कागजमा ‘काज फिर्ता’, अस्पताल रित्तै: विशेषज्ञ नहुँदा बिरामीलाई सास्ती
अतुल मिश्र (राजविराज) – कागजमा ‘काज फिर्ता’ भए पनि व्यवहारमा अस्पताल रित्तै छ। स्वास्थ्य मन्त्रालयले सात जना विशेषज्ञ चिकित्सकलाई दरबन्दी रहेको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल फिर्ता पठाउने निर्णय गरेको एक महिना बितिसक्दा पनि कोही हाजिर भएका छैनन। मन्त्रीको निर्णयलाई चिकित्सकहरूले चुनौती दिँदा सप्तरी सहित आसपासका बिरामीहरू विशेषज्ञ सेवा नपाएर छटपटिन बाध्य छन। दरबन्दी भएकै स्थानमा जान बालेन सरकार ले निर्देशन दिए पनि चिकित्सकहरूले अटेर गर्दा सप्तरी जिल्ला सहित आसपासका बिरामीहरू विशेषज्ञ सेवाबाट वञ्चित भएका हुन।
स्वास्थ्य मन्त्री निशा मेहताले गत चैत १६ देखि २२ गतेसम्म गरेका विभिन्न निर्णय अनुसार वरिष्ठ कन्सल्टेन्ट र कन्सल्टेन्ट तहका सात चिकित्सकलाई राजविराज पठाउने निर्णय भएको थियो। तर, निर्णय भएको एक महिना बितिसक्दा पनि एकजना चिकित्सक पनि अस्पताल आइपुगेका छैनन्। अस्पताल प्रशासनका अनुसार उनीहरू कहाँ छन् र किन उपस्थित भएनन् भन्नेबारे मन्त्रालय वा सम्बन्धित निकायलाई कुनै जानकारी छैन।
हाजिर नहुने चिकित्सकहरू
मन्त्रालयको निर्णय अनुसार हाजिर नहुनेहरूमा वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा. इन्द्र ढकाल, वरिष्ठ कन्सल्टेन्ट ईएनटी सर्जन डा. रोहिता बज्राचार्य, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्टद्वय डा. जोसनलाल श्रेष्ठ र डा. विशाल कुमार देव रहेका छन्। त्यस्तै, कन्सल्टेन्ट रेडियोलोजिस्ट डा. प्रकाश ढकाल, कन्सल्टेन्ट साइकियाट्रिस्ट डा. सुशील समदर्शी र कन्सल्टेन्ट डरम्याटोलोजिस्ट डा. रन्जु पोखरेल पनि कार्यक्षेत्रमा खटिएका छैनन।
अस्पतालको प्रशासन शाखाका कर्मचारी रेमन्त यादवले भने, ‘काज फिर्ता भएका कुनै पनि चिकित्सक आजका मिति सम्म सम्पर्कमा आएका छैनन। चिकित्सक नआएपछि सेवा दिने कुरै भएन।’
रेफरल सेन्टर बन्दै अस्पताल
विशेषज्ञ चिकित्सकहरूको अभावमा यो अस्पताल ‘रेफरल सेन्टर’ मा परिणत भएको छ। मानसिक रोग, छाला, नाक-कान-घाँटी र हाडजोर्नी जस्ता विशेषज्ञ सेवा पाइने आशमा टाढा-टाढाबाट आउने बिरामीहरू निराश भएर फर्किने गरेका छन। अस्पतालको अवस्था हाल पूर्ण क्षमतामा चलेको ‘हेल्थ पोस्ट’ जति पनि नभएको त्यहाँ कार्यरत चिकित्सकहरू नै स्वीकार गर्छन।
आफन्तको उपचारका लागि आएका निरज यादवले आक्रोश पोख्दै भने, ‘यो सब नाटक मात्र हो। कागजमा डाक्टर पठाइन्छ, तर व्यवहारमा उनीहरू पहुँचको भरमा सुगम ठाउँमै बस्छन। हामीले दशकौँ देखि यही बेथिति भोगिरहेका छौँ।’
अस्पतालमा बुवाको उपचारको क्रम आएका ‘रामअधीन’,ले वर्तमान सरकार, स्वास्थ्य मन्त्री प्रति आक्रोशित रुपमा प्रस्तुत हुँदै, आफूहरूले ‘अब की बार बालेन सरकार’ को नारा यसैको लागि लगाएर जिताएको भन्दै आक्रोशित स्वरमा भने – ‘यी सबै एउटै हुन । मात्र ओठे सेवा दिन्छन । चुनाव अघि के – के न वाचा गरे । के के न सपना देखाए । अहिले हामी वास्तविकता भोगि रहेका छौं । के यति सम्म निरीह सरकार छ, जसले हाम्रो कर द्वारा पोषित चिकित्सकलाई कानुन सम्मत रूपमा आफ्नो काम गर्नलाई बाध्य गर्न सक्दैन ? यदि यस्तै हो भने हिजोको जंगल राज र अहिले के फरक हो ? किन हामीले त्यत्रो परिवर्तन गर्यौ ? यो परिवर्तनमा मधेस एउटा शक्तिशाली उत्प्रेरकको रूपमा काम गरेको कसैले बिर्सनु हुन्न ।
कारबाहीको माग
गजेन्द्र नारायण सिंह अस्पतालका सेवा निवृत्ति पूर्व मेडिकल सुपरिटेन्डेन्ट डा. मुरली सिंहले सरकारको आदेश नमान्ने चिकित्सकलाई तत्काल कारबाही गर्नुपर्ने बताए। ‘सरकारी जागिर खाएर, दरबन्दी एक ठाउँमा राखेर अर्कै ठाउँमा निजी प्राक्टिस गर्ने यो कुन नैतिकता हो?’ उनले प्रश्न गरे, ‘जुन डाक्टरले राज्य र जनताको आवश्यकता बुझ्दैन, त्यस्तालाई सरकारी सेवामा राखिरहनु पर्दैन।’
डा. सिंहका अनुसार चिकित्सकहरूले विगत देखि नै राजनीतिक संरक्षणका आधारमा सरुवा र काजको निर्णयलाई बेवास्ता गर्दै आएका छन। नयाँ सरकार बने पनि पुरानै प्रवृत्ति कायम रहनु दुःखद भएको उनको तर्क छ।
डा.सिंह भन्छन -‘डाक्टरहरूले कांग्रेस, एमाले, माओवादी लगायत कुनै पनि सरकारलाई टेर्ने गरेका छैनन। हाल दुई तिहाइको नयाँ सरकार बने पनि अझै सम्म समेत उनीहरू (डाक्टर) पहिले कै राजनीतिक संरक्षण अनुकूल अटेरीलाई कायम गरेर सरकारी जागिरमा भएपनि आफ्नो अनुकूल, आफूले रुचाएको ठाउँमा विभिन्न सोर्स फोर्स जालझेल लगायतका सहित प्राइभेट प्राक्टिस गरेर बस्ने गरेका छन।
‘१०-२० डाक्टरलाई कडा कारबाही गर्नै पर्छ’, डा.सिंह अगाडि थप्छन – ‘जुन डाक्टरले राज्य मुलुक र स्थानीय व्यक्तिको आवश्यकता अनुकूल काम गर्न रुचाउँदैन भने त्यस्तो डाक्टरको कुनै आवश्यकता छैन। उनीहरुले निजीमा काम गरे हुन्छ । आखिर किन सरकारी पनि समात्नै पर्यो तर काम गर्न नपाउने गरी ?’
अस्पतालमा कार्यरत एक करारका चिकित्सकका अनुसार विशेषज्ञ नभएकै कारण बिरामीहरूले दैनिक जसो अस्पताल प्रशासन र सरकारलाई गाली गर्ने गरेका छन। ‘निर्वाचनका बेला गरिएका वाचा र वर्तमान अवस्था बीचको खाडलले जनतामा तीव्र आक्रोश पैदा गरेको छ,’ उनले थपे।

प्रतिक्रिया दिनुहोस