वाघा बोर्डर बन्द हुँदा पाकिस्तानमा पढ्ने नेपाली विद्यार्थी मारमा: घर फर्कन डेढ लाखसम्म खर्च, बढ्दो मानसिक तनाव


अतुल मिश्र (काठमाडौँ) – भारत र पाकिस्तान बीचको बढ्दो सुरक्षा संवेदनशीलताको मारमा यतिबेला पाकिस्तानमा चिकित्सा शास्त्र लगायतकामा अध्ययनरत सयौँ नेपाली विद्यार्थी परेका छन। विगतमा केही हजारमा घर आइपुग्ने विद्यार्थीहरू अहिले वाघा बोर्डर बन्द हुँदा सवा लाख भन्दा बढी हवाई भाडा तिर्न विवश छन । आर्थिक भार र परिवारसँगको लामो बिछोडका कारण विद्यार्थीहरूमा गम्भीर मानसिक तनाव देखिन थालेको छ, तर सरकारको कूटनीतिक पहल भने मौन देखिएको छ।

सन २०२५ अप्रिल देखि सीमामा लगाइएको प्रतिबन्धका कारण नेपाली विद्यार्थीहरू कि त महँगो हवाई भाडा तिर्न बाध्य छन, कि त पाकिस्तानमै रोकिनुपर्ने अवस्था छ।

जम्मू-कश्मीरको पहलगाममा भएको आतंकवादी हमला पछि भारतले २२ अप्रिल २०२५ देखि व्यापार र नागरिक आवागमनका लागि वाघा सीमा बन्द गरेको थियो। हाल यो नाकाबाट वैध भिसा वा विशेष अनुमति प्राप्त विशिष्ट यात्रुहरूलाई मात्र आवत जावतको अनुमति रहेको पाकिस्तानमा रहेका विद्यार्थीहरु बताउँछन । तर, विगतमा यो मार्ग प्रयोग गर्दै आएका नेपाली विद्यार्थीहरूले भने अहिले सम्म अनुमति पाउन सकेका छैनन।

भारतको अमृतसर र पाकिस्तानको लाहोर जोड्ने यो ऐतिहासिक नाका नेपालीहरूका लागि नेपाल आउन जान सबै भन्दा छोटो र सस्तो मार्ग हो।

हवाई भाडा सवा लाखमाथि

‘सोसाइटी अफ नेप्लिज डक्टर्स फ्रम पाकिस्तान’ का अध्यक्ष डा. गौरीशंकर पण्डितका अनुसार, बोर्डर खुला हुँदा नेपाली विद्यार्थीहरू वाघा पार गरेर हवाई जहाजबाट अमृतसर वा दिल्ली हुँदै करिब २५ देखि ३० हजार रुपैयाँमा काठमाडौँ आइपुग्थे।

रेल वा बस प्रयोग गर्दा यो खर्च ५ देखि ६ हजार रुपैयाँमा मात्र सीमित हुन्थ्यो। तर, अहिले अन्तर्राष्ट्रिय हवाई मार्ग मात्र प्रयोग गर्नुपर्ने बाध्यताले गर्दा एकतर्फी भाडा नै सवा लाख देखि डेढ लाख रुपैयाँ सम्म पुग्ने गरेको छ। सडक मार्ग बन्द भए पछि विद्यार्थीहरूले सामान्य अवस्थाको तुलनामा ५-६ गुणा बढी भाडा तिर्नुपर्ने भार थपिएको छ ।

विद्यार्थीमा बढ्दो मानसिक तनाव

सहजै घर आउन नसक्ने वातावरणले पाकिस्तानमा अध्ययनरत विद्यार्थीहरूको मानसिक स्वास्थ्यमा असर पर्न थालेको छ। चिकित्सा शिक्षाको कठिन पढाइ र लामो समय सम्म परिवारसँग भेट्न नपाउँदा विद्यार्थीहरूमा एन्जाइटी र डिप्रेसनको लक्षण देखिन थालेको त्यहाँका विद्यार्थीहरूले बताएका छन । कतिपय विद्यार्थीहरू डेढ वर्षदेखि घर फर्कन पाएका छैनन।

‘एकातर्फ पढाइको चाप छ, अर्कातर्फ बिदामा पनि घर फर्कन नपाउँदा विद्यार्थीहरू मानसिक रूपमा निकै कमजोर बन्दै गएका छन,’ डा. पण्डित भन्छन, ‘छोरीलाई नदेखेको डेढ वर्ष भयो भन्दै अभिभावकहरूले चिन्तित भएर फोन गर्नुहुन्छ।’

कूटनीतिक पहलको अभाव

यस्तो जटिल परिस्थितिमा पनि नेपाल सरकारले पाकिस्तान र भारत सँग पर्याप्त कूटनीतिक पहल नगरेको विद्यार्थीहरूको गुनासो छ ।उनीहरूले काठमाडौँ स्थित परराष्ट्र मन्त्रालय, पाकिस्तानी दूतावास र इस्लामावाद स्थित नेपाली दूतावासलाई यसबारे जानकारी गराए पनि हाल सम्म ठोस नतिजा आउन सकेको छैन।

परराष्ट्र मन्त्रालयका एक अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘पाकिस्तानमा रहेका नेपाली विद्यार्थीको समस्यालाई मन्त्रालयले खासै गम्भीरतापूर्वक लिएको देखिँदैन। कूटनीतिक पहल भएको भए छिमेकी मुलुकहरूबाट यो नाका प्रयोगको अनुमति पाउन गाह्रो हुने थिएन।’

इस्लामावाद स्थित नेपाली दूतावासले १५ देखि २५ जनाको समूह भएमा ‘बोर्डर पास’ का लागि पहल गर्न सकिने मौखिक आश्वासन दिएको छ। तर, विद्यार्थीहरूको परीक्षा र बिदा हुने समय फरक फरक हुने भएकाले समूह बनाउन व्यावहारिक रूपमा कठिन देखिएको छ।

केहीलाई छुट, अरूलाई बन्देज

हाल पाकिस्तानको लाहोर, बहावलपुर, मुल्तान र फैसलावाद जस्ता सहरमा चिकित्सा शास्त्र अध्ययनरत करिब २०० नेपाली विद्यार्थी छन। इन्जिनियरिङ र डी-फार्मा सहित नयाँ विद्यार्थी पाकिस्तान पुग्ने गरेका छन।

केही समय अघि दुर्घटनामा परेका एक एमबीबीएस विद्यार्थीलाई दूतावासको विशेष पहल र ‘नो अब्जेक्सन सर्टिफिकेट’ मार्फत वाघा बोर्डरबाट नेपाल पठाइए पनि सर्वसाधारण विद्यार्थीका लागि भने यो ढोका अझै बन्द छ। भारत र पाकिस्तानका नागरिकका लागि केही महिना देखि आवतजावत खुकुलो बनाइए पनि तेस्रो मुलुकका नागरिक (नेपाली) को हकमा भने समस्या जस्ताको तस्तै रहेको विद्यार्थीहरू बताउँछन ।

यस विषयमा नेपाल सरकार र परराष्ट्र मन्त्रालयले तत्काल पहल गरी आफ्ना नागरिकको सहज र सुलभ यात्रा सुनिश्चित गर्नुपर्ने माग चुलिएको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!