द्धन गरिरहेको र यसले नयाँ पुस्ताको मस्तिष्क विकास मै गम्भीर आघात पुर्याइरहेको डब्ल्यूएचओको पछिल्लो प्रतिवेदनले खुलासा गरेको छ।
विशेष गरी किशोर-किशोरी तथा युवाहरूलाई लक्षित गरी उत्पादक कम्पनीहरूले गरिरहेको आक्रामक र भ्रमपूर्ण बजार प्रवर्द्धन (मार्केटिङ) प्रति सङ्गठनले ध्यानाकर्षण गराएको हो।
आगामी मे ३१ मा मनाइने ‘विश्व सुर्तीरहित दिवस’ भन्दा अघि आएको डब्लुएचओ को प्रेस विज्ञप्ति अनुसार, अधिकांश मुलुकमा यस्ता नयाँ उत्पादनलाई नियन्त्रण गर्ने कानुनी व्यवस्था सीमित वा शून्य रहेकाले युवाहरूमा निकोटिनको निर्भरता र यस सम्बन्धी स्वास्थ्य जोखिम तीव्र बनेको छ।
यस वर्षको सुर्तीरहित दिवसको मूल विषयवस्तु पनि युवा पुस्तालाई कुलतमा फसाउन उद्योगहरूले अपनाउने रणनीतिलाई उजागर गर्ने तर्फ केन्द्रित छ।
तीव्र बजार विस्तार र कानुनी शून्यता
निकोटिन पाउच साना प्याकेट (पाउच) मा उपलब्ध हुने सुर्तीरहित उत्पादन हो, जसलाई गिजा र ओठको बीचमा राखेर मुखको माध्यमबाट निकोटिन सोस्ने गरिन्छ। यसमा निकोटिनका अतिरिक्त विभिन्न स्वाद (फ्लेभर), गुलियोपन र अन्य रसायनहरू मिसाइएका हुन्छन। तथ्याङ्क अनुसार सन २०२४ मा मात्रै विश्व भर २३ अर्बभन्दा बढी युनिट निकोटिन पाउच बिक्री भएका थिए, जुन अघिल्लो वर्षको तुलनामा ५० प्रतिशत भन्दा बढीको वृद्धि हो। सन २०२५ सम्ममा यसको विश्वव्यापी बजार झन्डै ७ अर्ब अमेरिकी डलर पुगेको प्रतिवेदनमा उल्लेख छ।
डब्ल्यूएचओको ‘टोबाको फ्री इनिसिएटिभ’ का एकाइ प्रमुख डा. विनायक प्रसादका अनुसार निकोटिन पाउचको प्रयोग द्रुत गतिमा फैलिरहेको भए तापनि यसलाई नियन्त्रण गर्ने कानुनी नियमहरू भने निकै सुस्त छन। उनले सरकारहरूलाई प्रमाणमा आधारित बलिया सुरक्षा उपायहरू तत्काल लागू गर्न आह्वान गरे ।
विकासोन्मुख मस्तिष्कमा गम्भीर आघात
निकोटिन आफैँमा अत्यधिक लत लगाउने र हानिकारक तत्व भएको उल्लेख गर्दै डब्ल्यूएचओले विशेष गरी बालबालिका, किशोर किशोरी र युवाहरूको विकासोन्मुख मस्तिष्कमा यसले गम्भीर असर पुर्याउने जनाएको छ। किशोरावस्थामा हुने निकोटिनको संसर्गले ध्यान केन्द्रित गर्ने क्षमता र सिकाइ प्रक्रियालाई अवरुद्ध पार्छ।
कम उमेरमै निकोटिनको लत बस्दा भविष्यमा अन्य सुर्तीजन्य पदार्थको प्रयोग गर्ने सम्भावना बढ्नुका साथै मुटु र रक्तसञ्चार प्रणाली (कार्डियोभास्कुलर) सम्बन्धी रोगहरूको जोखिम उच्च रहन्छ। बजारमा उपभोक्तालाई आकर्षित गर्न ‘बिगनर्स’ देखि ‘एक्सपर्ट’ सम्मका विभिन्न श्रेणीमा वर्गीकरण गरी १५० एमजी सम्म उच्च मात्रामा निकोटिन भएका पाउचहरू बिक्री भइरहेको पाइएको छ।
फितलो नियमनको फाइदा उठाउँदै उद्योगहरू
फितलो कानुनी व्यवस्थाका कारण युवा पुस्ता यसको प्रत्यक्ष जोखिममा परेका छन। डब्ल्यूएचओको अन्तर्राष्ट्रिय प्रतिवेदन अनुसार:
- विश्वका करिब १६० देशमा निकोटिन पाउच सम्बन्धी कुनै विशिष्ट नियमन छैन।
- १६ वटा देशले मात्र यसको बिक्रीमा पूर्ण प्रतिबन्ध लगाएका छन।
- ३२ देशले यसलाई आंशिक रूपमा नियमन गरेका छन्, जसमध्ये
- ५ देशले स्वाद (फ्लेभर) मा, २६ देशले नाबालकलाई गरिने बिक्रीमा र २१ देशले यसको विज्ञापन तथा प्रायोजनमा प्रतिबन्ध लगाएका छन।
डब्ल्यूएचओका ‘हेल्थ डिटरमिनेन्ट्स, प्रवर्द्धन तथा रोकथाम’ विभागका निर्देशक डा. एटिएन क्रुगले यी उत्पादनहरू लत लगाउने उद्देश्यले नै तयार पारिएकाले उद्योगहरूको प्रलोभनबाट युवाहरूलाई जोगाउनु अपरिहार्य भएको बताए ।
उत्पादकहरूले युवाहरूलाई आकर्षित गर्न सामाजिक सञ्जाल, इन्फ्लुएन्सर मार्केटिङ, कन्सर्ट तथा खेलकुद प्रतियोगिताहरूको प्रायोजन (जस्तै फर्मुला-१) र चकलेट जस्ता स्वादहरूको प्रयोग गरिरहेको प्रतिवेदनले देखाएको छ। कतिपय प्याकेजिङ त हुबहु चल्तीका चकलेटका बट्टा जस्तै देखिने भएकाले साना बालबालिका समेत जोखिममा परेका छन।
डब्ल्यूएचओद्वारा आठ बुँदे मार्गनिर्देशन सिफारिस
डब्ल्यूएचओले सबै देशका सरकारहरूलाई निकोटिन पाउच सहित सम्पूर्ण सुर्तीजन्य र निकोटिन उत्पादनहरू समेट्ने गरी विस्तृत कानुन बनाउन आग्रह गर्दै निम्न उपायहरू सिफारिस गरेको छ ।
- विभिन्न स्वाद (फ्लेभर) का उत्पादनमा पूर्ण प्रतिबन्ध वा कडा नियन्त्रण।
- सामाजिक सञ्जाल र इन्फ्लुएन्सरमार्फत हुने विज्ञापन, प्रवर्द्धन र प्रायोजनमा पूर्ण रोक।
- उमेर प्रमाणीकरणको कडा व्यवस्था र खुद्रा बिक्रीमा नियन्त्रण ।
- प्याकेटमा स्पष्ट स्वास्थ्य चेतावनी र सादा प्याकेजिङ (प्लेन प्याकेजिङ) को व्यवस्था।
- पाउचमा राखिने निकोटिनको अधिकतम मात्रा निर्धारण।
- युवाहरूको पहुँच घटाउन उच्च करको दायरामा ल्याउने।
- कम्पनीहरूको रणनीति र प्रयोगको प्रवृत्तिको नियमित अनुगमन
- नीतिहरूको कडा कार्यान्वयन र कारबाही।
युवा पुस्तालाई निकोटिनको दीर्घकालीन निर्भरताबाट जोगाउन र यसको प्रयोगलाई सामान्यीकरण गर्ने भ्रमपूर्ण वातावरण चिर्न अन्तर्राष्ट्रिय स्तरमै तत्काल र एकीकृत कदम चाल्नुपर्नेमा डब्ल्यूएचओले जोड दिएको छ।

प्रतिक्रिया दिनुहोस