स्वास्थ्य नीति २०८३: कस्तो छ सरकारको तयारी?
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्वास्थ्य क्षेत्रलाई ‘स्वस्थ नागरिक, समृद्ध नेपाल’ को जगका रूपमा अघि सारेका छन ।
विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको सुदृढीकरण, अटिजम भएका बालबालिकाका लागि विशिष्टीकृत थेरापी सेवा र नेपाललाई ‘आरोग्य तथा आध्यात्मिक पर्यटन’ को विश्वकै केन्द्र बनाउने जस्ता महत्वाकांक्षी योजनाहरू यसपटकको प्राथमिकतामा परेका छन।
संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा ‘स्वस्थ नागरिक, समृद्ध नेपाल’ को अवधारणा अनुरूप स्वास्थ्य सेवाको गुणस्तर, पहुँच र पूर्वाधार विकासमा केन्द्रित रहेर सरकारले नयाँ योजनाहरू अघि सारेको छ। नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रका लागि घोषणा गरिएका मुख्य विषयहरू यस प्रकार छन ।
विद्यालय स्वास्थ्य र पोषण कार्यक्रमको सुदृढीकरण
सरकारले विद्यालय जाने बालबालिकाको स्वास्थ्य र पोषणलाई विशेष प्राथमिकता दिएको छ। बालबालिकाका लागि सुरक्षित सिकाइ वातावरण र सन्तुलित पोषण सुनिश्चित गर्न ‘विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम’ लाई अझ प्रभावकारी रूपमा देशभर विस्तार र सुदृढ गरिने नीति लिइएको छ।
विशिष्टीकृत स्वास्थ्य सेवा र थेरापी
अटिजम र ‘न्यूरोडाइभर्सिटी’ भएका बालबालिकाका लागि सरकारले विशेष सम्बोधन गरेको छ। यस्ता बालबालिकाहरूका लागि आवश्यक पर्ने थेरापी सेवा, विशेष तालिम प्राप्त शिक्षक र समावेशी विद्यालय प्रणालीको विकास गर्ने योजना अघि सारिएको छ।
पशु स्वास्थ्य र खोप अभियान
मानव स्वास्थ्यसँगै पशु स्वास्थ्यलाई पनि महत्व दिँदै सरकारले प्रदेश र स्थानीय तहको समन्वयमा अभियानमुखी खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ। विशेषगरी पशुपक्षीमा लाग्ने ‘खोरेत’ लगायतका संक्रामक रोग नियन्त्रणका लागि देशव्यापी खोप अभियान चलाइनेछ। पशु स्वास्थ्य सेवाको व्यवसायीकरणमार्फत पशुपालन क्षेत्रलाई सुरक्षित बनाउने सरकारको लक्ष्य छ।
व्यावसायिक सुरक्षा र स्वास्थ्य
कार्यस्थलमा काम गर्ने श्रमिकहरूको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्न सरकारले ‘व्यावसायिक सुरक्षा र स्वास्थ्य’ को प्रत्याभूति गर्ने नीति ल्याएको छ। यसका लागि डिजिटल श्रम निरीक्षण प्रणाली लागू गरी कार्यस्थललाई स्वास्थ्यमैत्री बनाइने उल्लेख छ।
आरोग्य र आध्यात्मिक पर्यटन
स्वास्थ्यलाई पर्यटनसँग जोड्दै नेपाललाई ‘आरोग्य’ र ‘आध्यात्मिक’ गन्तव्यको रूपमा विकास गर्ने घोषणा गरिएको छ। योग, ध्यान र प्राकृतिक चिकित्साका माध्यमबाट नेपाललाई विश्वकै आध्यात्मिक पर्यटन केन्द्र बनाउन ‘देवभूमि नेपाल’ अभियान सञ्चालन गरिनेछ।
माटोको स्वास्थ्य र जैविक खेती
नागरिकको स्वास्थ्य स्वच्छ खानपानमा निर्भर हुने भएकाले सरकारले माटोको स्वास्थ्य सुधारलाई पनि प्राथमिकता दिएको छ। जैविक र प्राङ्गारिक मलको प्रयोगमा अनुदान दिँदै रासायनिक विषादीको प्रयोगलाई निरुत्साहित गर्ने र रैथाने बालीको प्रवर्धन गर्ने नीति लिइएको छ।
खेलकुद र शारीरिक स्वास्थ्य
खेलकुदलाई राष्ट्रिय एकता र नागरिकको शारीरिक तथा मानसिक स्वास्थ्यको आधार मान्दै विद्यालय तहदेखि नै प्रतिभा पहिचान र खेलकुद विकासका कार्यक्रमहरू सञ्चालन गरिनेछ।
सरकारले यी नीतिहरू मार्फत स्वास्थ्य सेवालाई सर्वसुलभ र प्रविधिमैत्री बनाउँदै नागरिकको जीवनस्तरमा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस