गुणस्तर फेल भएपछि ‘करेन्ट’ चाउचाउ को एक ब्याच बजारबाट फिर्ता, बिक्री वितरणमा लाग्यो पूर्ण रोक


काठमाडौँ -बजारमा अत्यधिक लोकप्रिय रहेको ‘करेन्ट’ ब्रान्डको चाउचाउमा मानव स्वास्थ्यका लागि हानिकारक मानिने तेलको गुणस्तर (एसिड भ्यालु) फेल भएपछि सरकारले उक्त चाउचाउ बजारबाट तत्काल फिर्ता (रिकल) गर्न आदेश जारी गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्रयोगशाला परीक्षणमा मापदण्ड विपरीत भेटिएको ब्याच नम्बर ‘०४ए’ को १०० ग्रामका सम्पूर्ण चाउचाउ बिक्री वितरण नगर्न र बजारबाट तुरुन्त हटाउन उत्पादक यशोधा फुड्सलाई कडा निर्देशन दिएको हो।

विभागका अनुसार बजार अनुगमन र निरीक्षणका क्रममा संकलन गरिएको चाउचाउको नमुना प्रयोगशालामा परीक्षण गर्दा नेपाल सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्ड पूरा नभएको पाइएको छ।

विभागले जारी गरेको विवरण अनुसार फिर्ता गराउन लागिएको यशोधा फुड्स प्रा.लि., तिलोत्तमा न.पा.-१५, रुपन्देही द्वारा उत्पादित करेन्ट ब्रान्डको १०० ग्राम प्याकेट भएको चाउचाउ रहेको छ ।उक्त करेन्ट चाउचाउको ब्याच नम्बर ०४ ए, उत्पादन मिति २०८१ जेठ २३ गते र उपभोग्य अवधि – उत्पादन भएको मितिले १२ महिना रहेकोछ।

फिर्ता गराउनुको मुख्य कारण

प्रयोगशाला परीक्षणका क्रममा उक्त ब्याचको चाउचाउमा ‘एक्सट्र्याक्टेड फ्याटको एसिड भ्यालु’ नेपाल सरकारले तोकेको अनिवार्य मापदण्ड अनुकूल नपाइएको विभागले जनाएको छ। एसिड भ्यालु मापदण्ड भन्दा फरक हुनुले प्रयोग गरिएको तेलको गुणस्तर कमजोर रहेको वा उक्त खाद्य पदार्थ स्वस्थकर नरहेको संकेत गर्छ।

विभागको निर्देशन र कानुनी व्यवस्था 

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ को उपदफा (२) बमोजिम विभागले उक्त ब्याच नम्बरका सम्पूर्ण चाउचाउ बजारबाट तत्काल फिर्ता (रिकल) गर्न उत्पादक कम्पनीलाई आदेश दिएको छ।

यसै गरी, सोही ऐनको उपदफा (४) अनुसार उक्त ब्याचको चाउचाउ बिक्री वितरण नगर्न र नगराउन समेत महानिर्देशकको निर्देशन अनुसार सम्बन्धित सबैलाई सूचित गरिएको छ। विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृतद्वारा हस्ताक्षरित यो आदेश सँगै अब बजारबाट उक्त ब्याचका सामानहरू हटाउने प्रक्रिया सुरु हुनेछ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!