टिकटकमा भिडियो राखेको विषयमा डा. सुधीर प्रसाद साहसँग मेडिकल काउन्सिलले माग्यो स्पष्टीकरण
काठमाडौं – नेपाल मेडिकल काउन्सिलले भैरहवा स्थित सिद्धार्थनगर सिटी हस्पिटलमा कार्यरत डा. सुधीर प्रसाद साहसँग लिखित स्पष्टीकरण माग गरेको छ। सामाजिक सञ्जाल टिकटकमा आचार संहिता विपरीतका सामग्रीहरू पोस्ट गरेको भन्दै काउन्सिलले उनलाई सात दिन भित्र जवाफ पेश गर्न निर्देशन दिएको हो।
उच्च स्रोतको अनुसार काउन्सिलको दर्ता नम्बर १६२३८ रहेका डा. साहले अप्रिल २०२५ देखि अप्रिल २०२६ को अवधिमा टिकटकमा अपलोड गरेका विभिन्न भिडियो सामग्रीहरूको अनुगमन गर्दा आचारसंहिता उल्लंघन भएको पाइएको हो ।
काउन्सिलले शुक्रबार पठाएको पत्रमा डा. साहले नेपाल मेडिकल काउन्सिलको ‘कोड अफ एथिक्स एण्ड प्रोफेसनल कन्डक्ट २०१७’ का विभिन्न बुँदाहरू उल्लंघन गरेको उल्लेख छ। विशेष गरी बिरामीको गोपनीयता र चिकित्सकले पालना गर्नुपर्ने व्यावसायिक मर्यादाका विषयमा उनी दोषी देखिएका हुन।
काउन्सिलले पत्रमा भनेको छ,’तपाईलाई किन कारबाही नगर्ने? यो पत्र प्राप्त भएको मितिले ७ दिन भित्र लिखित स्पष्टीकरण पेश गर्न अनुरोध गरिन्छ। तोकिएको समयमा स्पष्टीकरण पेश नगरेमा प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइनेछ।’
सामाजिक सञ्जाल र चिकित्सकीय मर्यादा
नेपाल मेडिकल काउन्सिलले पछिल्लो समय सामाजिक सञ्जालमा चिकित्सकहरूको गतिविधिलाई लिएर कडा निगरानी बढाएको छ। यस अघि पनि काउन्सिलले सार्वजनिक सूचना जारी गर्दै टिकटक, फेसबुक लगायतका प्लेटफर्ममा बिरामीको भिडियो राख्ने, उपचारका दृश्यहरू सार्वजनिक गर्ने र औषधि सिफारिस गर्ने चिकित्सकहरूलाई कारबाहीको चेतावनी दिइसकेको छ।
बिरामीको अनुमति बिना वा अनुमति लिएरै पनि उनीहरूको गोपनीयतामा आँच आउने गरी भिडियो वा तस्बिर राख्नु चिकित्सकीय आचार संहिता विपरीत मानिन्छ। काउन्सिलले स्वास्थ्य जस्तो संवेदनशील विषयलाई मनोरञ्जनको साधन नबनाउन र सामाजिक सञ्जाल मार्फत भ्रामक विज्ञापन वा औषधि सिफारिस नगर्न पटक पटक सचेत गराउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस