दोहोरो नागरिकता र राहदानी फेला परेपछि एक चिकित्सकको दर्ता खारेज
काठमाडौं – नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले दोहोरो नागरिकता र राहदानी प्रयोग गरेको फेला पारेपछि एक चिकित्सकको दर्ता खारेज गर्ने निर्णय गरेको छ।
काउन्सिलको दर्ता समितिको पछिल्लो बैठकले डा. तुषार सरवजना (नेमेका दर्ता नं. ३५१४२) को अस्थायी (एमबिबिएस) र विशेषज्ञ (एमडी अप्थाल्मोलोजी) दुवै दर्ता खारेज गर्ने निर्णय गरेको हो।
के थियो घटना?
काउन्सिलका अनुसार डा. सरवजनाले स्थायी दर्ताका लागि निवेदन दिए पछि उनको फाइल अध्ययन गर्दा कैफियत फेला परेको थियो। छानबिनका क्रममा निम्न तथ्यहरू खुलेका छन ।
- दोहोरो पहिचान: निजसँग भारतीय राहदानी (पासपोर्ट) र नेपाली नागरिकता (वंशज) दुवै रहेको फेला परेको छ।
- विदेशी कोटामा अध्ययन: उनले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा ‘फरेन नेशनल फुल ट्युसन फी’ (विदेशी नागरिक कोटा) अन्तर्गत एमबीबीएस अध्ययन गरेको पत्र समेत प्राप्त भएको छ।
- भारतीय दर्ता: हालसम्म पनि नेशनल मेडिकल कमिसन, इन्डियाको वेबसाइटमा निजको दर्ता विवरण कायम रहेको देखिएको छ।
कानुनी अड्चन
मेडिकल काउन्सिल का रजिस्ट्रार डा. सतीश देवका अनुसार काउन्सिलले गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय मार्फत गरेको पत्राचारमा उनले २०७८ मङ्सिर २८ गते मात्र नेपाली नागरिकता लिएको देखिन्छ। तर, भारतीय राहदानी प्रयोग गरी विदेशी कोटामा अध्ययन गरेका चिकित्सक लाई नेपाल मेडिकल काउन्सिलमा दर्ता गर्न नमिल्ने कानुनी प्रावधान रहेको छ।
यस अघि रोकिएको उनको विशेषज्ञ दर्ता (एमडी अप्थाल्मोलोजी) फुक्का गर्ने निर्णय भए पनि अहिले दोहोरो कागजातको विषय पुष्टि भएपछि काउन्सिलले उनका सबै दर्ता खारेज गर्ने अन्तिम निर्णय लिएको हो ।

प्रतिक्रिया दिनुहोस