विश्व उच्च रक्तचाप दिवस

दक्षिण पूर्वी एसियामा १५ करोड बढीलाई आफ्नो उच्च रक्तचाप थाहै छैन, ८०% को बीपी अनियन्त्रित


काठमाडौँ –  दक्षिण पूर्वी एसियाली क्षेत्रमा उच्च रक्तचाप (हाइपरटेन्सन) एक भयानक ‘साइलेन्ट किलर’ का रूपमा देखा परेको छ, जहाँ यस रोगबाट पीडित २५ करोड भन्दा बढी मानिस मध्ये झन्डै १६ करोड (१५ करोड ९० लाख) लाई आफू यो रोगबाट ग्रसित भएको पत्तै छैन।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्व उच्च रक्तचाप दिवस २०२६ को अवसरमा सार्वजनिक गरेको यो तथ्याङ्कले प्राथमिक स्वास्थ्य क्षेत्रमा रहेको ठुलो सुरक्षा खाडललाई उजागर गर्दै तत्काल सामूहिक कदम चाल्न चेतावनी दिएको छ ।

मे १७ मा मनाइने विश्व उच्च रक्तचाप दिवस २०२६ को पूर्व सन्ध्यामा डब्लुएचओकी दक्षिण पूर्वी एसिया क्षेत्रकी निमित्त प्रमुख डा. क्याथरिना बोहेमले एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएकी हुन । यस वर्षको दिवस ‘उच्च रक्तचाप नियन्त्रणमा सहकार्य: नियमित रक्तचाप जाँचौँ, मन्द विष (साइलेन्ट किलर) लाई परास्त गरौँ’ भन्ने नाराका साथ मनाइँदै छ।

भयानक अवस्था: ८० प्रतिशतको रक्तचाप अनियन्त्रित

डब्लुएचओका अनुसार विश्व भर करिब १ अर्ब ४० करोड मानिस उच्च रक्तचापबाट पीडित छन। दक्षिण पूर्वी एसियाली क्षेत्रमा मात्रै यो संख्या २७ करोड ३० लाख भन्दा बढी छ। चिन्ताजनक कुरा के छ भने यस क्षेत्रमा उच्च रक्तचाप भएका हरेक १० मध्ये झन्डै ८ जना (८० प्रतिशत) को रक्तचाप नियन्त्रणमा छैन। यसले गर्दा हृदयघात, मस्तिष्कघात (स्ट्रोक) र मिर्गौला रोगको जोखिम तीव्र रूपमा बढेको छ।

उच्च रक्तचापलाई रोकथाम र व्यवस्थापन गर्न सकिने रोगका रूपमा लिइन्छ। खानपानमा सुधार, सुर्तीजन्य पदार्थको त्याग, मदिरा सेवनमा कमी र नियमित शारीरिक व्यायाम गर्नाले यसको जोखिम निकै कम हुन्छ। जीवनशैली परिवर्तन गर्दा पनि रक्तचाप नियन्त्रण नभएमा सस्तो र प्रभावकारी औषधिहरू उपलब्ध छन।

क्षेत्रीय प्रगति र आगामी लक्ष्य

दक्षिण पूर्वी एसियाली क्षेत्रमा उच्च रक्तचाप नियन्त्रणका लागि केही सकारात्मक प्रयासहरू पनि भएका छन्। डब्लुएचओको ‘सीहार्ट्स’ अभियानअन्तर्गत सन २०२५ को डिसेम्बर सम्ममा ६ करोड ८५ लाख भन्दा बढी बिरामीलाई सुव्यवस्थित उपचार पद्धतिको दायरामा ल्याइएको छ।

नुनको प्रयोग घटाउने डब्लुएचओको अभियानले यस क्षेत्रका २ अर्बभन्दा बढी मानिसलाई छोएको छ भने औद्योगिक ट्रान्स फ्याट (हानिकारक चिल्लो पदार्थ) विरुद्धको नीतिले २ अर्ब ३ करोड मानिस सुरक्षित भएका छन।

सन् २०३० सम्मका लागि तय गरिएका लक्ष्यहरू यस प्रकार छन ।

  • १० करोड उच्च रक्तचापका बिरामीलाई व्यवस्थित उपचारको दायरामा ल्याउने।
  • ६ करोड मानिसको रक्तचाप पूर्ण रूपमा नियन्त्रणमा ल्याउने।

चुनौतीहरू अझै बाँकी

प्रगति भइ रहे पनि स्वास्थ्य प्रणालीमा अझै ठूला खाडलहरू छन। उपचार गराइरहेका ६ करोड ८५ लाख बिरामी मध्ये केवल १ करोड ५३ लाखको मात्रै रक्तचाप नियन्त्रणमा आएको छ। धेरै स्वास्थ्य संस्थाहरूमा अझै पनि गुणस्तरीय रक्तचाप मापन गर्ने उपकरण (बीपी सेट) को अभाव छ।

त्यस्तै, प्राथमिक स्वास्थ्य केन्द्रहरूमा आवश्यक औषधिहरूको अभाव हुने र कम चक्की खाए पुग्ने मिश्रित औषधिहरू (सिंगल पिल कम्बिनेसन) राष्ट्रिय आवश्यक औषधिको सूचीमा समेटिन नसकेको डब्लुएचओले जनाएको छ। हाल यस क्षेत्रका ६ वटा देशले मात्र प्राथमिक स्वास्थ्य स्तरमा रक्तचाप नियन्त्रणको तथ्याङ्क राख्ने गरेका छन।

डब्लुएचओको आह्वान

यो मन्द विष (साइलेन्ट किलर) लाई परास्त गर्न डब्लुएचओले सबै पक्षलाई एकजुट हुन आह्वान गरेको छ

  • सरकार: सुर्तीजन्य र मदिराजन्य पदार्थमा कडा नियन्त्रण गर्ने, शारीरिक व्यायामलाई प्रोत्साहन गर्ने र प्राथमिक स्वास्थ्य सेवालाई बलियो बनाउने नीति ल्याउनु पर्छ।
  • नियामक निकाय र उत्पादक: घर र अस्पताल दुवै ठाउँमा प्रयोग गर्न मिल्ने सस्तो र प्रमाणित बीपी मेसिनको उपलब्धता बढाउनुपर्छ।
  • स्वास्थ्यकर्मी: रोगको चाँडो पहिचान, बिरामी शिक्षा र निरन्तर हेरचाहलाई प्राथमिकता दिनुपर्छ।
  • नागरिक समाज र सर्वसाधारण: समुदायमा सचेतना फैलाउने र प्रत्येक व्यक्तिले आफ्नो रक्तचाप नियमित जाँच गर्ने बानी बसाल्नुपर्छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!