हन्टाभाइरसको त्रास: ‘यो कोभिड होइन, नडराउनुस’,–डब्लुएचओ प्रमुख डा. टेड्रोस


काठमाडौँ – ​’हन्टाभाइरसको जोखिमलाई लिएर चिन्तित टेनेरिफका बासिन्दालाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले सिधै सम्बोधन गर्दै यो ‘दोस्रो कोभिड’ नभएको र जोखिम न्यून रहेको भन्दै आश्वस्त पारेका छन ।

डब्लुएचओका महानिर्देशक डा. टेड्रोसले टेनेरिफका बासिन्दाहरूलाई सम्बोधन गर्दै अहिले देखिएको हन्टाभाइरसको जोखिम न्यून रहेको बताएका हुन ।  एमभी होन्डियस नामक जहाजमा संक्रमण देखिए पछि चिन्तित बनेका स्थानीयलाई आश्वस्त पार्न उनले शनिबार एक विशेष सन्देश जारी गरेका हुन ।

महानिर्देशक टेड्रोसले स्पेनको म्याड्रिडबाट जारी गरेका सन्देशमा यसलाई सन २०२० को कोभिड महामारीसँग तुलना नगर्न आग्रह गरेका छन ।  उनका अनुसार यो भाइरसबाट डराउनुपर्ने अवस्था छैन र सर्वसाधारणको दैनिक जीवनमा यसको जोखिम निकै कम छ।

सुरक्षित अवतरणको योजना

जहाजमा रहेका यात्रुहरूलाई सुरक्षित रूपमा घर फर्काउन स्पेन सरकारले विस्तृत योजना बनाएको छ। संक्रमण देखिएको एन्डिज स्ट्रेन बाट हालसम्म तीन जनाको मृत्यु भइसकेको छ। यद्यपि, अहिले जहाजमा कुनै पनि यात्रुमा लक्षण नदेखिएको डब्लुएचओले जनाएको छ।

यात्रुहरूलाई बस्ती भन्दा टाढा रहेको ग्रानाडिला औद्योगिक बन्दरगाहमा उतारिनेछ। त्यहाँबाट उनीहरूलाई कडा सुरक्षाका साथ सिल गरिएका सवारी साधनमा राखेर सिधै विमानस्थल पुर्‍याइने र आफ्नै देश पठाइनेछ। स्थानीय बासिन्दासँग उनीहरूको कुनै पनि सम्पर्क नहुने सुनिश्चित गरिएको छ।

मानवीयता र ऐक्यबद्धताको प्रशंसा

अन्तर्राष्ट्रिय स्वास्थ्य नियम अनुसार पर्याप्त स्वास्थ्य पूर्वाधार भएको नजिकको बन्दरगाहमा जहाजलाई अवतरण गराउनु पर्ने प्रावधान छ। सोही अनुसार टेनेरिफ छनोट भएको र स्पेनले देखाएको यो मानवीय सहयोगको डा. टेड्रोसले प्रशंसा गरेका छन ।

‘जहाजमा २३ देशका झण्डै १५० यात्रुहरू हप्तौँदेखि समुद्रमा अलपत्र छन,’ उनले भने, ‘टेनेरिफले आफ्नो क्षमता र मानवीयता प्रदर्शन गर्दै उनीहरूलाई सुरक्षित अवतरणको मौका दिएको छ।’

महानिर्देशक आफैँ टेनेरिफ मा

यस अपरेशनको प्रत्यक्ष अवलोकन गर्न र स्वास्थ्यकर्मीहरूको हौसला बढाउन डा. टेड्रोस आफैँ टेनेरिफ पुगिसकेका छन । उनले कठिन समयमा टेनेरिफका बासिन्दाले देखाएको धैर्यता र सहयोग प्रति आभार प्रकट गर्दै भाइरस विरुद्धको लडाइँमा ऐक्यबद्धता नै सबैभन्दा ठूलो हतियार भएको उल्लेख गरेका छन ।

डब्लुएचओले जहाजका चालक दल र क्याप्टेन जान डोब्रोगोस्कीले देखाएको सहयोगको पनि सह्रानी गरेको छ। ‘हामी तपाईँहरू र जहाजमा रहेका प्रत्येक व्यक्तिसँगै छौँ, तयारीमा विश्वास राख्नुहोस,’ डा. टेड्रोसले स्थानीयलाई आग्रह गरेका छन ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!