ब्रेन डेथ भएका दाताबाट एकै व्यक्तिमा कलेजो र मिर्गौला प्रत्यारोपणको एक वर्ष पूरा
भक्तपुर – नेपालमा पहिलो पटक मस्तिष्क मृत्यु (ब्रेन डेथ) भएका दाताबाट एकै साथ कलेजो र मिर्गौला प्रत्यारोपण गराएका शिव महर्जनको शल्यक्रिया सफल भएको एक वर्ष पूरा भएको छ। नेपालको जटिल चिकित्सा इतिहासमा झण्डै ३६ घण्टा लामो शल्यक्रिया मार्फत नयाँ जीवन पाएका महर्जनको अहिले दुवै अंगले सामान्य रूपमा काम गरिरहेका छन र उनको स्वास्थ्य अवस्था पूर्ण रूपमा स्वस्थ रहेको छ।
प्रत्यारोपणको एक वर्ष पुगेको अवसरमा महर्जनले भक्तपुरस्थित सान अस्पताल पुगेर आफ्नो उपचारमा संलग्न टोलीका नेतृत्वकर्ता एवं अंग प्रत्यारोपण विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठलाई भेटी धन्यवाद दिएका छन।
गत वर्ष भक्तपुर कै सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक १८ वर्षीय मस्तिष्क मृत्यु भएका किशोरको शरीरबाट अंग झिकेर महर्जनमा प्रत्यारोपण गरिएको थियो। यो अत्यन्तै जटिल शल्यक्रिया र यसको सम्पूर्ण प्रक्रिया पूरा गर्न चिकित्सक टोलीलाई झण्डै ३६ घण्टा लागेको थियो। उक्त शल्यक्रिया को नेतृत्वकर्ता एवं त्यस्ताका प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक रहेका डा. पुकार २०८२ साल असोज महिनामा सरकारी सेवाबाट निवृत्ति भएका हुन।
अहिले महर्जनको स्वास्थ्य अवस्था सामान्य र निकै राम्रो छ। प्रत्यारोपण गरिएका दुवै अंग (कलेजो र मिर्गौला) ले राम्रोसँग काम गरिरहेका छन्। प्रत्यारोपणपछि महर्जनको नियमित स्वास्थ्य जाँच सान अस्पतालमा भइरहेको छ।
नयाँ जीवन पाएपछि खुसी व्यक्त गर्दै महर्जनले निःस्वार्थ भावले अंगदान गर्ने दाता र उनको परिवार प्रति गहिरो आभार प्रकट गरेका छन। साथै उनले चुनौतीपूर्ण शल्यक्रिया सफल पारेकोमा डा. श्रेष्ठ र सम्पूर्ण चिकित्सा टोली प्रति कृतज्ञता जनाए।
नेपालमा मस्तिष्क मृत्यु र अंग प्रत्यारोपणको अभ्यास अझै पनि प्रारम्भिक र विकासको क्रममै रहेको अवस्थामा यो सफलतालाई देशको स्वास्थ्य क्षेत्रकै एउटा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। अस्पतालले महर्जनको सुखद र दीर्घायुको कामना समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस