चिकित्सक संघको चुनाव: पहिलो चरणमा ४,२४४ मत खस्यो, दोस्रो चरण उपत्यकामा हुँदै
काठमाडौँ – नेपाल चिकित्सक संघको नयाँ नेतृत्व चयनका लागि उपत्यका बाहिरका २३ केन्द्रमा पहिलो चरणको मतदान सम्पन्न भएको छ। वैशाख ४ र ५ गते दुई दिन सम्म चलेको मतदानमा देशभरबाट करिब ४ हजार २ सय ४४ मत खसेको निर्वाचन समितिले जनाएको छ।
पहिलो चरणको मतदान प्रक्रियामा सम्भवतः अन्तिम मत कोशी प्रदेशको विराटनगर केन्द्रबाट खसेको छ। विराटनगर स्थित एलिट क्लब भवनमा रहेको मतदान केन्द्रमा साँझ ५ बजेर ५९ मिनेटमा प्रवेश गरेका डा. हुलास अग्रवाल अन्तिम मतदाता बनेका हुन। देशभर मतदानको समय बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म तोकिएको थियो।
विराटनगर स्थित नेपाल चिकित्सक संघ, कोशी शाखा कार्यालय (एलिट क्लब भवन) मा साँझ ठिक ५ बजेर ५९ मिनेटमा प्रवेश गरेका मतदाता क्रमसंख्या ५२५ का डा. हुलास अग्रवालले अन्तिम मत हालेका थिए। उनी भन्दा अगाडि सोही समयमा बुथमा प्रवेश गरेका क्रमसंख्या ५२४ का डा. अभिषेक अमर र क्रमसंख्या ५२३ की डा. बेबी भगतले मतदान गरेका थिए।
त्यहाँका मतदान अधिकृत डा. आलोक झाका अनुसार ५ बजेर ५९ मिनेटमा केन्द्रभित्र प्रवेश गरेका डा. अग्रवाल नै अन्तिम मतदाता थिए । डा. झाका अनुसार कोशी शाखा कार्यालयमा वैशाख ४ गते २३९ र वैशाख ५ गते २८६ गरी कुल ५२५ मत खसेको छ। देशभरमा ४२४४ मत खसेको छ।
यस्तै, चिकित्सक संघका प्रमुख निर्वाचन अधिकृत प्रा. डा. प्रणय रत्न शाक्यले नेपालहेल्थप्रेससँग भने – ‘पहिलो चरणको निर्वाचनमा शुक्रबार र शनिबार गरी देशभर करिब ४ हजार मत खसेको छ।’
कुल १६ हजार १ सय मतदाता रहेको चिकित्सक संघको दोस्रो चरण अन्तर्गत काठमाडौँ उपत्यकामा वैशाख १८ र १९ गते निर्वाचन हुने छ।

प्रतिक्रिया दिनुहोस